Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

 झस्का

-श्रीकृष्ण शर्मा
पोखरा 


‘‘ओ ..... कृति ! कृतिका हो...... ओ ।’’  म वासरुमभित्रैबाट चिच्याएँ ।
आज काग तिहार बिहान नुहाइधुवाइ कागलाई प्रसाद चढाएर खाने मनसुवा गरेको थिएँ । चिसो पानीमा धेरै बेर नगरी स्नातक हुने विचार थियो । यो भुल्ने बानीले झन् अबेर गराइदियो । म हतारिएँ,‘‘बेबी किन हो र ढिला गरेको ?’’ ल्याऊ न भन्या ।

‘‘हजुर ड्याडी, के भन्नुभा ?’’ कोठाभित्रको आवाज सुस्त बोल्यो ।
‘‘मेरो टाबेल छिट्टै ल्याइदेऊ न सानू ।’’ मैले माया मिसाएर मिहिन स्वरमा अह्राएँ ।

खै कताबाट ट्वाँ ट्वाँ को आवाजले कान हुँदै मेरो दिल छोयो । म सतर्क भएँ । यसो चारैतिर नजर घुमाएँ, सानो लामखुट्टे रहेछ । बेकार डराएछु । म यथास्तिमा आउन खोजेँ ।

‘‘बाबा लिनू । छिटो गर्नू रे ! खाना तयार भइसक्यो, मामुले भन्नुभाछ ।’’ किशलय ओठबाट आइरहेका शब्द थिए यिनी ।

‘‘ओके, तिमी जाऊ, पाँचै मिनेटमा आइहाल्छु ।’’ मैले उता नहेरी प्रत्युत्तर दिएको थिएँ ।


‘‘मेरी माया मायाले बेर न,
भेट हुँदा हाँसेर हेर न ।’’
म गुनगुनाउन लागेँ । महको साबुनसँग तन र यही गीतसँग मन लर्बरिँदै थियो । यत्तिकैमा चर्को स्वरमा थरर्ररको आवाज आयो । मुटु ढुक्क फुल्यो । आङ जिरिङ्ङ भो । गोडा डल्ला परेझैँ लकडिन लागेको महसुस भो । मलाई लाग्यो फेरि भूकम्प गयो ।

म हस्याङ्फस्याङ् गर्दै बाहिर निस्किएँ । यसो यतिउति हेरेँ । वल्लोपल्लो घरबाट कोही पनि बाहिर निस्केको देखिनँ । पर्खालमाथिबाट बाहिर हेरेँ एउटा लरी जाँदै रहेछ अनि आफैँलाई हेरेँ । सरम लाग्यो, लामो सास तान्दै फेरि भित्र दगुरेँ ।

मनले मनसँगै भन्यो, भूकम्प नभएर भूकम्पको झस्का रहेछ । ढक्क मुटु फुल्यो अनि टक्क रोकियो । अहो ! झस्का त भूकम्पभन्दा पनि डरलाग्दो हुने रहेछ । म आफ्नो हबिगत सम्झेर विस्मित भएँ ।

No comments:

Post a Comment