चिन्नु भयो ?
इन्दिरा गौतम
ओदालगुडी, असम
उनले मेरो घरको आँगनै टेकेर भने, “नमस्कार ! हजुरले मलाई चिन्नुभयो?’’
आफू परेँ सोझो-सिधा गाउँले मान्छे । पुराना लुगाफाटा र गाउँले परिवेशमा हुर्केकी । सुकिला-मुकिला मान्छे ग्वारग्वार्ती आएको देखेर बोली अड्कियो । खुट्टा लर्बराए । अझ घरमा बोलिदिने कोही नहुँदा त कस्तो असहज हुने । अझै एक हुल मानिसहरू बाटोभरि थिए । धेरै मान्छेभन्दा पनि पुलिस देख्दा त सात्तो नै गयो । मनमा एकैपटक अनेकौँ कुरा खेले ।
“एक गिलास पानी पिउन’’ ती भलाद्मी व्यक्तिले नम्रतापूर्वक भने । उनको अनुहार सम्झिदै पानी लिन भित्र पसेँ । कस्तो अचम्म, यति ठूलो मान्छे पनि हामी जस्ताको घरमा आएका । आत्मियताको साथ पानी मागेका ।
अब त झन्-झन् ढोकासम्म पुगेर हात जोडेरै भने, “अबका दिनहरू सुखका आउँछन् । बाहिर बसेका परिवारलाई घरमा बोलाउनु पर्छ ।’’
मेरो घरको परिसर नियाले । चारैतिर आँखा डुलाउँदै भने, “यति राम्रो गाउँ-घरलाई चटक्क माया मार्न हुँदैन । यहीँ सुन फलाउनु पर्दछ । मैले हरेक परिवारमा एक-एकवटा नोकरीको प्रवन्ध मिलाएको छु । यसपालीको भोट चैँ खेर नजाओस् है ।’’
आफ्ना रोगी श्रीमानलाई हेरेँ । अचकल्टो पढाई छोडेर परदेशिएको छोरालाई सम्झेँ ।
उनी आजको पाँच वर्षअघि पनि यिनै कुरा भनेर गएका थिए र आज फेरि त्यही कुरा दोहोर्याउँदै आए । खोला बाह्र-बाह्र वर्षमा फर्किन्छन् भन्छन् यी वाक्य पनि पाँच-पाँच वर्षमा दोहोरिँदा रहेछन् ।
“खै, अब चाहीँ उनलाई चिन्ने कि नचिन्ने ?’’
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment