Sunday, December 3, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

योगदान

-वसन्त अनुभव
घोराही १४, दाङ  


"सारा मुलुक गन्हाइसक्यो । अब पनि हामी हात बाँधेर चुप बस्यौँ, केही गरेनौँ भने मुलुक कङ्गाल हुन्छ ।" अभियानको संयोजन गर्दै उसले आवाज बुलन्द ग-यो ।

युवाहरूलाई आह्वान गर्दै उसले अगाडि भन्यो– "सबै युवाहरू जुट्नुहोस् । हाम्रो भ्रष्टाचार र अनियमितताको विरुद्धको अभियानमा सरिक बन्नुहोस्; योगदान दिनुहोस् ।"

उपस्थित युवाहरूले सिट्टी मारे; ताली बजाए । हात उठाएर ऐक्यवद्धता जनाए । त्यसपछि ऊ सरासर छापाखाना पुग्यो; जहाँ उसले भ्रष्टाचार विरोधी पर्चा, ब्यानर छाप्न दिएको थियोे ।

"यी पर्चा, ब्यानर गरेर जम्मा कति भयो, साहुजी ।" सामान लिँदै उसले भन्यो । "जम्मा पाँच हजार । बिल बनाइदिऊँ ?" साहुजीले भने ।
"दस हजार । हो, दस हजारको बिल बनाइदिनुस् । यत्रो अभियानमा लागिएको छ, अलिअलि म्यानेज त गर्नैप-यो ।" उसले भन्यो ।
"बाह्र हजार ? मैले त दस हजार भनेको होइन ?" साहुजीले दिएको बिल हेरेर ऊ आश्चर्यचकित भयो ।

"दुई हजार, मेरो हजुर ! अभियानमा अलिअलि योगदान त मेरो पनि छ, होइन र ?" दाँत देखाउँदै साहुजीले भने ।

No comments:

Post a Comment