Wednesday, November 29, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

अख्तियार

-ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ


माईला दाईको पसलमा चिया पिएर गफिंदै गरेको बेला होमनाथले सोध्यो– “साँच्चै, हाम्रो पुरानो साथी राकेश आजभोलि कता छ कुन्नी ! धेरै भयो भेटघाटै छैन, तिमीलाई केही थाहा छ त उस्को बारेमा ?’’
“ए, तिमीलाई राकेशको बारेमा थाहा छैन र ?’’ –होमनाथको कुरा सुनेर टंकले जवाफ फर्कायो । हतारिंदै होमनाथले पुनः प्रश्न तेर्सायो “किन? के भो र?“

“उ त अहिले अख्तियारमा पो पुगेको छ त !’’ –टंकले सुनायो ।
“ए हो र ? अहिले अख्तियारमा पो छ त्यो ? मलाई त उहिल्यै लागेको थियो त्यो एकदिन अवश्य त्यहाँ पुग्छ भनेर । सानो काम पनि घुस नखाई फिटिक्कै नगर्ने, त्यसलाई मैले साथीको नाताले एउटा सानो काम गरिदिन भन्दा मसँग पनि घुमाउरो पाराले पैसा खान खोज्यो । खरदारको जागिरे, तर काठमाडौँमा दुईवटा घर, गाडी, छोराछोरी महङ्गा स्कूलमा ! बा बा बा कम्ति मस्ती गरेको थियो र त्यसले ? पाप धुरीबाट कराउँछ भन्थे, हो रहेछ ! बल्ल आँखा खुल्यो होला अब त्यसको ।’’ –होमनाथले एकै सासमा यति कुरा भन्न भ्यायो ।

“तिमीले भनेको कुरा त ठीकै हो, तर राकेश समातिएर हैन उसको बढुवा भयो अनि सरुवा भएर पो अहिले उ अख्तियारमा पुगेको हो त ।’’ टंकले हाँस्दै भन्यो ।

No comments:

Post a Comment