Friday, September 6, 2024

रुद्र अधिकारी ‘निर्दोषी’का दुई लघुकथा


 

 शान्ति

"अब तेस्रो विश्वयुद्ध हुने निश्चित छ" हिमालले ठोकुवा गरे । "कसरी ग्यारेन्टी गर्न सक्नु हुन्छ? मनगढन्ते कुरा गरेर हुन्छ ? प्रमाण पेश गर्नु पर्दैन ?" बादलले शंका ब्यक्त गरे । हिमालले झोक्किदै भने "प्रमाण नै प्रमाण । रुस-युक्रेन युद्ध, मध्यपूर्व, इजरायलको तनाव होस् वा बेलायत लगायत विभिन्न मुलुकमा भएका आप्रवासी दंगा । के, यी प्रमाण काफी छैनन ?" प्रतिप्रश्न गर्दै हिमाल बोल्न छोडेनन् "विश्वव्यापी सैन्य द्वन्द्वहरू हुन वा अमेरिका र चीनबीचको बढ्दो भूराजनीतिक तनाव ! यी सबै तेस्रो विश्वयुद्धका बलिया सङ्केतहरु हुन् । अमेरिका, चीन र रुस लगायत विश्वका शक्तिशाली राष्ट्रहरुले विश्वमा आफ्नू अधिपत्य जमाउन गरेको होडबाजीले गर्दा क्षेत्रीय द्वन्द्व र शक्ति सङ्घर्षहरूले विश्वयुद्धको जोखिम स्वतः बढेको छ ।" यसो भनिरहँदा हिमालका आँखा राता भएका थिए भने अनुहारमा आक्रोश प्रष्ट झल्कन्थ्यो । तेस्रो विश्वयुद्ध हुने हिमालको तर्क र प्रमाण सुने पछि वादलले फेरी प्रश्न गरे "यसरी युद्ध गरेर लाखौ मानिसको मृत्यु, हिंसा, हत्या गरेर पनि विश्व शान्ति हुन्छ त ?" हिमाल एकछिन गम्भिर सोचमा परे र जुरुक्क उठेर जवाफ दिए, "हिंसाले अन्ततोगत्वा हिंसा नै निम्त्याउछ, तेस्रो विश्वयुद्ध रोक्न र विश्वशान्तिका लागि शान्ति नै चाहिन्छ ।" रेडियोमा समाचार बझ्न शुरु भएकोले दुबै जना चुप लागेर समाचार सुन्न थाले । रेडियोमा "विश्वले अब तेस्रो विश्वयुद्ध थेग्न नसक्ने ठहर गर्दै संयुक्त राष्ट्र सङ्घको बैठकले विश्वब्यापी रुपमा युद्ध विराम गर्न पहल गर्ने निर्णय गरेको छ ।" भन्ने समाचारमा प्रसारण भइरहेको थियो ।

*************

सम्बन्ध विच्छेद  

“त्यो मान्छेसँग म एकछिन पनि बस्न सक्दिन ।” तीजको दर खाएर घर फर्कनु अघि छोरीले दुखेसो पोखिन् । “गर्ने बेलामा प्रेम विवाह गर्ने ! अहिले आएर यस्तो भन्ने? माइतीको इज्जतको त ख्याल राख !” आमाले उल्टै हप्काइन । “अमेरिकाको घटना सुनेदेखि मेरो श्रीमान् भनाउँदोले मलाई पनि त्यसैगरी मार्ने हो की ? भन्ने डर लाग्न थालेको छ ।” भन्दै छोरी आमासँग लेपासिन । आमाले सम्झाउन खोजिन्, “विवाहबाट जोडिएको श्रीमान् र श्रीमतीको सम्बन्ध तोडनु हुन्छ ? विवाह सामाजिक, कानूनी, सांस्कृतिक मूल्य र मान्यताको जगमा अडेको हुन्छ । सम्बन्ध विच्छेद गर्नु भनेको धर्म संस्कृति विपरीत हो । मिलेर बसेस्।” “ज्वाईले मलाई माया त धेरै गर्नु हुन्छ । मैले गाली गर्दा उल्टै चुप लागेर बस्नु हुन्छ । मेरा दुईजना साथीहरू श्रीमानलाई छोडेर एक्लै बसेका छन । के एउटा पुरुषसँग टाक्सिएर बस्छेस ? पारपाचुके गर, ‘फ्रिडम’ हुन्छ, मोजमस्ती गर्नु पर्छ भन्दै छन् । लाग्ने मान्छेको भर हुँदैन । सुतेको बेलामा घाँटी थिचेर मार्न सक्छन भनेर डर देखाउँछन ।" छोरीले बेली बिस्तार लगाइन् । छोरीको दिमागमा गलत संगतको असर परेको आमालाई बुझ्न गाह्रो भएन । सामाजिक सञ्जालको गलत प्रभावले गर्दा छोरीले आफ्नू छँदाछँदैको घर, परिवार र सम्बन्ध बिगार्न लागेको आमाले थाहा पाइन । आमाले खुकुरीको धार आफ्नू घाँटीमा राखेर छोरीलाई सोधिन् “ज्वाईले तिमीलाई घरेलु हिंसा गर्नु हुन्छ? वा तिमीहरु बीच कुनै माया छैन वा मन मिल्दैन भने म नै सम्बन्ध विच्छेद गराइदिन्छु । हैन भने मेरो मृत्युपछि जे मन लाग्छ त्यै गर्नु ।” छोरीले आमाको हातबाच खुकुरी खोसिन र ब्याग बोकेर आफ्नै घरतिर लागिन् ।

- इटहरी-१९, सुनसरी (हालःलन्डन)


...साथ सहयोगको खाँचो


No comments:

Post a Comment