Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

राज्यको दायित्व

डा. हिमलाल श्रेष्ठ
अश्राङ्ग, गोरखा हालः कटुन्जे, भक्तपुर


उमेश जरुरी कामले जिल्ला पुग्नु थियो । बडो मुस्किलले तारतम्य मिलेको थियो । जिल्ला प्रशासन कार्यालयको अनुमति भरमग्दुर प्रयास पछि उडानको अनुमति मिलेको थियो । तर एअरलाइन्सले कोरोना परिक्षणको रिपोर्ट विना उड्ने अनुमति दिएन । स्वाबको नमुना सङ्कलनका लागि स्वास्थ्यकर्मीले गरेर लागेको थियो । खासै लक्षण नदेखिएकोले उमेशलाई ढुक्क थियो कि उसको नतिजा नेगेटिभनै आउँछ ।

तर नतिजा सोचेभन्दा ठिक उल्टो आयो । उमेशको पीसीआर टेस्टमा पोजिटिभ आयो । उसको उडान रद्द भयो । उसलाई अब थप ब्यवधान थपियो । लक्षण नहुँदा नहुँदै पनि आइसोलेसनमा बस्नुपर्ने भयो । आवश्यक सबै स्वास्थ्य मापदण्ड अपनाएकै थियो तर नतिजाले फरक देखायो ।

कोरोना पोजिटिभ रिपोर्ट आए पछि जिल्ला स्वास्थ्यले एक पटक फोन गर्यो  । अब दोश्रो परिक्षण गर्नु पर्दैन । लक्षण थप भएन भने १० दिन पछि आवश्यक परे बाहिर निस्कन मिल्छ भनियो ।

उमेशलाई भने झन् झन् व्यथाले च्याप्दै गयो । पोजिटिभ देखिएपछि हल्का रुघाखोकी अनि ज्वरो पनि बढ्दै गयो । घर परिवारमा अरु सदस्यलाई पनि सर्ला भन्ने त्रास पनि बढ्यो । सबैलाई तनाव भो ।

त्यसपछि सरकार र अन्य आधिकारिक निकायबाट न कहिलै सोधियो न त कुनै उपचारको विधि बताइयो । न कुनै सल्लाह प्राप्त भो । यत्रो महामारीको समयमा सम्पूर्ण सरकारी संयन्त्र त झन् बढी जिम्मेवार बनेर परिचालित हुनुपर्ने । सबैलाई आफ्नै ज्यानको माया बढी भयो । आफ्नो जिम्मेवारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै अनि सुरक्षाको प्रत्याभूतिसहित सेवामा खट्नुपर्ने हो तर त्यसो हुन सकेन ।

जसले उमेश जस्ता सकसमा परेका समुदायको पीडामाथि पीडा थपियो ।
उमेश भने एक तमासले सोच मग्न भयो – ‘‘राज्य र सरकार किन आफ्नो दायित्वबाट पछि हट्यो ?’’

No comments:

Post a Comment