Sunday, September 22, 2024

लेख (अङ्क १६ मा प्रकाशित)

 
नेपाली लघुकथाको पहिलो चरण (१९९२-२०१९) र 
यस चरणका प्रमुख लघुकथाकारहरू


नेपाली साहित्यमा कथाको आधुनिक काल नै लघुकथाको प्रारम्भिक चरण हो, अर्थात् सं. १९९२ लघुकथाको प्रारम्भिक चरण हो । यस १९९२- २०१९ सम्मको कालावधिमा प्रतिनिधि लघुकथाकारहरूका रूपमा स्थापित लघुकथाकारहरू हुन् : पूणर्प्रसाद ब्राह्मण र डा. जयनारायण गिरी । यिनका अतिरिक्त यस कालमा लघुकथाका बान्की प्रस्तुत गर्ने नारी लघुकथाकारं शशिकला शर्मा हुन् । लघुकथा वा कविताका बीचमा अस्पष्ट रहेका विवादास्पद भए पनि रचनाकार गोपालसिंह नेपालीलाई पनि गणना गर्न सकिन्छ । अतएव गोपालसिंह नेपाली, पूणर्प्रसाद ब्राह्मण, डा. जयनारायण गिरी तथा शशिकला शर्मा यस कालका प्रतिनिधि लघुकथाकारहरू हुन् । यिनीहरूका बारेमा सङ्क्षिप्त अध्ययन प्रस्तुत छ । गोपालसिंह नेपाली (सन् १९११-१९६३) नेपाली एवं हिन्दी साहित्यमा एक लब्धप्रतिष्ठित कवि एवं गीतकारको रूपमा चिरपरिचित रहेका कविवर गोपालसिंह नेपालीको जन्म भारतको बिहार राज्यअन्तर्गत बेतियानामक ठाउँमा सन् ११ अगस्त १९११ मा भएको थियो तथा मृत्यु बिहार राज्यकै भागलपुर स्टेसनमा सन् १७ अप्रिल १९६३ मा भएको थियो । हिन्दी साहित्यको छायावादोत्तर कालका कविहरूमा यिनको एक महत्वपूणर् स्थान रहेको छ । नेपाली साहित्यमा संवत् १९९२ देखि सं. २०१९ सम्म जम्मा सत्ताइस वर्षको कालावधिको ’यथार्थवादी युग’ मा लघुकथा लेखनपरम्पराको सुरुआत भएको क्षीण रूप पाइन्छ । यसै कालावधिमा गोपालसिंह नेपालीको कृति कल्पना (१९९२) देखा पर्‍यो जसको ऐतिहासिक दृष्टिकोणले निकै महत्व रहेको छ ।

कवि गोपालसिंह नेपालीको रचना कल्पना (१९९२) यथार्थमा आख्यानात्मक गुण लिएको गद्यकविता हो भन्न सकिन्छ । त्यसताक नेपाली गद्यकविताले नयाँ रूपाकार लिइरहेको थियो र त्यस अवस्थामा देखा परेका नेपालीका यी गद्यकविताका रचनाहरूको आन्तरिक गुण कथात्मकताको परिचय लिएका नभएर कवितात्मक प्रवाह र रचना उद्देश्य लिएका पाइन्छन् । यति हुँदाहुँदै पनि नेपालीका ती रचनाहरू घटनाप्रधान, परिवेशचित्रण र पात्रका संवादहरूसहित संरचना गरिएका हुन्छन् र तिनले आख्यानात्मकता लिएका हुन्छन् तर त्यसो भएरै पनि रचनाको गुण र कविद्वारा घोषित विधाका कारण तिनलाई पूणर्तः गद्यकविताअन्तर्गत नै लिएको पाइन्छ ।

गोपालसिंह नेपालीको कृति कल्पनालाई लघुकथाको सङ्ग्रह मान्ने विषयमा विवाद देखिन्छ र देखिनुपर्ने प्रशस्त कारणहरू छन् । प्रारम्भिक चरणको गद्यकविताको साङ्केतिक रचना यस कृतिमा भए तापनि लघुकथाको विकासप्रक्रियाको इतिहासको क्रममा यसको महत्वलाई नकार्न मिल्दैन । लघुकथाको आधुनिक सिद्धान्त एवं मापदण्डअनुसार भने कल्पना खरो उत्रिएको नहोस् तर लघुकथाको विकासरथलाई अप्रत्यक्षतः डोर्‍याउने क्रममा एकदम खरो उत्रेको देखिन्छ । अतएव गोपालसिंह नेपालीलाई र विशेषतः उनको कृति कल्पनालाई लघुकथा साहित्यजगत्ले कहिल्यै बिर्सनु हुन्न । 

पूणर्प्रसाद ब्राह्मण (वि. सं. १९७९-२०४६)

नेपाली साहित्यको लघुकथाजगत्मा निकै महत्वपूणर् स्थान पाएका कथाकार पूणर्प्रसाद ब्राह्मणको जन्म वि. सं. १९७९ सालको असार महिनामा गोरखाको काफलडाँडामा भएको हो र मृत्यु २०४६ सालको जेठ महिनाको ३० गते भएको हो । अहिलेसम्मको अध्ययन-अनुसन्धानको आधारमा यिनलाई नेपाली लघुकथाको प्रथम प्रकाशित लघुकथासङ्ग्रहका रचनाकार मानिएको देखिन्छ । सङ्ग्रहको दृष्टिले वि. सं. २००७ मा महिनाको आधारमा पूणर्प्रसाद ब्राह्मणको फिल्का नै पहिलो सङ्ग्रह मानिएको छ । डा. दयाराम श्रेष्ठले यिनको र यिनका कृति झिल्का (२००७) र म लोग्ने हूँ (२००८) का बारेमा निकै महत्वका साथ विचार प्रकट गरेका छन्- ’यस युग (यथार्थवादी) मा केवल पूणर्प्रसाद ब्राह्मण र जयनारायण गिरी मात्र टड्कारो रूपमा यस विधाका प्रमुख कथाकार रूपमा देखा परे । लघुकथासङ्ग्रहहरू झिल्का (२००७) र म लोग्ने हूँ (२००८) लिएर देखा परेका ब्राह्मणको अर्थको अन्योक्तिमूलक तह (Allegorical Level of Meaning) मा पुगेर परीकथामा ॐ पशुपंक्षीका साथै अमूर्त सत्ताहरूलाई समेत पात्रका रूपमा लिएर मूलतः सामाजिक अन्याय, शोषण, अव्यवस्था र नारीमाथिको हुकुमी तन्त्रप्रति विद्रोह र व्यङ्ग्य दुवै गरेका छन् ।’


नेपाली लघुकथाका अध्येता विद्वान्हरूका अनुसार पूणर्प्रसाद ब्राह्मणको जिल्का (२००७) र उनको अर्को लघुकथासङ्ग्रह म लोग्ने हूँ (२००८) का कारण यिनका लघुकथा रचना र सङ्ग्रहहरू तत्कालीन समाजको यथार्थवादी चित्रण र तिनका बारेमा व्यङ्ग्यात्मक अभिव्यक्ति तथा परम्परागत चरित्रचित्रण नै गर्ने भए पनि तिनमा पशुपक्षी र परीहरूको माध्यमबाट तत्कालीन सत्ता, शोषण, व्यवस्था र अन्याय, नारीमाथिको निरङ्कुशताप्रति विरोध-विद्रोह व्यक्त हुने कथाहरू छन् ।


पूणर्प्रसाद ब्राह्मण एक विद्रोही व्यक्तित्व थिए । यिनी कुनै स्वार्थवश आफूभन्दा जेठा वा साना साहित्यकारको प्रशंसा गर्दैनथे, न त सत्तासुखका निमित्त सत्ताधारीहरूको चाप्लुसी नै । यिनको प्रस्तुत भनाइ यस तथ्यलाई अक्षरशः प्रमाणित गर्दछ- ’मलाई अपराधी भने पनि म पर्वाह गर्दिनँ । मेरा पिताजी, गुरुवर्ग, राष्ट्रका बौद्धिक साहित्यिक व्यक्तित्वहरूले पनि जति प्रशंसा गरे पनि मैले महाकवि कालिदास, भारवि, माघहरूजस्ताको प्रशंसा गर्न छाडें । यी सबैले आफ्नो त्यत्रो विद्वत्ता, काव्यशक्ति र प्रतिभालाई सामन्तहरूको मनोरञ्जनको निमित्त कामरागरञ्जित निकृष्ट साहित्यिक सृजना गरेर अपव्यय गरिदिए । दुर्भाग्यवश त्यो परम्परा साहित्यकारहरूमा आजसम्म पनि टुटेको छैन ।’


यिनले आफ्नो छयालीस वर्षको साहित्यिक जीवनमा नेपाली साहित्यलाई नौ कृतिहरू दिए, यथा : एक्काईस कथा (२००३), फिल्का (२००७), म लोग्ने हुँ (२००८), एकतीस कथा (२०४२), एघार कथा (२०४३) कथासङ्ग्रहहरू आदि र अगुल्टो (खण्डकाव्य २००३), एक कथा (२०४२), अध्यक्ष उमा (२०४४) र कुन्तीको समाचार (उपन्यास २०४४) ।


सं. २०४२ मा प्रकाशित भएको यिनको एकतीस कथामा सङ्गृहीत लघुकथाहरू आत्मपरक चिन्तनमूलक भएकाले ती गद्यमा कविता (Poem in Prose) को ढाँचाका भएका हामी पाउँछौं । समग्रमा शास्त्रीय शैलीमा उनले समाज, युग र जीवनका कटु सत्यलाई विषय बनाएर लघुकथाहरू लेखेको पाइन्छ । यसै कारण नेपाली लघुकथाको प्रारम्भिक चरणका प्रतिनिधि लघुकथाकारको रूपमा प्रतिस्थापित छन् पूणर्प्रसाद ब्राह्मण ।

जयनारायण गिरी

जयनारायण गिरीले रचना गरेका र यिनका प्रकाशित सामग्रीहरूको महत्व निकै रहेको छ । तर प्रकाशनका दृष्टिले डा. जयनारायण गिरी अलिक पछाडि परे । यिनी वि. सं. २००५ सालदेखि नै लघुकथा लेख्ने साहित्यकार हुन् । पूणर्प्रसाद ब्राह्मणको कृति झिल्का वि. सं. २००७ सालमा प्रकाशित भयो र डा. गिरीको कृति कसिङ्गर (लघुकथासङ्ग्रह) वि. सं. २००८ मा । प्रकाशनका दृष्टिले पूणर्प्रसाद ब्राह्मणभन्दा एक वर्ष कान्छो भए पनि लेखनका दृष्टिले दुई वर्ष जेठा लघुकथाकार डा. जयनारायण गिरीको कसिङ्गर लघुकथासङ्ग्रह सन् १९५१ (२००८ वि. सं.) मा जे. बी. तामाङ, लारछिन लेन, कलकत्ताबाट प्रकाशित भएको हो । डा. जयनारायण गिरीका लघुकथाहरू अत्यन्त जीना र मसिना अनि क्षणिक घटनाका आधारमा तयार गरिएका तर यथार्थ घटनाका हुन्छन् ।


यस सङ्ग्रहमा सगृहीत लघुकथाहरूको अध्ययन एवं मननोपरान्त कथाकार गिरी सं. २००५ देखि नै यस विधातर्फ प्रवृत्त रहेका र सं. २००८ मा यिनले कसिङ्गर भन्ने लघुकथासङ्ग्रह प्रकाशित गराए । मानिसको मानसिक अवस्था र तिनको व्यवहार र प्रतिक्रियाका अध्येताका रूपमा चिनिएका कथाशिल्पी हुन् गिरी । यिनले मानिसको मनोविज्ञानका आधारमा उनीहरूका रागात्मक आचरण, कुण्ठा र तज्जनित मानसिक तनाउ र प्रणयपीडालाई कथाविषय बनाएको पाइन्छ । लघुकथाको प्रारम्भिक काल र चरणमा मुख्यतः दुई लघुकथाहरू नै टड्कारो रूपमा देखिन्छन् । यी हुन् - पूणर्प्रसाद ब्राह्मण र डा. जयनारायण गिरी । लघुकथाका रचनाको दृष्टिले गोपालसिंह नेपालीको कल्पना विवादास्पद रहेको छ । यो स्वाभाविक पनि हो । गोपालसिंह नेपाली मूलतः कवि एवं गीतकार हुन् । उनको प्रतिभा त्यही फाँटतिर रमाउँछ, फुल्छ, फल्छ । हो, लघुकथाको बान्की प्रस्तुत गर्ने एक अर्का लघुकथाका हस्ताक्षर शशिकला शर्मा (सं. १९८८) जसको नाउँ पनि उल्लेखयोग्य देखिन्छ ।


यस प्रकार सं. १९९२-२०१९ सम्मको सत्ताइस वर्षको कालावधि नेपाली साहित्यमा लघुकथाको प्रारम्भिक चरण हो र पूणर्प्रसाद ब्राह्मण तथा डा. जयनारायण गिरी यस चरणका प्रतिनिधि लघुकथाकारहरू हुन् ।


‍‍.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment