Wednesday, November 29, 2023

लघुकथा (अङ्क ६ मा प्रकाशित)

सोह्र श्राद्ध

-विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ    



कतिले भने, अर्को विवाह गर, जिन्दगी चलाउन गाह्रो हुन्छ ।
रामराम के भन्नुभाको तपाइँहरुले यस्तो ? यी साना दुई प्यूसाले मलाई सराप्दैनन् होला ? काखीमा च्यापिएर सुत्न पाएमात्र निदाउँछन्, एकैथालमा भात पस्किएर खादै ख्वाउँदै नगरे खाँदैनन् बरा, गुहुमुत सबै आफैँ सफा गरिदिनुपर्छ । के गर्नु घिन मानेर भएन आफ्नै हुन्, आमाको माया धेरैजेल पाउन जुरेको रहेनछ तिनेरलाई । अर्कौ बिहे गर्दा आफूलाई त सहज होला तर सौतेनी आमा ल्याएपछि त्यो सम्भव हुन्न ।
कसैको कुरो सुन्न मानेनन् शेखरले । जहाँ आफू गयो झर्को नमानी त्यहीँ लिएर पुगेका हुन्थे ।

दुःख गरेर बढाए, पढाए, आ–आफ्नो खुट्टामा उभिन सक्ने बनाए ।
एउटा विदेशतिरै पलायन भयो, कति प्रतीक्षा गर्दा पनि फर्केर आएन । अर्को छोरोले स्वदेशमै डिग्री ग-यो, ठूलै ओहोदामा पुग्यो, बुहारी आधुनिक भित्रिइन् । बुहारीले ससुरालाई घिन र बोझ मान्न थालिन् ।

श्रीमतीको कुरामा समर्थन गर्दै छोराले पनि उही ब्यवहार गर्न थालेपछि शेखरको मन बिरक्तियो । घर छोडेर बेपत्ता भए । खोजखबर भएन ।
सोह्रश्राद्धको समय थियो, आफ्ना मृत पिताको नाममा बागमतीमा श्राद्ध गरेर फर्कनेहरुको चहलपहल थियो, वृद्धाश्रमका वृद्धवृद्धालाई दानभेटी बाँड्दै जाँदै थिए मान्छे । माग्नेहरुको अवस्था दयनीय देखिन्थ्यो, शरीरमा झिँगा भन्किएका, दुर्गन्धित शरीर ।

बेपत्ता भएका बाबुको नाममा तर्पन दिएर प्रमोद दम्पत्ति पनि त्यहीँ पुगे ।    
कठैबरी ! यस्तो बिजोग पारेर आफ्ना बाआमालाई वृद्धाश्रममा पठाउने सन्तान कस्ता होलान् हँ ! प्रमोद दम्पत्ति सानो आवाज निकाल्दै चामल पैसा र बिस्कुट बाँड्दै गए ।

एक जीर्ण शरीर थर्थराएका हात कमाउँदै टेक्ली उठाउन बल गरिरहेका देखे, पुलुक्क अनुहारमा हेरे उनीहरुले । एकाएक उनीहरुलाई भाउन्न छुट्यो, थुचुक्क भुइँमा बसे ।

No comments:

Post a Comment