Monday, May 20, 2024

पुस्तक समीक्षा



 जिउँदो सतीप्रथाभित्र नियाल्दा


लघुकथाकार रञ्जुश्री पराजुलीको जिउँदो सतीप्रथा नामक लघुकथासङ्ग्रह २०७८ मा प्रकाशित भएको छ । यसभन्दा अगाडि उनको घाइते मनीप्लान्ट नामक लघुकथासङ्ग्रह २०७६ मा निस्केको थियो । यस कृतिभित्र उनले लेखेका कठिन घुम्ती, बाँडफाँड, मायाको मूल्य, बाध्यता, हतारको निणर्य, कोपिला लगायत विभिन्न शीर्षकका ५१ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ५१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् ।    

यस सङ्ग्रहभित्रको कठिन घुम्ती शीर्षकको पहिलो लघुकथामा श्रीमान्को नजर झन्झन् ठूलोतिर पुगेकोमा श्रीमतीलाई चिन्ता लाग्छ । भोलिका दिन के हुने हो भन्ने त्रासले सताउने मात्र होइन परत्र पनि बिग्रला कि भन्ने त्रास जाग्दछ । बाध्यता शीर्षकको लघुकथामा हामीले नेपाली बोलेको सुनेर उनी पनि मसिनो गरी नेपाली लवजमा नै बोलिन् । नमस्ते ! हजुरहरु पनि नेपाली नै होे ? भनिएको छ । यस कृतिको नामसँग जुधेको जिउँदो सतीप्रथा शीर्षकको लघुकथामा जिउँदै बसेर मारिरहने सतीप्रथा गाह्रो हुन्छ । आखिर हामी सतीप्रथाको त विरोध गर्छौ नि होइन र दिदी ? भनिएको छ ।

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । कोपिला शीर्षकको लघुकथामा दशैँको लामो विदा अगाडि उनले मलाई पाण्डुलिपि दिदै भनिन् - मिस मैले एउटा खण्डकाव्य लेख्ने प्रयास गरेकी छु बिदामा हजुरले जाँचिदिनुुहुन्छ कि । हजुरले भूमिका पनि लेखिदिनुपर्छ भनिएको छ । यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार रञ्जुश्रीले मनन गरेकी छिन् । दिनदशा शीर्षकको लघुकथामा एक्लै कोठामा बस्नुभन्दा साथी भयो भने राम्रो हुन्छ, गृहस्थी चल्छ । कमाएको पैसा बचाउ हुन्छ भन्ने सोचेर तिनै मामाले गाउँमा आमाको मञ्जुरी लिएर साली नानीसँग प्रवासमा नै बिहे गरिदिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् राजनीतिक, विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा रञ्जुश्रीका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । 

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । न्वारान शीर्षकको लघुकथामा नवराजलाई सबैको प्रिय हुन पाएकोमा गर्व लाग्थ्यो । उसले भविष्यमा ठूलो सहरमा पसेर सङ्गीतको क्षेत्रलाई नै आफ्नो पेसा बनाउने सङ्कल्प बोकेको थियो भनिएको छ । यस सङ्ग्रहभित्रको कोभिड उन्नाइस शीर्षकको लघुकथामा बाबा ! यो कोभिड उन्नाइस भनेको कस्तो रोग हो ? आफ्ना पाँच वर्षीय जुम्ल्याहा छोराहरुमध्ये जेठो राधवले आफ्नो बासँग सोधेको हुन्छ । 

अर्ती शीर्षकको लघुकथामा लीलामणि आफू पनि शिक्षित थिए । आफ्ना सन्तानलाई संस्कार दिएर हुर्काएका थिए । उनको अङ्ग्रेजी बोल्ने क्षमता राम्रो थियो । घरमा छोराछोरीसँग उनी अङ्ग्रेजीमै कुरा गर्थे भनिएको छ । बसन्तपुरको सडकबालक शीर्षककोे लघुकथामा श्रीमतीले गुगलमा खोजेर हिमाल रेस्टुरेन्ट पत्ता लगाएकी थिइन् । त्यो रेस्टुरेन्टमा ओरिजनल नेपाली स्वाद पाइन्छ भन्ने पनि थाहा पाएपछि त्यतैतिर गुड्यौ भनेर रञ्जुश्रीले लेखेकी छिन् । उनले लेखेका लघुकथामा ब्यङ्ग्यचेत प्रखर भएर आएको देखिन्छ । समाजका बिसङ्गति-असङ्गति तथा विकृति माथि व्यङ्ग्य प्रहार गर्नु प्रमुख अभिध्यय रहेको छ ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment