Friday, February 9, 2024

अन्तर्वार्ता (अङ्क ९ मा प्रकाशित)


................................................

पिता प्रभुराम र माता विष्णुमाया न्यौपानेको सुपुत्रीका रुपमा वि. सं. २०२८ असार ५ गते संखुवासभाको फलाँठेमा साहित्यकार तिला लेकालीको जन्म भएको हो । फलाँठेकै माटो र हावापानीमा हुर्किएर रमाइलो बाल्यकाल तथा

किशोरावस्था बिताउनु भएकी लेकालीले बि.कम., एम.एड.सम्मको शैक्षिक योग्यता बनाउनु भएको छ । हाल उहाँ बेलबारी बहुमुखी क्याम्पसमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।

’लघुकथा संसार’ मासिकको अन्तर्वार्ता स्तम्भका स्तम्भकार गोमविक्रमले यसपाली साहित्यकार तथा लघुकथाकार तिला लेकालीसँग लघुकथामा केन्द्रित रहेर गर्नु भएको कुराकानी यसप्रकार छ ।
                                                                                                                      ................................................

गोमविक्रम :  लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्ला त ?

तिला लेकाली :  लघुकथा आख्यान रचनाहरूमध्येको मीठो रसास्वादन गराउने, सूक्ष्म, सशक्त, प्रभावकारी, चट्नी जस्तो चाखिलो र समय सान्दर्भिक उपविधा हो ।

जसमा एउटा मात्र विषयवस्तु/घटना, आकर्षक शीर्षक, उपयुक्त पात्र चयन, रहस्यपूर्ण अन्त्य, अणु सामथ्र्य भएको, स्वतन्त्र, खँदिलो, रोचक, घोचक, अस्तित्वबोधक, चातुर्ययुक्त, सन्देशमुलक, लघुकथा राम्रो लघुकथाका गुणहरू मानिन्छ । लघुकथा सरल, सरस, सहज भाषाशैलीमा लेखिनुपर्छ । सामाजिक विकृति, विसङ्गतिप्रति तीखो प्रहार गरिने, स्वतन्त्र, निरपेक्ष, अस्तित्वबोधक हुनुपर्दछ, भनिन्छ । यसको आकार सम्बन्धमा भने विद्वानहरूका आ-आफ्नै मत रहेका पाइन्छ । १५०० शब्दसम्मका कथाका लघु रूप हुन् भनेको पाइन्छ । कथाकारको सामर्थ्य ले त्यस सीमाभित्र रहेर जति सानो आकारमा चोटिलो लघुकथा लेख्न सक्यो त्यति नै राम्रो हुन्छ भन्ने बुझ्न सकिन्छ ।

गोमविक्रम : लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अनि अरुलाई पनि आकर्षित गर्न कसरी सकिएला ?

तिला लेकाली : हुन त मैले त्यति धेरै लघुकथा लेख्दिन । आजको समय अति व्यस्त समय हो । मानिस गाँस, बास, कपासको जोहो गर्ने क्रममा ज्यादै व्यस्त छ । फेरि साहित्यमा कमैले मात्र रुचि राख्छन् । तीमध्ये पनि कुनै एक विधाका सर्जक र पाठक थोरै नै हुन्छन् । तथापि अचेल लामा रचनाभन्दा छोटा रचनाले बढी आकर्षण गर्छ, भन्ने लाग्छ । लघुकथा पनि निक्कै छोटो, ट्वाक्क पाठकको मनमा मस्तिष्कमा ठोक्किने, काँडाले च्वास्स घोचे जस्तो हुन्छ । छोटो समयमा लेख्न र पढ्न सकिने, मिठासपूणर् र रोचक विषयवस्तु हुन्छ/हुनुपर्छ । पढ्न र लेख्न थोरै समयमा पनि सकिने भएकोले म यस उपविधाप्रति आकर्षित भएकी हुँ ।

मानिसलाई लघुकथाप्रति आकर्षण गर्न मानव जीवनका भोगाइ, दुःख-सुख, जीवनमरण जस्ता यथार्थसँग जोडेर लेख्न सके र मेरै बारेमा लेखेको हो रहेछ भन्ने आभास दिने गरी लघुकथा लेख्न सके पाठकलाई बढी आकर्षण गर्न सकिन्छ कि ? जस्तो लाग्छ ।

गोमविक्रम : अहिले लेखिएका लघुकथाहरूको कमजोर र त्यसका चुनौतीहरु के के छन् ?

तिला लेकाली : यो समय हर कुरामा चुनौतीपूर्ण छ । हरेक कुरा गर्न चुनौती छ । चुनौतीमा नै जोगिएर अघि बढ्न सके त्यसको मूल्याङ्कन हुन्छ । लघुकथा लेखनका पनि चुनौती छन् । पुस्तक बिक्री नहुने, धेरै पाठक नहुने, लगानी नउठ्ने अझ भन्ने हो भने लघुकथाका विषेशता अनुसार लेख्न नै चुनौतीपूणर् छ । तर चुनौतीको सामना गर्दै निरन्तर लेख्नु श्रेयस्कर हुनेछ, जस्तो लाग्छ ।

गोमविक्रमः  नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ?

तिला लेकालीः हाइकु लेखेर अन्य विधामा आएकी मान्छे हुँ म । हुन त कतिपयले छोटा विधालाई गन्दैनन् । साहित्य हो भन्दैनन् । तर छोटा विधामध्येको हाइकु नलेखेकी भए म तिला लेकाली हुने थिइन । आफ्नो घरव्यवहार, पेसा, गाउँ, समाज सबैको वचन राखिदिनका लागि व्यवस्थापन गर्दै नभ्याउने समय थोरै भए पनि सुरक्षित गरेर हाइकु, गजल, मुक्तक, लघुकथा जस्ता विधामा कलम चलाउन सकिन्छ । छोटो समयमा अनुसन्धान गरेर लेख्ने अवसर नपाउने म र म जस्ताहरूका लागि यो उपविधा अति उपयोगी छ, भन्छु म । अनि समय नहुनेले आख्यान आदि विधा लेख्छु भन्दा सफल हुन पनि सकिन्न । त्यसैले म त भन्छु, जे आउँछ जस्तोसुकै विधा/उपविधामा कलम चलाउनुहोस् तर लेख्नुहोस्, निरन्तर लेख्नुहोस् ।

हेर्नोस् न, कोपिला, खोरिया, सुसेली भन्दै अचेल कति धेरै उपविधामा गृहिणीहरूको पनि उत्तिकै कलम चलेको छ । आख्यान विधामा सबैको सामर्थ्य र समय हुन्थ्यो त ? त्यसैले समय र सामर्थ्य अनुसार जुनसुकै विधा लेख्नुहोस हृदयबाट, हृदयका लागि लेख्नुहोस् । अझ यो अणुको युगमा अणु, परमाणुजस्तै सशक्त उपविधा लघुकथा लेख्नुहोस्, भन्छु ।

लघुकथालाई विश्व बजारसम्म पुर्‍याउन अन्य विधाहरूलाई झैं विभिन्न भाषामा लेखेर प्रचारप्रसार गर्नुपर्छ । आजको प्रविधिको युगमा लेखेर फेसबुकमा पोष्ट गरे विश्वमा पुग्छ । तर विश्व भाषा/अन्तर्राष्ट्रिय भाषा र अन्य भाषामा अनुवाद समेत गर्न सके गैर नेपालीहरूले पनि पढ्न पाउँछन्/सक्छन् र लघुकथाले बजार पाउँछ । त्यसैले देश विदेशमा रहनुभएका नेपाली वा गैर नेपालीहरूबाट अनुवाद गर्न लगाउनुपर्छ ।

गोमविक्रम : आफूलाई स्मरणीय लागेको लघुकथा ? अनि आफ्नो वा अरुको वा सङ्ग्रहको नाम बताइदिनु हुन्छ कि ? 

तिला लेकाली :  सङ्ग्रहकै रुपमा त मेरो लघुकथा आएको छैन तर केही लेख्दैछु । अरूका पनि त्यति धेरै सङ्ग्रह मैले पढेकी छैन । लघुकथा कुनो भन्ने फेसबुकमा पसेर कहिलेकाहीँ पढ्छु र आफू पोस्ट पनि गर्छु । आनन्द लाग्छ । छोटा र कुनै पनि विषयलाई बडो मज्जाले अनुभूत गराउँछन् ।

उमा सिजापती, विष्णु भण्डारी, रमेन्द्र कोइराला, अनु विज्ञाति, राजन सिलवाल, अवतार ढकाल लगायत केही लघुकथाकारहरूलाई चिन्छु र उहाँहरूका कथा पढ्छु । निक्कै चोटिला र आरिस लाग्दा लाग्छन् । उमा सिजापती “परी“ र विष्णु आचार्यको “फेसबुक आइडी“ इत्यादि जस्ता लघुकथा पुरै पढेकी छु ।

गोमविक्रम :  लघुकथाको उन्नयनका निमित्त पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?

तिला लेकाली :  हरेक विधाको उन्नयनमा आफ्नो साधना सँगसँगै साहित्यिक कार्यक्रममा वाचन तथा सुझाव चाहिन्छ । स्वच्छ टिप्पणी चाहिन्छ । लघुकथाको विकासका लागि अझ पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका त अति अपरिहार्य र महत्वपूर्ण हुन्छ नै । तर सामाजिक सञ्जालमा पोष्ट गरेका रचनाका कमीकमजोरीलाई भने व्यक्तिगत रुपमा सुझाव दिनु राम्रो हुन्छ । 

No comments:

Post a Comment