कुण्ठा
- रमेश सुवेदी
ललितपुर - १३, कुसुन्ती
एक्कासी नयाँ मेसेज मेसेन्जरमा, अपरिचित अनुहार, प्रोफाइल खोलेर हेरे, दुई सन्तानकी आमा, फोटो मार्फत् कोठाको साजसज्जा हेर्दा, व्यक्तित्व उच्च घरानाको जस्तो लाग्यो ।
पहिलो चरण अनौपचारिक परिचय गर्दै, केही व्यावहारिक, केही सामाजिक कुराहरू भयो । घरपरिवार, सुखदुःखका कुराहरू शेयर हुन्थे । केटाकेटी हुर्की सकेका, आ-आफ्नो लाइन समाइसकेका रहेछन् । म पनि आफ्नो परिवार र आफ्नो मर्यादामा बसेको मान्छे, खुब होसियारी साथ आफूलाई प्रस्तुत गर्थे । दिनहुँको कुराकानीले आत्मिय मित्र जस्तो भएपनि लामो समयसम्म प्रत्यक्ष भेटघाट भएको थिएन ।
एक दिन वहाँले भन्नु भो, म त एक्लै हुँदा कहिलेकाहीँ एकदम बोर मान्छु । रमाइलो खालको कुनै फिल्म छ भने शेयर गर्नु न, प्लीज..... ।
पहिला त मैले कुरा बुझिन पछि अनुमान लगाएर, सोधी खोजी गरें, श्रीमान् खोइ त? किन एक्लै भन्नु भो? मेरो प्रश्नमा वहाँ आफ्नु वास्तविकता यसरी पोख्न थाल्नु भयो,
म सरकारी उच्च ओहदामा काम गर्ने मान्छे, पद अनुसारको आचरण नि हुनुपर्ने, जिम्मेवारी पनि त्यस्तै हुँदा आफ्नु वास्तविक इच्छा आकांक्षा नि दवाएर बाँच्नुपर्ने । हामी नारीहरू, पुरुषहरु जस्तो खुल्ला भएर हिँड्न र बोल्न नि इज्जतको ख्याल गर्नुपर्ने सामाजिक बाध्यता । आफ्नो मनले खाएको र आफूलाई नि इज्जत दिने मान्छे नपाउँदा आफ्नो ... कुण्ठा दवाएर बाँचेको छु । मनको कुरा पनि खोल्ने साथी नि छैनन् । ५ वर्ष भयो, बुढोले अर्की टिपेर हिँडे ।
एउटी अपरिचित महिलाले खुल्ला निम्तो दिएँझैँ लाग्यो । मेरो पुरुष मन चञ्चल भयो । श्रीमती र सन्तानका अनुहारहरु मेरा मष्तिष्कभरि नाच्न थाले । म दोधारमा परेँ, के जवाफ दिऊँ? लेखे - "सरी तपाईंले अर्को साथी खोज्नुस्, ल !"
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment