Friday, September 6, 2024

भुवन शिवाकोटी 'चौघरे'का दुई कविता


आगो सल्काउनु अघि

ए ! मङ्ले दाजु
युगौंसम्म तिमी मलाई चाहिन्छ

तिमीलाई चाहिन्छ 


हाम्रो  लडाई
भोको पेट भर्न  हुनुपर्ने
रोगको विरुद्ध ओखतीको लागि हुनुपर्ने
आर्थिक संमृद्धिका लागि हुनुपर्ने
जातको होइन
धर्मको लागि होइन
वर्णको होइन
लैङ्गिक उत्थानका लागि हुनुपर्ने 
भाषिक सामाजिक उत्थानका लागि हुनुपर्ने 


हाम्रो लडाईँ
वर्गिय समानताको लडाईँको हो
बेथिति
भ्रष्टाचार
असमानता
असमानताको अन्त्य
आर्थिक वृद्धिका लागि हुनुपर्ने हो
तर
तिमी दुध गहुँत र गोबरको
गाई र गोरूको मासुको प्यासा भएर
चुचे, नेप्टे र चेप्टे
भाषा र धर्मको नाममा लड्न चाहन्छौ
यो हाम्रो आजको आवश्यकता
हुँदै होइन 


परापूर्वकालदेखी कै तिमी मेरो छिमेकी
म तिम्रो छिमेकी
भन्छौ नानाथरी मार्ने काट्ने कुरा
तर दाजु
हामी करेसा जोडिएका
तन मन जोडिएका छिमेकी
तिम्रो र मेरो जात लड्यो भने
भाषा लड्यो भने
धर्म लड्यो भने
लडदा त तिमी र म नै लड्छौ
अर्थात्
हाम्रो सामाजिक बनौटमा
हामी हामी छिमेकी मर्छौ
हामी छिमेकी नै पहिला मारिन्छौ
हैन र ?
हामी हामी नै लडे
कसको जित कसको हार 



कति सम्झाउँ तिमीलाई
छिमेकी छिमेकी नै लड्दा
तिमी र म नै मर्छौ
हाम्रा सन्तान नै मारिन्छन
हामी हामी नै नासिएपछि
हामी हामी नै मासिएपछि
हाम्रो छिमेकमा
हामीमाथि कसले राज गर्छन
फर्केर हेर त ?
तिमीलाई बोकिरहेका मान्छेहरू 

दाजु
तिम्रो हातमा खुकुरी हुँदा
मेरो हातमा भाला हुन्छ
सलिमको हातमा बन्चरो होला
आङ्काजिको हातमा आगो होला
पहिला
रगत, खरानी र बीभत्सताको आँगनमा
लड्ने र मर्ने त
हामी छिमेकी नै हैन र


दाजु
हाम्रो लडाईँ
शान्ति र संमृद्धिका लागि हुनुपर्छ
दलदलमा टेक्नु अघि नै
हामीले नसोचे कसले सोच्ने 
हैन र ?
हाम्रो संसकार त सद्भाव र भाईचारा हो नि
आपसमा दुश्मनी
रगतका भोका
परम्पराको र संस्कृतिका विरोधी
किन भइरहेछौ हामी


दाजु !
आऊ समयमै हातेमालो गरौं
सुनेका छौ नि
बिसे नगर्ची र पृथ्वीनारायण शाहको इतिहास
काँधमा काँध दिलमा दिल जोडेर
घरघरमा शान्ति दिप जगाऔं
घरघरमै
टोल छिमेकमा
आगो सल्काउनु अघि
आफ्ना आफ्ना घरका नव पुस्तालाई
नैतिकता
सामाजिकता
सद्भाव
समानता
आत्मसम्मानका पाठ सिकाऊँ


हिंसामा होइन
शान्ति
श्रम र सहकार्यमै छ
हाम्रो भविष्य ।

*************

इतिहास लड्दैन 

नियम मिचेर बनाएका पर्खालहरू
लडाइन्छन्
नियमानुसार बनाइएका पर्खालहरू
अविचलित उभिन्छन् 


स्वतन्त्रताका हात बाँधेर
पशुलाई जसरी
अनन्तकाल कानुनलाई
तिमी
किलोमा दाम्लोले बाँध्न सक्दैनौं 


अन्यायमा उठेका आवाज थुनेर
तिमी
फैलिरहेको उज्यालो रोक्न सक्दैनौ
समयलाई थुन्न पनि सक्दैनौ 


हुन त
तिमीसँग बल छ
शौर्य छ
सम्पत्ति छ
शान छ
मान छ
सत्ता छ
तर समय तिमीसँग छैन 


हरेक वृद्ध बाआमाको आँखा रसाएको
यो वर्षा ऋतुको समय हो
हेर त
आँखाको डिलबाट फाल हालिरहेका
अश्रुधाराहरू 


यो
युगको पुकार हो
अगाडि जान जबरजस्ती गर्छौ भने
स्वयं भूतल भासिएर
पहाड भत्किएर
तिम्रो बाटो थुन्ने छ 


नियम मिचेर बनेका पर्खालहरू लड्छन्
तर इतिहास लड्दैन् ।

- काठमाडौँ


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment