Sunday, February 11, 2024

पुस्तक समीक्षा

फुमन्तरभित्र नियाल्दा

लघुकथाकार वासुदेव गुरागाईँको फुमन्तर नामक लघुकथासङ्ग्रह २०७६ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका हाहाकारमा साहित्यकार, हाटकोे रक्सी, सुशासन, सुरक्षाको नौलो तरिका, सीमाबन्धन लगायत विभिन्न शीर्षकका ६४ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६४ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको हाहाकारमा साहित्यकार शीर्षकको पहिलो लघुकथामा यमराजको आदेश बमोजिम बकप्रसाद अरुहरुका लाइनका पछाडि ल्याएर उभ्याइए । उनलाई त्यहाँको वातावरण र शासन शैलीका विषयमा केही लेखुँ लेखुँ जस्तो लागिरहेको छ । तर, उनका साथमा न कलम छ न कागज । बिसन्चो शीर्षकको लघुकथामा एउटी नारी पुरुषको घरकी दासी होइन, वंश चलाउने देवी हो देवी भनिएको छ छ । सीमाबन्धन शीर्षकको लघुकथामा एकाग्रता भएपछि मान्छे प्रायः झकाउँछ, निदाउँछ । सम्भवतः एकाग्रताकै कारण उनी निदाए भनिएको छ । सासयुक्त मृत्यु शीर्षकको लघुुकथाभित्र मुक्तिमान गाउँको सम्पन्नशाली व्यक्ति हो । गाउँको हुने खाने वर्ग को ऊ हुँदा खाने वर्गको लागि पनि उनीहरुको अप्ठ्यारोमा सघाउन तत्पर हुन्थ्यो ।   

यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार गुरागाईँले मनन गरेका छन् । विषय छनोट कथाकारको महत्वपूर्ण परीक्षणको क्षेत्र हो । कथाकारले आजको पाठकको भोकतिर्खा मेट्न सक्ने विषय छनोट गर्न सक्यो कि सकेन त्यो महत्वपूर्ण पाटो होे । यस सङ्ग्रहभित्रका कथाको शीर्षकहरुबाट नै कतिपय कथा व्यक्तिको चरित्र वा स्वभावसँग सम्बन्धित छन भन्ने स्पष्ट देखिन्छ । कतिपय शीर्षकले घटना, कतिले समस्या, कतिपयले जीवनानुभव र कतिपयले अवस्थाको सङ्केत गरेका छन् । यस कृतिभित्रका कथामा पनि व्यक्तिगत स्वभाव, सामाजिक परिघटनाहरु र प्रवृत्तिहरुकै चित्रण भएकाले कथाकार गुरागाईँ शीर्षक चयन वा कथाको नामकरण गर्नमा खप्पिस छन् । 

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । 

संरचनाकोे संसार शीर्षकको लघुकथामा पिठयुँको बालक छिनमा रुन्छ, छिनमा चुप लाग्छ । संरचना ठूला मानिसलार्ई सम्झाए जस्तो भाषामा बच्चालाई सम्झाइरहन्छिन् भनेर लेखिएको छ । शासनमा नवयुवा शीर्षकको लघुकथामा निरुपाका कुराले चैतन्य झस्किए । उनले यसो गर्नु अघि निरुपाको सल्लाह लिएका थिएनन् । हुन त निरुपाले यसो भन्लिन् भनेर चैतन्यले सोचेका पनि थिएनन् भनिएको छ । मिठो मसिनो शीर्षकको लघुकथामा विष्णुदेवका कुरा सुनेर कृष्णदेव मुसुक्क हाँसे मात्र । केही जवाफ फर्काएनन् । किनकि, त्यस्ता कुरा उनकोे व्यवहार विपरित थियो भनिएको छ । 

मन्त्री महिषपाल शीर्षकको लघुकथाभित्र चिया चौतारीमा बसेका सन्तरामले यति भूमिका बाँधेपछि सँगै बसेर चियाको चुस्की लिइरहेका भोलामानले मुख नखोली सुखै पाएनन् भनिएको छ । गुरागाईँले समाजका कुनै पनि क्षेत्रमा घटेका त्यस्ता घटना, घटनालार्ई कथात्मकता दिन उत्प्रेरित गर्ने वातावरण वा परिवेश, घटनामा संलग्न चरित्र÷पात्र, बिनाबाधा अवरोध प्रदान गरेका छन् ।

कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।

No comments:

Post a Comment