Wednesday, April 17, 2024

लेख (अङ्क ११ मा प्रकाशित)

  लघुकथा लेखन कला

-डा. पुष्करराज भट्ट  



१. विषय परिचय
लघुकथा आख्यानात्मक विधा हो । वर्तमान समयमा लघुकथा लेखनले तीव्रता पाउने क्रमसँगै लघुकथा विषयमा अध्ययन-अनुसन्धान कार्यसमेत बढ्न थालेको छ । समकालीन नेपाली लघुकथा अब कथ्यगत सन्दर्भका पुष्करराज भट्ट दृष्टिले मात्र नभएर शैलीशिल्पगत दृष्टिले समेत समृद्ध बन्दै गएको सन्दर्भमा रचनामा स्तरीयताको खोजी आरम्भ भइसकेको छ । नेपाली लघुकथा समयुगीन यथार्थको ठोस अभिव्यक्तिका दृष्टिले समृद्ध बन्दै गएको छ । समयुगीन नेपाली लघुकथामा नेपाली समाजका विविध यथार्थको अभिव्यक्ति एवं नवीन चेतना र सामाजिक जागरणको भाव प्रस्फुटन गरिएको पाइन्छ । यस अध्ययनमा लघुकथाको परिचयगत सन्दर्भको खोजीका साथै लघुकथा लेखन कला सम्बन्धमा केही दृष्टिकोण प्रस्तुत गरिएको छ ।


२. लघुकथाको परिचयगत सन्दर्भ

लघुकथा आख्यानको लघुत्तम प्रकार मानिन्छ । लघुकथाको पहिचान भनेको संक्षिप्तता हो । यो स्वयंमा पूणर् र स्वायत्त रचना भएकोले यसले आख्यानका अन्य विधासँग समदूरीमा रहेर आफ्नो अलग्गै विशिष्ट पहिचान कायम गर्न सकेको छ । क्षीण कथावस्तु एवं सूत्रात्मक भाषाको प्रयोग भएका कारण लघुकथामा आख्यान बिस्तारभन्दा पनि संकुचनलाई प्रधानता दिइन्छ । लघुकथामा पात्रविधान, परिवेश आदिको सीमितता भएकाले यसले  व्याख्यानात्मकभन्दा सूत्रात्मक अभिव्यक्ति एवं प्रभावकारी विचार सम्प्रेषणको आग्रह राख्दछ । लघुकथाको अन्त्यमा प्रभावकारी विचार सम्प्रेषण हुनु आवश्यक मानिन्छ । लघुकथामा अणुसामर्थ्य प्रभावकारी हुन सकेन भने यो सामान्य टिपोट, लघु आकारको गद्य रचनाभन्दा माथि पुग्न सक्दैन । एक सशक्त लघुकथा रचनाले पाठकमा गहिरो छाप छोडनुका साथै तीव्र प्रभावका साथै मस्तिष्कमा झट्का प्रदान गर्ने सामर्थ्य राख्न सक्नुपर्ने हुन्छ । यसैमा नै लघुकथा लेखनको सार्थकता रहन जान्छ । आख्यानका उपकरणका आधारमा लघुकथा उपन्यास र कथाको नजिक छ । लघुकथामा ती उपकरणको प्रयोग सहज किसिमले गरिएको हुन्छ भने उपन्यास र कथामा त्यसको प्रयोग असहज किसिमले गरिएको हुन्छ ।

३. लघुकथा लेखनका कच्चा पदार्थ

व्यक्तिको सामाजिकीकरणको प्रक्रियाको प्रारम्भ परिवारबाट हुन्छ । उमेर, ज्ञान, अनुभव, कार्यक्षेत्र, विधागत कुशलता, नेतृत्व क्षमताका आधारमा मानिसले आफ्नो पहिचानको खोजी गर्दै जान्छ । सामाजिक विविधताका सन्दर्भमा हरेक व्यक्ति एवं समाजमा मौलिक चरित्र एवं प्रवृत्तिको खोजी भइरहन्छ । स्रष्टा आफैमा समाजको एक सदस्य भएकोले निजी जीवनका अनुभव, अनुभूति एवं ज्ञानको सीमामा रहेर समाजको विश्लेषण गर्दछ । आफ्ना भावना, दृष्टिकोणलाई साहित्यका माध्यमबाट प्रस्तुत गर्ने क्रममा विधाको छनोट गर्दछ । विधा अनुकूल चिन्तनका आधारमा उसले कथानक, चरित्र, परिवेश, दृष्टिविन्दु एवं उद्देश्यको निर्धारण गर्दछ । एक स्रष्टाले कसरी देश र जनतालाई हेरेको छ, आफू बाँचेको युगका विशेषतालाई कैसरी आत्मसात गरेको छ र विधागत धर्मको कतिको पालन गरेर रचनाको निर्माण गरेको छ, यसै आधारमा उसको लेखनको मूल्यको खोजी भइरहन्छ । लघुकथा लेखकले आफ्नो रचना निर्माणका सन्दर्भमा के-कस्ता विषयवस्तु समावेश गर्दा उचित होला भन्ने सन्दर्भमा यस लेखमा केही चर्चा गर्ने प्रयास गरिएको छ । लघुकथा लेखनका सन्दर्भमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिवेशका घटनाहरूलाई विषय बनाउन सकिन्छ । त्यस्तै हाम्रो सामाजिक जीवन, यहाँ प्रचलित मूल्यमान्यता, चिन्तनका साथै मानिसहरूका जीवनशैली, सांस्कृतिक र आर्थिक जीवनसँग सम्बन्धित घटनालाई कथ्य सन्दर्भका रूपमा उपयोग गर्न सकिन्छ । विभिन्न सञ्चारमाध्यम एवं पत्रपत्रिकामा प्रकाशित खबरहरू, नेपाली लोकजीवनका विषय प्रसङ्ग, समाजमा रहेका उपेक्षित दलित, जनजाति, पिछडिएको क्षेत्रका जनताले भोग्नु परेका समस्या, ऐतिहासिक पात्र एवं पशुपन्छीसँग सम्बन्धित विषय, विज्ञान प्रविधिका साथै ज्ञानविज्ञानका विभिन्न क्षेत्र एवं व्यक्तिगत जीवनका अनुभवका साथै अन्य व्यक्तिबाट वणर्न गरिएका घटना वृत्तान्त लेखनका सामग्री बनाउन सकिन्छ ।

४. सामग्रीहरूको उचित छनोट


अहिलेको युग सूचनाको युग हो । प्रविधिको अत्यधिक विकासका कारण हामीसँग सूचनाको कमी छैन । मानिसको मस्तिष्कमा सूचनाको भारी छ । साहित्य लेखनका सन्दर्भमा के-कस्ता विषय सन्दर्भको उठान गर्ने र त्यसलाई प्रस्तुत गर्ने भन्ने विषय प्रमुख विषय भएकोले सूचनाको उचित व्यवस्थापन गरेर लेखनका सामग्रीका निमित्त उपयोग गर्न सकिन्छ । लेखकीय चेतना र उत्तरदायित्वबोधबाट मात्र यो सम्भव छ । एक कुशल लेखकले सूचनालाई सामग्रीका रूपमा छनोट गर्नेदेखि लिएर त्यसलाई विधागत स्वरूपमा ढाल्नका निमित्त विधा सिद्धान्त एवं लेखन शिल्पको ज्ञान
राख्नुपर्ने हुन्छ । शिल्प पक्ष जतिसुकै राम्रो भए पनि विषयवस्तु (ब वा कथ्य सन्दर्भ प्रभावशाली भएन भने त्यसले असल सन्देश दिन सक्दैन । लघुकथा समयुगीन यथार्थको प्रस्तुति एवं सामाजिक जागरणका लागि प्रभावकारी विधा भएकाले पनि लघुकथा लेखनको विषय प्रभावकारी हुनै पर्दछ । लघुकथामा सामाजिक यथार्थको प्रस्तुति सघन रूपमा हुनुका साथै समकालीन युगीन जीवनका ५ विशेषताका साथै विकृति विसङ्गतिप्रति आलोचनात्मक चेतना भएमा लेखनले सार्थकता प्राप्त गर्दछ । लघुकथा लेखनको आधारभूमि सन्देशमूलकता एवं व्यङ्ग्यात्मक चेतना नै हो ।


लघुकथा लेखनका निमित्त निम्न विषयको उपयोग गर्नु वाञ्छनीय देखिन्छ ।

(क) राजनीतिक नेतृत्वमा रहेको सामन्तवाद, पूँजीवादी लालसा, अवसरवाद, मौकापरस्तताप्रतिको आलोचना,

(ख) साना एवं कमजोर मुलुकप्रति उपेक्षा गर्ने, हेप्ने र दुःख दिने साम्राज्यवादी एवं विस्तारवादी मुलुकका गतिविधिप्रतिको असहमति एवं विरोध,

(ग) संस्कृतिका क्षेत्रमा रहेको उपभोक्तावाद, पश्चिमा विकृत संस्कृति एवं नकारात्मक जीवनशैलीप्रति व्यङ्ग्य,

(घ) सामाजिक उत्पीडन, जातीय, क्षेत्रीय, वर्गीय एवं लैङ्गिक असमानताप्रतिको असहमति एवं विद्रोही चेत,

(ङ) समाजमा रहेको सामन्तवादी चिन्तन, व्यवहार एवं क्रियाकलाप, अवसरवादप्रतिको व्यङ्ग्यात्मक चेतना,
(च) सामाजिक सद्भावविरोधी क्रियाकलाप, विखण्डन, जातीय घृणा, क्षेत्रीय भावनाप्रति आलोचनाका साथै देशभक्तिको भावना,
(छ) समाजमा रहेका परम्परागत मूल्य एवं मान्यताले व्यक्ति जीवनमा पारेका गलत प्रभावको चित्रणका साथै असल पक्षको खोजी । समाजका विभिन्न क्षेत्रमा रहेका विकृति विरोधी चेतनाको प्रस्तुति ।

५. लघुकथा लेखनका चरणहरु

लघुकथा लेखनका लागि विषयवस्तुको उचित छनोटपछि लेखकले त्यसको लेखनको तयार गर्नुपर्दछ । तयार गर्ने रचनाको एक निश्चित ढाँचा निर्माण गर्नैपर्छ । यसका विभिन्न तह र ती तहहरूबीच अन्तर्सम्बन्ध कायम गर्दै एक पूणर् परिपक्व रचनाको निर्माण तर्फ लाग्नैपर्छ । लघुकथा लेखनका लागि यस प्रकार आवश्यक ढाँचा निर्माण गर्न सकिन्छ ।

(क) लघुकथा लेखनको तयारीको सन्दर्भ

लघुकथा लेखनका सन्दर्भमा आवश्यक खाकाको निर्माणको अपेक्षा गरिन्छ । विषयसन्दर्भको छनोट भइसकेपछि त्यो विषयलाई प्रभावकारी किसिमले कसरी सम्प्रेषण गर्ने भन्ने विषयमा आवश्यक तयारी गर्नुपर्ने हुन्छ । विषयवस्तु प्रभावकारी भएपनि त्यसको प्रस्तुति प्रभावकारी भएन भने त्यसले प्रभाव पार्न सक्दैन । लघुकथामा कम समयमा कम शब्दको खर्च गरेर प्रभावकारी लेखन प्रस्तुत गर्नुपर्ने हुन्छ । यसमा घटनाको बिस्तारभन्दा सङ्कुचन हुन्छ । लघुकथामा शब्दको सीमा भए पनि विषयवस्तुको कुनै सीमा हुँदैन । लघुकथा लेखनमा परम्परा भिन्न नवीन शैली एवं ढाँचाको प्रयोग गर्न सकिन्छ । लघुकथा लेखनका सन्दर्भमा प्रश्नोत्तर, हाजिरीजवाफ, सर्वेक्षण एवं प्रश्नावलीको ढाँचाको पनि प्रयोग गरिएको पाइन्छ । लघुकथा जीवनी, चिठी, विज्ञापन, संवादको रूपमा पनि लेखिएको छ । लघुकथा प्रस्तुत गर्न ढाँचा फरक भए पनि यसले मानिसको मनमस्तिष्कलाई झङ्कृत पार्ने सामथ्र्य भने राखेकै हुनुपर्छ ।

(ख) शीर्षक छनोट

कुनै पनि सिर्जनाका लागि शीर्षक छनोट प्रारम्भिक एव महत्वपूणर् विषय हो । शीर्षकले रचनाको सारवस्तुको निचोड दिन गर्दछ । लघुकथाको शीर्षक प्रतीकात्मक हुनुपर्छ, शीर्षक पढ्ने बित्तिकै लघुकथाको सम्पूणर् कुरा थाहा पाइयो भने त्यो शीर्षकको कुनै अर्थ हुँदैन । शीर्षकमा कुनै रहस्य लुकेको हुनुपर्छ, जसले मानिसलाई जिज्ञासाको संसारतर्फ डोर्‍याओस् । मानिसले सम्पूणर् रचना पढेपछि मात्र सबै कुरा थाहा पाए भने मात्र शीर्षकको सार्थकता हुन्छ ।

(ग) लघुकथा लेखनका विभिन्न चरणहरु

लघुकथा सूत्रात्मक र साङ्केतिक हुन्छ । यसले व्याख्यानको अपेक्षा राख्दैन । यसको सार्थकता कम समयमा बढी प्रभाव दिनसकेमा मानिन्छ । लघुकथा लेखनको पहिलो चरणमा कुनै निश्चित विषय, घटना एवं पात्रको सामान्य परिचय, पृष्ठभूमि एवं उसका क्रियाकलापबाट विषयतर्फ प्रवेश गरिन्छ । विषयवस्तुसँगै पाठकको यात्रालाई निरन्तरता दिन पात्र र घटनासँगै विषयवस्तुको उठान गर्नुपर्ने हुन्छ । यो चरण कौतूहलको प्रारम्भको चरण हो । दोस्रो चरणमा दुई फरक खाले व्यक्तिपात्र एवं घटनाका बीचको अन्तर्विरोधपूणर् सम्बन्ध, सङ्घर्षको आरम्भ, विकास र उत्कर्षलाई प्रस्तुत गरिन्छ ।

तेस्रो चरण समापनको चरण हो । यो चरण अत्यन्त महत्वपूणर् रहने गर्दछ । यस चरणमा लेखकले कतिपय कुराहरू नलेखी पाठकले आफै बुझून् भनेर त्यसै छोडिदिएको हुन्छ, जसलाई पाठकले सङ्केतले बुझ्नुपर्छ । लघुकथाको अन्त्य आकस्मिक किसिमले हुन्छ । प्रभावको एकोन्मुखता लघुकथाको मुख्य विशेषता हो । प्रारम्भदेखि अन्त्यसम्म एकैखाले प्रभाव रहन्छ र त्यो प्रभावको अन्त्यसँगै लघुकथाको पनि समापन हुन्छ । यस चरणमा निश्चित सन्देश वा व्यङ्ग्य प्रस्तुत गरिएको हुन्छ । लघुकथा रचनाको रहस्य यसै चरणमा उद्घाटित हुन्छ ।
यहाँ ध्रुव मधिकर्मीको ’बुद्ध कहीँ छैन’ (२०५१) कृतिको पृ. ५ मा प्रकाशित विस्फोट लघुकथालाई उदाहरण लिइएको छ ।

(अ) बालक रोइरहेको थियो, भोकले ।
’खानेकुरो केही छैन ?’ उसले सोध्यो ।
’छैन.. ’पत्नीको सपाट स्वरभित्रसम्म धसिसक्यो ।
उसले एक सुस्केरा हाल्यो- उफ् !
(पहिलो चरण, विषयको प्रारम्भ)

(आ) वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र
देख्यो व्याप्त ईश्वरको उकुसमुकुसता मात्र !
’घरमा बेच्नलायक कुनै चिज पनि त छैन...’ एउटा चिसो उच्छ्वास चुहियो उसको ओठबाट ।

उसले बेस्कन आँखा चिम्ल्यो र बरबरायो घरमा... । बालक रोइरहेको थियो- भोकले । सुकेको लाम्टा छातीका झुलिरह्यो ।
’हे भगवान् ! केही नपाएर उसले घुँडा टेक्यो ।
(दोस्रो चरण, सङ्घर्ष विकास)

(इ) ’एउटा बाँकी छ भगवान्कै मूर्ति ।’ पत्नीको स्वरमा विस्फोट भयो ।
’के’ उसलाई विश्वास भएन र ट्वाल्ल परेर हेर्न थाल्यो ।
(तेस्रो चरण, सङ्घर्ष हास, समापन)

६. निष्कर्ष

लघुकथा नेपाली आख्यान साहित्यको लोकप्रिय विधाका रूपमा स्थापित भइसकेको छ । लघुकथा आकारमा छोटो भए तापनि यसले दिने सन्देश एवं प्रभावकारिता व्यापक रहेको छ । समकालीन लघुकथामा युगजीवनका यथार्थवादी धार सशक्त किसिमले आएको छ । लघुकथा आफैमा एक निश्चित योजना भएकोले विधागत सजगतासहितको लेखनले स्तरीय रचनाको निर्माण गर्दछ । लेखनमा प्रयासको निरन्तरताबाट नै कुशल सर्जक निर्माण हुन्छन् । यसका लागि धैर्यका साथै अखण्ड साधनाको आवश्यकता छ । लघुकथाको सौन्दर्य भनेको यसले दिने सन्देशको प्रभावकारिता हो । यसले लघुकथाको जीवन्तता र लोकप्रियतालाई कायम राख्नमा मद्दत पुर्‍याएको छ ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment