Friday, April 19, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 हैसियत

-नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ  


सरिताले विवाह गरेपछि छरछिमेकमा निक्कै चर्चा चल्न थाल्यो । एउटी पढालेखा सरकारी जागिर त्यो पनि अधिकृत स्तरको यस्ती कन्याले जागिरसम्म नभएको केटो त्यो पनि ट्याक्सी ड्राइभरसँग विवाह गरेपछि चर्चा चल्नु पनि सामाजिकरुपमा स्वभाविकनै थियो । सरिता अन्मेर गएपछि उनको माइतिघरमा छरछिमेकीले चिया पसलदेखि रासन पसलसम्म यहि चर्चा चलाएका थिए ।

“हेर हेर त्यत्रो पढेलेखेकी केटी गाडी चलाउने ड्राइभरसँग बिहे गरेर गई ।’’

“अनि दाजु र बाबुआमा पनि कस्ता यसो कुल घराना हेरेर अमेरिका अष्ट्रेलियातिर बस्ने केटो खोजेर बिहे नगर्दे र ।’’

“खै ! सँगै पढ्ने केटो अरे काठमाडौंँमा... त्यो ट्याक्सी पनि यसैले पो किन्देकी अरे त ।’’

“अब उ हाकिम भईहाली यसो घरमा भाडा माझ्ने अनि अफिस पुर्‍याउने ड्राइभर बनाएकी होली नि !’’

कसैकसैले त सरिताको आमाको यसरी कान फुक्न पनि भ्याएका थिए - हैन हौ तपाईंकी छोरी के भा’कि यत्रो पढेर ड्राइभरसँग विवाह गरी ।  त्यो पनि काठमाडौँमा कोठामा बस्छ रे ! उता बाउपनि सानैमा मरेको पहाडतिर आमा पनि अरुको खेती गरेर बस्छिन् रे ! कस्तो गति छाडेको हौ । यसो बिहे गर्दा त आफ्नो हैसियत औकात मिल्नेसँग पो गर्नु त ।’’

तर यसबारेमा न त सरितालाई चासो थियो न त सरिताको आमाबाबा र दाईलाईनै । सरिता केही दिनपछि आफ्नो श्रीमानको ट्याक्सीमानै माईत आई । उसले केही छिमेकीहरुबाट आफ्नो बारेमा चर्चा चलेको थाहापाई र उसले त्यहाँका आमा दिदीबहिनी समूहसँग छलफल गर्ने निधो गरी । 

सबै छरछिमेकी टोलबासी आमा दिदीबहिनीहरु जम्मा भए र उसलाई त्यहि प्रश्न राखे । त्यसपछि उसले सबैलाई जवाफ दिंदै भनि - “हेर्नोस् आमा दिदीबहिनीहरु तपाईंहरु महिला पुरुष बराबर हुनुपर्छ भन्नुहुन्छ । तर फेरि तपाईंहरु श्रीमानले राम्रो जागिर खाएर पालोस् । पैसा कमाएर ल्याएर देओस... घर चलाईदेओस भन्नुहुन्छ । छोरीहरुको विवाह गर्दा छोरीभन्दा जेठो, छोरीभन्दा पढेको, छोरीभन्दा बढि पैसा कमाउने जागिरे खोज्नुहुन्छ । अनि कसरी भयो बराबर? अब कुरा रह्यो मेरो विवाहको, हेर्नुस् मेरो श्रीमान् पनि म जत्तिकै पढालेखा हुनुहुन्छ उहाँ र मैलेसँगै लोकसेवा परीक्षा पनि दिएको हो अहिले पनि दिंदै हुनुहुन्छ । मैले एकै पटकमा पास गरे उहाँले पास गर्न सक्नुभएन तर प्रयास गर्दै हुनुहुन्छ । अहिले काम छैन त्यहि भएर उहाँ ट्याक्सी चलाउनु हुन्छ । त्योभन्दा धेरै त मलाई मन परेको मलाई माया गर्ने मलाई साथ दिने उहाँ हुनुहुन्छ अनि तपाईंहरु किन मेरो चियोचर्चो गर्नुहुन्छ । आज मैले मभन्दा आर्थिकरुपमा कमजोर व्यक्तिसँग विवाह गरे भन्दैमा तपाईंहरुले हाम्रो हैसियत र औकातमाथि प्रश्न गर्न र चर्चा गर्न आवश्यक छैन । बरु आजैबाट नारी पुरुष भनेका एकअर्कालाई जीवन चलाउने रथ हुन जसले सक्छ उसले सहयोग गर्नुपर्छ भन्ने बारेमा आफ्ना भावी सन्तानलाई सिकाउनुस् ।’’

सरिताको कुरा सुनेर सबैले आफ्नो गल्ती भएको महसुस गरेर ताली बजाउँदै भने - “सरिता तिमी असल छौं हामीले कुरा बुझ्यौ ।’’


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment