**********************
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका -६ फापरथुममा माता नन्दकला, पिता पं. आनन्दमणि ढकालको सुपुत्रकारुपमा त्रिलोचन ढकालको जन्म वि.सं. २००६ श्रावण १८ गते भएको हो । फापरथुका उकाली ओराली र भञ्ज्याङ देउरालीमा बाल्यकाल बिताउनु भएका ढकालले त्यही सेरोफेरोकै प्रद्युम्न पनेरु, जनप्रदीप र त्रिशहीद माध्यमिक विद्यालयहरूबाट विद्यालयस्तरको तथा अमृत साइन्स कलेज, पृथ्वीनारायण कलेज, त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा आर्जन गर्नु भएको छ ।
साहित्यकार त्रिलोचन ढकाल खासमा बाल्यकालमा आफ्ना दाजु डिल्लिराज ढकालको प्रभावले साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । तत्पश्चात् घरको नगिचै विकास भइरहेको बजार र उहाँले भारतको ऋषिकेशमा पढेर फर्किँदा ल्याएको पत्रिकाका कविताको लयबाट प्रेरित भएर २०१७ सालमा पहिलो कविता लेख्नु भएको थियो । घरको केही तल सेतीदोभान नामक बजार विस्तारित भइरहेको थियो । त्यसकै बारेमा “मान्छे आउने हजार हजार सेतीदोभान क्या राम्रो बजार” भन्ने कविता लेख्नु भएको थियो । त्यसपछि विभिन्न समयमा कविता, गीत, कथा आदि लेखिकन विभिन्न सभा, समारोहहरूमा सुनाउन थाल्नु भयो । आफ्ना सिर्जनाहरू मञ्चमा प्रस्तुत गरेसँगै प्रकाशित हुन भने उहाँले अलिकति पर्खिनु पर्यो अथवा वि. सं. २०३८ सालमा मात्र उहाँको कविता कास्कीबाट ’नौलो हाँक’ नामक पत्रिका पार्टीको तर्फबाट निकालिएको थियो त्यसमा “एक म मरेर के भो जब लाख व्यूँझिदा छन्, बाटो सही छ हाम्रो जनवाद पक्का ल्याउँछौकक ।” बोलको कविता र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सम्बन्धमा लेखिएको लेख छापिएको थियो । त्यसपछि बीच बीचमा विभिन्न पत्र-पत्रिकामा कविता र लेख छापिँदै गए । उहाँसितको भेटमा लघुकथासित सम्बन्धित रहेर हाम्रा स्तम्भकार गोमविक्रमले गर्नु भएको कुराकानीको सारसंक्षेप यसप्रकार रहेको छ : -**********************
गोमविक्रम : यहाँलाई लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? अनि लघुकथाका विशेषताहरू केके हुन सक्छन् होला ?
त्रिलोचन : आख्यानलाई साहित्यको एउटा भेद मानिन्छ भने लघुकथालाई आख्यानको एउटा विधा भनिएको छ । स्वतन्त्र विशेषता भएका उपन्यास, कथा र लघुकथा आख्यानका विभिन्न भेदहरू हुन् ।
लघुकथाको मूल विशेषतामध्ये रूप पक्ष (शीर्षक, प्रारम्भ, कथानक, समापन आदि)मा लघु, उत्कण्ठा र आकस्मिक हुनु हो । सारपक्ष (कथाको विषयवस्तु) मा सामाजिक र अग्रगामी हुनु हो ।
गोमविक्रम : लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? त्यस्तै अरुलाई कसरी आकर्षित गर्न कसरी सकिएला ?
त्रिलोचन : समाज विकासको वर्तमान अवस्थामा मानिसहरूको जीवन व्यस्त रहनु स्वाभाविक भएको छ । यिनीहरूले बुझ्नको निम्ति लम्मेतान पढाइ र लेखाइ मुस्किलको विषय भएको छ । यस अवस्थामा पढन र लेख्न रुची भएका व्यक्तिहरूलाई छोटो लेखेर धेरै अभिव्यक्त गर्न र संक्षिप्त पढेर गहिरो भाव बुझ्नको निम्ति लघुकथाले आकर्षण दिएको छ । जुनसुकै माध्यम अपनाए पनि लेख्नुको उद्देश्य आफ्नो विचार सार्वजनिक गर्नु हो । यसको निम्ति वर्तमान अवस्थामा लघुकथा सामयीक र लोकप्रिय साहित्यिक उपविधा बनिरहेको छ । अर्को शब्दमा भनौँ भने अहिले नेपालमा लघुकथाको एक किसिमको बाढी चलिरहेको छ । आफ्नो विचार काव्य, निबन्ध, नाटक, आख्यान आदि जुनसुकै भेद वा उपभेद मार्फत् प्रस्तुत गर्ने अवसर मिलिरहेको छ ।
गोमविक्रम : लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ? विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्याउन के गर्न सकिएला ?
त्रिलोचन : नेपाली लघुकथाको विकासको गति तीब्ररुपमा भइरहेको कुरा सार्वजनिक गर्न सकिन्छ अथवा लघुकथाको बाढी नै चलिरहेको छ त्यसमा नहेलिई किनारामा उभिएर टुलुटुलु हेर्नुलाई बुद्धिमानी काम मानिँदैन । यही कारणले गर्दा म साहित्यको उपविधा लघुकथाको बाढीमा हेलिएको हुँ । लघुकथाको वर्तमान समयको महत्त्व आत्मसात् गराएर साहित्यको रसामृत पिउन चाहने मानिसहरूलाई लघुकथाको बाढीमा हाम फाल्नु हुन अनुरोध गर्नु समयको माग पनि भएको छ ।
गोमविक्रम : अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू के-के होलान् जस्तो लाग्छ ?
त्रिलोचन : वर्तमान अवस्थामा नेपाली लघुकथामा विद्यमान सैद्धान्तिक अनेकताले चुनौती खडा गरेको छ । लघुकथाका विज्ञहरूमध्ये कसैको पनि सैद्धान्तिक मेल छैन । यसले गर्दा उदीयमान सर्जकहरूले पनि आ-आफै सिद्धान्त विकास गर्नु परेको छ ।
यसको तेज गतिको दह्रो धारले अगाडिका कुँडाकर्कट त बगाएकै छ किनाराको स्थिरतालाई भङ्ग गरेर पनि गतिशील पनि बनाएको छ । यो काममा लघुकथाको विकासको निम्ति प्रशस्त सामाजिक संघ-संस्थाहरू क्रियाशील भएका देखिएका छन् ।
साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनको निम्ति भाषा पहिलो सर्त बनेको छ । त्यसकारण विचार कहाँ पठाउने हो त्यही ठाउँको भाषामा लेखिनु वा अनुवाद गरिनु अनिवार्य छ । विश्व बजारमा पुर्याउनको निम्ति सामाजिक सञ्जालहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । तिनलाई थप सुदृढ र सरलीकरण गर्नु समयको माग भएको छ ।
गोमविक्रम : आफूलाई स्मरणीय लागेको नेपाली लघुकथा र मन पर्नुको कारणसहित बताइदिनु हुन अनुरोध गर्दछु ।
त्रिलोचन : स्मरणीय लाग्ने लघुकथा वा सङ्ग्रहमध्ये पूणर्प्रसाद ब्राह्मणबाहेक अरू मैले पनि यो पक्षको ज्ञानमा कमजोर छु । यसले गर्दा विश्लेषक र समीक्षकको आ-आफ्नो डम्फू बज्नु अस्वाभाविक भएन । मानक नेपाली भाषाको प्रयोग नेपाली व्याकरण र नयाँ वणर्विन्यासको कुरा गर्दा "त्यो त आफै भइहाल्छ" भन्ने जवाफको पनि कमी देखिएको छैन । जे होस् नेपाली लघुकथामा स्मरणीय यही छ । एउटा के कुरा पक्का हो भने यो वादविवादले लघुकथाको बाढीमा प्रवाहीत फोहोरलाई सफा गर्न भने महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
गोमविक्रम : लघुकथाको उन्नयनका निमित्त पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ?
त्रिलोचन : पत्रपत्रिका, सामाजिक सञ्जाल अन्य मिडिया वा माध्यमहरू लघुकथाको बाढीभित्र प्रवेश गरेर लघुकथाकारहरूका बिचको गुटबन्दीमा सहभागी हुनु श्रेयस्कर मानिदैन । राम्रो नराम्रो जे छ त्यसको तटस्थ समीक्षाका साथ प्रचार प्रसारमा लाग्नु युगको माग बनेको छ ।
गोमविक्रम : स्याङ्जाका लघुकथाकार र लघुकथाका कृतिहरूबारे हाम्रा पाठकहरूलाई केही बताइदिनुहुन्छ कि ?
त्रिलोचन : स्याङ्जा जिल्लाको मात्र कुरा गर्ने हो भने लघुकथामा उति बाढी आएको देखिदैन । रिमबाबु राना, चिन्तु गिरी, मिलन समीर, गुप्ततारा प्रतिष्ठान, त्रिलोचन ढकालहरूले लघुकथासङ्ग्रह प्रकाशित गर्नु भएको छ । अनन्त अज्र्याल, स्याम ढुङ्गाना, सूर्य डुम्रे आदि दर्जनभन्दा बढीले लघुकथामा कलम चलाइरहनु भएको छ ।
गोमविक्रम : लघुकथाका समृद्धिका लागि कस्तो खालको साहित्यिक अभियान चलाउँदा उत्तम होला ?
त्रिलोचन : लघुकथाको उन्नयनका निम्ति काम गरिरहेका संघ-संस्थाहरू र क्रियाशील चर्चित व्यक्तित्वहरूले साहित्यको अरू विधा र उपविधालाई महत्व नदिएको देखिन्छ । मसँग माग गर्नु भएको जीवनवृत्तको सूचीमा पनि यो कुरा छर्लङ्ग छ । त्यसैमा तपाइँले खोजेको साहित्यिक अभियानको मुख्य विषय लुकेको छ । अर्को हो नेपाली भाषाका मानक शब्दहरू नयाँ वणर्विन्यासको प्रयोग । लघुकथामा मानक नेपाली शब्द, नेपाली व्याकरण र नयाँ वणर्विन्यासमा विशेष ध्यान दिन जरुरी छ ।
..साथ सहयोगको खाँचो
No comments:
Post a Comment