ओझेल
-प्रकाश बस्नेत गफाडी
आलापोट, काठमाडौँ
आभाष मेरो फेसबुके साथी । ऊसँग फेसबुक मार्फत् साथीको रुपमा जोडिएको ठ्याक्कै पाँच बर्ष बितिसकेछ । फेसबुकका मेरा कैयौं साथीहरुमध्ये मलाई आभासको बढी याद आउँछ । त्यसको कारण पनि छ । हामीले आपसमा भेटेका पनि छैनौ । हामीले आपसमा फोन मार्फत बोलेका पनि छैनौ । तैपनि मलाई उसको याद आइरहन्छ । ऊ अलि अर्कै पाराको मान्छे छ ।
फेसबुकमा मेरा अरु कैयौं साथीहरुले सालाखाला हप्तामा दुई तिन पटक स्टाटसका साथ आ–आफ्ना नानातरहका तस्बिरहरु राख्छन् । अधिकाँश साथीहरु कि त एक्लै कि त साथीहरुसँग बसेका कि त आफ्ना बच्चाबच्ची वा आ–आफ्ना श्रीमतीहरुसँग बसेका तस्बिरहरु सम्प्रेषण गर्दछन् । तर आभाष मलाई बेग्लै प्रकृति र भिन्न प्रवृतिको यो कारणले पनि लाग्छ कि ऊ जहिले पनि कि त आफ्नो बासँग बसेको तस्बिर राख्छ कि त ऊ आफ्नो आमासँग बसेको तस्बिर सम्प्रेषण गर्छ कि त ऊ बाआमा दुवै साथैमा भएको तस्बिरमा देखा पर्छ ।
आहा ! उसको आफ्नो बाआमाप्रतिको सद्भाव र वहाँहरु प्रतिको प्रेम ! म र मजस्ता धेरै साथीहरु ऊबाट प्रभावित भएको हुनु पर्दछ । मलाई यस्तो लाग्दथ्यो मैले उसका बाआमालाई कहीँ कतै देखे भनेपनि सजिलै चिन्न सक्छु होला । बारम्बार फेसबुकमा देखेका कारण । यो कलियुगमा यस्ता श्रवणकुमारहरु पनि भेटिँदा रहेछन् । म यही सोच्दथे ।
विवाह पछि पनि उसका कैयौं स्टाट्सहरु आए । आइरहे । तर उसको तस्बिरसँग उसको आमाको तस्बिर टाँसिएन । न त उसको बाको नै तस्बिर राख्यो उसले । अब उ आफ्नो श्रीमतीका अनेक भावभङ्गिमासहितका तस्बिरहरुकासाथ उपस्थित हुन थाल्यो फेसबुक भरी । श्रीमतीसँगका खाईपिई, घुमघाम, गफगाफ आदिका दृश्यहरुले मात्रै प्रश्रय पाउन थाले । त्यसको प्रभाव उसका अरु साथीहरुलाई प¥यो कि परेन कुन्नी ! तर मेरो स्मृतिबाट उसका बाआमाका तस्बिरहरु ओझेलिदै जान थालेका छन् । अब त उनीहरुलाई कतै देखें भेटें भनेपनि चिन्न सक्दिन होला ।
No comments:
Post a Comment