परीक्षा
-लक्ष्मी रिजाल
कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी
‘यसरी नै टुलुटुलु हेरिरहनू ।’ अत्याचारले उम्लेको तातोपानी टाउकाबाट घोप्ट्याउँदा समेत धैयपूर्वक सहेकी दुलहीतिर हेर्दै ससुरो शंकरले भन्यो ।
छोरो चन्देश्वर पनि मुढो बनेर खडा भइरहेकोमा उत्साहित हुँदै उसले थप्यो; ‘यसरी नै दुलहीले यस खान्दानको दुहुनो गाई बनिरहनू ।’
घटना भएको समयमा आँगनभरि मान्छे थिए । दुलहीको मूल्याङ्कनमा त्यहाँ मानव आत्मा भने थिएन । भएका आत्मामा पनि राक्षसी आत्मा मिसिएको भेटिन् ।
‘कुबेलामा चुप लागेरै जितिन्छ भन्ने बुझेकी रहिछ्यौ ।’ दुलहीको प्रशंसामा यसो भन्दै शंकर घरबाहिर निस्कियो ।
‘तपाईंले साथ दिए म यस सामाजिक दासप्रथाको जरो उखल्ने थिएँ ।’ पति चन्देश्वरतिर फर्केर दुलहीले मुख खोलिन् ।
‘साथ दिनकै लागि समाज सामु अग्निलाई साक्षी राखी बाजा बजाएर तिमीलाई भित्र्याएको हो ।’ चन्देश्वरले दुलहीको गम्भीरता कुल्चेर हँसिमजाक गर्न खोज्यो ।
रिसाउँदै दुलहीले थपिन्; ‘मेरो परीक्षा सकियो । तपाईंको परीक्षा सुरु भयो । मुकदर्शक बन्दा सुरुवातमै तपाईं पछारिनुभयो । अब एउटा मौका परीक्षा मात्रै बाँकी छ ।’
लुगाको पोको च्यापेर दुलही बाहिर निस्किन् । चन्देश्वरलाई पछि लाग्न भनिन् । उसले कारण खोतल्यो ।
उसको गलासम्म आउने गरी भनिन्; ‘दाइजो स्वरुप पाँच तोला सुन कम दिएको भन्दै तपाईंका बाबुले मेरै आँखासामु मेरा बाबुलाई लात र बातले सख्त घाइते बनाएको म कसरी पचाऊँ ?’
चन्देश्वर पुनः मुढो बन्यो । अघिदेखि तमासा हेरिरहेकी आमाले एउटा पोको थम्याउँदै र दुलही गएतिर धकेल्दै चन्देश्वरलाई भनिन्; ‘इमान र बहादुरी मिसिएको मेरो दूध चुसेको रहिछस् भने विषलाई लत्याएर झट्टै अमृतलाई अङ्कमाल गर ।’
No comments:
Post a Comment