Tuesday, November 28, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

नेताको सरप्राइज

-सुरेशकमार पाण्डे
दाङ, घोराही १८   


“शकुन्तला ! धेरै ढिला भयो कार्यक्रममा जान, छिटो गर आज प्रह्लाद सरको उद्घाटन भाषण सुन्नुछ । उनले त समानताको पक्षमा धेरै लेखहरू लेखेका छन् । महिला अधिकारवादी नेता हुन् । अत्यन्तै प्रगतिशील व्याक्तित्व हुन् उनी ! –राजुले आफ्नो श्रीमतीलाई प्रह्लादको प्रशंसा गर्दै भन्यो ।

“हेर न ! यो साडी पटाउनै सकिन मैले !’’ –इस्त्री गरिरहेकी शकुन्तलाले साडी पटाउन मद्दत गर्न अनुरोध गरी ।

“तिमीले झोलामा मेरा कपडा राख म यो साडी इस्त्री गर्छु ।’’ –राजुले झोला शकुन्तलाको हातमा थमाउँदै भन्यो । त्यही बेला डोर बेल बज्यो ।

“शकुन्तला ! हेर त बाहिर कसैले डोर बेल बजायो !’’ –राजुले इस्त्री गर्दागर्दै भन्यो ।
“ओहो प्रह्लाद सर जी ! सरप्राइज दिनुभयो हामीलाई त हजुरले । भनेको भए त म लिन आउने थिएँ बसपार्कमा ! “ –राजुले इस्त्री गर्न छाडेर स्वागतमा हात मिलाउँदै भन्यो ।

“भनेर आएको भए यस्तो दृश्य कहाँ देख्न पाउँथे नि !’’ –प्रह्लादले साडीतिर इशारा गर्दै भन्यो ।’ शकुन्तला र राजुले एक अर्काको मुख हेराहेर गर्दै मनैमन भने झनै ठूलो सरप्राइज ।

No comments:

Post a Comment