Monday, June 17, 2024

पुस्तक समीक्षा


 अछुतभित्र नियाल्दा


लघुकथाकार गणेश नेपालीको अछुत नामक लघुकथासङ्ग्रह २०७६ मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका परिवर्तन, माग, तलब र उमेर, विडम्बना, भ्रम, शङ्का, व्यवहार, रहस्य, दोष लगायत विभिन्न शीर्षकका ४० वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ४० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको परिवर्तन शीर्षकको पहिलो लघुकथामा दिनहरु बित्दै जाँदा हर्केमा धर्ती र आकाशको परिवर्तन आउँछ । उसले भुन्टीबाट पाउने मायासँगै काम गर्ने मैयाँबाट पाएको छ । उसमा आएको परिवर्तनले गाउँको माटो अमूल्य आँसुलाई पनि भुलाएको छ । तलब र उमेर शीर्षकको लघुकथामा तलबकै कारण कवि रामप्रसादको शान्त घरमा हिजोआज ठाकठुक शुरु भएको छ । कविले श्रीमतीलाई मिठा मिठा कविता सुनाएर हरदम फुल्याउन खोज्दछन् । खुसी पार्न भरपूर कोसिस गर्छन् भनिएको छ । 

यस कृतिको नामसँग जुधेको अछुत शीर्षकको लघुकथामा गाउँमा बाबुआमाका थुप्रै पीडा सँग-सँगै खेपेर हिँडेको गङ्गे अब स्कुल हिँड्ने भयो । गाउँको साथसाथै त्यस्तै पीडा उसले स्कुलमा पनि भोग्नुपरेको छ । वैशाखी जिन्दगीको शीर्षकको लघुकथाभित्र अरुण र सानु दुबै स्कुले जीवनका एउटै कक्षाका सहयात्री थिए । दुबै पढ्नका साथसाथै खान, घुम्न, खेल्न र प्रायः जुनसुकै काममा पनि एकछिन छुट्टिदैनथे । साँच्चै नै उनीहरु दुईमा एक नहुँदा र एकछिन छुट्टिदा केही हराएको र अपुरो भएको भान हुन्थ्यो भनिएको छ । जागिर शीर्षकको लघुकथामा विनोदले पनि आफूलाई सिङ्गो आकाशले च्यापेको महसुस गर्दै जुरुक्क उठी मलिनो अनुहार बनाउँदै आफ्नो बाटो तताइहाल्यो भनिएको छ । यस सङ्ग्रहभित्रका लघुकथाहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भइसकेका छन् । सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता गणेशका कथाहरुको विशेषता हो । 

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार गणेशले मनन गरेका छन् । यसभित्र ४० वटा लघुकथा गाँसिएका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । राजनीतिक, विसङ्गति, सामाजिक बिडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा गणेशका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ  । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त  छ । पढ्दा निकै आनन्द आउँछ । 

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । भाषण र व्यवहार शीर्षकको लघुकथाले दलित जातीय मुक्ति समाजको भव्य अधिवेशनमा देशको कुनाकाप्चामा पशु सरह जीवन बिताइरहेका धेरै दलितहरुको उपस्थिति थियो । दलित नेताहरुको पनि आ-आफ्नो ठाउँबाट भाग लिएका थिए भनेको छ । समाज शीर्षकको लघुकथामा शर्मिला विवाह बन्धनमा बाँधिएर भित्रिएपछि घरमा सहकाल र लक्षिनसँगै भित्रिएको परिवारले महसुस गरे । शर्मिला नामजस्तै शर्माउने सोझी शिक्षित र संस्कारी स्वभावकी थिइन् भनिएको छ । 

कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मम विधा हो । लघुकथा छोटो हुन्छ तर पूणर् हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार गणेशको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ्न पाउने बाचा गरेको छु । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment