Saturday, July 20, 2024

लेख (अङ्क १४ मा प्रकाशित)


बालकथा : सिर्जना र परिवेश एक चर्चा

बालकका लागि लेखिएका बालोपयोगी कथा बालकथा हो । बालसाहित्यको महत्वपूणर् र सर्वाधिक प्रचलित विधा कथा विधा हो । नेपाली बालसाहित्यमा ७५ प्रतिशत जति बालकथाले स्थान ओगटेको छ । तापनि यसको विकास सन्तोषजनक हुन सकेको छैन । बौद्धिक एवं मानसिक विकासमा बालकथा पौष्टिक आहारको रुपमा प्रयुक्त हुन्छ।

कुनै पनि लेखन जुन बालकका लागि लेखिन्छ त्यसले कुनै न कुनै प्रकारको विचार र मूल्य मान्यता दिन्छ नै । लेखकले बालकका लागि लेख्दा धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ । कसका लागि लेखेको र केका लागि लेखेको हो ? उद्देश्य स्पष्ट हुनुपर्छ । लेखनमा केही नयाँपन दिन खोज्नुपर्छ ।


कस्तो हुनुपर्छ बालकथा ?

पढ्दा पढ्दै ओठबाट हाँसो फुत्कियोस, आँखाबाट आँसु बगेको पत्तै नहोस् । पात्रको प्रभावले अनुहार बदलिएको र हात खुट्टा जिउ चलेको देखियोस् । कथा मनमा गडोस् र पछिसम्म सम्झने होस् । पुनर्कथन गर्न उपयुक्त बनोस् । कथा पढेपछि पुनः सम्झेर खरखरती भन्न सकियोस् । कथाबाट चेतना खुलोस् । यसैले मन छुने, मैला धुने, मन पर्ने पाराको कथा नै उत्कृष्ट कथा हो । कथामा यस्तो कल्पना हुनुपर्छ, यस्तो चित्रण र यस्तो प्रस्तुति हुनुपर्छ कि झलझली आँखामा आउने, मुटुमै छाउने र जीवनभरी प्रभाव पार्ने भाव प्रस्फुटित होस् । बालकलाई जीवनमा बानी व्यवहारमा वा ब्यहोरा, नैतिकता र सद्चरित्रवान बनाउने प्रकारले विचार र व्यवहारमा सुधारको चेतना चम्कियोस् । समवेदना, भावना र चाहनामा प्रभाव परोस् । बालकलाई ‘रोल मोडेल’ र ‘प्रोआक्टिभ’ बनाउन सघाओस् । बालकले बालकथा पढ्दा सुरुमै आकर्षण गर्ने अभिप्रेरणा र इच्छा लाग्ने जाग्ने प्रकारले रचना सिर्जना हुनुपर्छ । बालकथा लेख्दा कथाकारले आफ्नो बाल्यकाल सम्झनु पर्छ । अवधारणा, भाषा र प्रस्तुति बालस्तर अनुकूल हुनु जाती हुन्छ । बाल चर्तिकला लीला अध्ययन गर्नुपर्छ । बालकलाई उत्साह दिने प्रेरणापद अचम्मलाग्दो, रमाइलो केही सिक्ने ढङ्गमा कथा लेख्नुपर्छ । बाल्यकालको स्मरण, अध्ययन र मनन गरेर बालकको हक, हित, मर्यादा र भविष्य उज्यालो पार्ने प्रकारले बालसाहित्य लेखिनु पर्छ । बालकथा सामान्यतः पूणर् मौलिक सिर्जना, पौराणिक पुस्तकमा आधारित सिर्जना विदेशी अनुवाद र वयस्कका लागि लेखिएका विशिष्ट कथा बालोपयोगी हुने गरी रुपान्तरण गर्ने प्रकारले रचना गरिन्छ । सर्वदेशीय, सर्वकालिक र सर्वोपयुक्त सर्वोपयोगी र रुचिका कृति शाश्वत र उच्चकोटीका हुन्छन् । बालबालिकाको कुन पक्ष केन्द्रित गर्ने त्यसै प्रकार बालकथा सिर्जना हुन्छ ।

बालकथा नैतिक उत्थान चरित्र निर्माण, मनोरञ्जनात्मक र शिक्षाप्रद हुनुपर्छ । कथा लेखेपछि चित्र बनाउने कि नबनाउने ? कथालाई जीवन्त बनाउन चित्र पनि त्यसै प्रकारको चाहिन्छ । आरम्भ कक्षाका लागि वा सानो उमेरका लागि धेरै चित्र र माथि कम वा लेखाइमात्र प्रस्तुत हुन्छ । हास्य कथामा व्यङ्ग्य चित्रले बढी आकर्षण पैदा गर्दछ ।

कथालाई जति सक्दो खार्ने तिखार्ने गर्नुपर्छ । यसका लागि मस्यौदा तयार गरेपछि ठूलो स्वरमा पढ्नुपर्छ । पढ्दा कस्तो सुनियो ? भाषा कस्तो भयो ? त्यो कतै भङ्ग छ कि ? देखिएको कमी कमजोरी सुधार्नु पर्छ । परिमार्जन गरेर आफूले भनेजस्तो भयो भन्ने लागेपछि बालकलाई पढ्न लगाउनु पर्छ वा सुनाउनु पर्छ ।

विदेशमा अनेक प्रयोग भए तापनि तिनको हुबहु नक्कल नगरी नेपाली परिवेशमा पाच्य हुने प्रविधि एवं प्रयोग हुनु बाञ्छित छ । अहिले असल समाज बनाउने जिम्मेवारी भन्दा सक्षम र सशक्त समाज बनाउन व्यक्ति अधिकार र कर्तव्य मात्र हैन सरकारको कर्तव्य र जिम्मेवारीमा लक्षित गरेर बालकलाई आफ्नो हक हित र मर्यादामा नागरिक शिक्षा दिने प्रकारका र असल चरित्र निर्माणका ‘रोल मोडेल’ बनाउन लक्षित लेखन आउनु आवश्यक छ । भ्रष्टाचारी परिवारभित्र र बाहिरका सबैलाई घृणा फैलाउने र चेतना जगाउने, फटाहा र निष्कर्मण्य नेतालाई उडाउनेदेखि ढोंगीहरुको मकुण्डो उतार्ने र समाज सुधार र देश विकासमा मद्दत हुने क्रान्तिकारी बालकथा पनि हाम्रोमा खाँचो छ ।


कथाको किसिम

बालकथा विभिन्न प्रकारका हुन्छन् । लोककथा पुनरलेखन र मिश्रण, विशेष पुस्तकको संक्षेपीकरण कथा र शुद्ध मौलिक सिर्जना गर्ने गरिन्छ । बालकथामा जनावर, साहसिक यात्रा, भूतप्रेत, दन्त्यकथा, स्वैरकल्पना, विज्ञान, त्रासदी, दुखान्त, रमाइलो, इतिहासका, पौराणिक अनेक कथाहरु लेखिन्छन् । कथाको क्षेत्र ठूलो छ र विविधतापूणर् छ । कथा कसैले विज्ञान सम्बद्ध, कसैले पौराणिक, कसैले प्रकृति चरा आदिमा मात्र पनि लेखेको पाइन्छ । श्रृङ्खलाबद्ध कथा, चित्रकथा, मंगा देखि कार्टून कथा प्रशस्त देखिन्छन् । कुन विषय क्षेत्रको लेख्ने त्यसका नमूना कथाहरु पढ्नु पर्छ र त्यसबाट प्रेरणा लिएर एउटा विषयमा केन्द्रित गरेर कथाहरु लेख्दा त्यसमा ठूलो योगदान पुग्छ । बालकको अवस्था अनुसार शिशु (५ वर्षसम्म), बालक (१२ वर्षसम्म), किशोर (१९ वर्षसम्म) र युवा (४० वर्षसम्म), प्रौढ (६० वर्षसम्म) र जेष्ठ नागरिक यसपछि मान्ने चलन छ ।

कथाका जल्दाबल्दा क्षेत्र छन् । नेपालमा न्युमेडियाको प्रभाव समाजिकीकरण, संवेगात्मक विकास, बुलिङ (ब्रिसभावले सताउने), झुटो बोल्ने, ढाँट्ने, दौतरीको संगतको प्रभाव, शारीरिक परिवर्तन, सरसफाइ (स्वास्थ्य र सन्तुलित भोजन), परानुभूति तथा करुणा, नागरिक चेतना आदि नै विद्यालयका समस्यामा आधारित आवश्यक कथा क्षेत्र हो ।


कस्तो कथा लेख्ने ?

कथाभित्र पनि उपविधा रहेका छन् । संयोगान्त कि बियोगान्त ? नाटकीय हो कि जासुसी ? पौराणिक कथा कि ऐतिहासिक ? सांस्कृतिक कि संस्कारजन्य ? नैतिक कि वैज्ञानिक ? शिकार कथा कि साहसिक ? हास्य कि करुण कथा ? जीवनीपरक कि यात्रापरक ? कथा वणर्न, संवाद, पत्र, यात्रा वणर्न, एकालाप के हो ? कुन पुरुषमा लेख्ने ? म पात्र कि उ पात्र ? चरित्रप्रधान कि घटना प्रधान ? वा विषय प्रधान कि मनोवैज्ञानिक ? कि प्रयोगात्मक ? आदि कुन प्रकारको कथा लेख्ने त्यो कथाकारले विचार पुर्‍याउनु पर्छ । किनकि जुन प्रकारको कथा लेख्ने हो त्यसैको भावभङ्गी, पात्र चरित्र, र परिवेशदेखि भाषाशैलीमा विचार गर्नुपर्ने हुन्छ ।


कथाको शीर्षक के कस्तो राख्ने ?

कथाको शीर्षक सम्झन सकिने ५ शब्दभन्दा बढीको नगरे बेश । त्यो भद्दा हुन्छ । ठाउँ, घटना, पेशा, खुल्दुली, अनुभूति, व्यङ्ग्य, हास्य, नायकको नाम, मनोविज्ञान, इतिहास सम्बद्ध, समयावधि, उखान र बालोपयोगी शीर्षक राख्नु राम्रो हुन्छ । कस्तो शीर्षक राम्रो हुन्छ ? विचार गर्ने । विषय छोटो आकर्षक अर्थपूर्ण, नयाँपन दिने अनौठो एकशब्द वा बढी बिषय मिल्ने शीर्षक चयन गर्ने, आकर्षक खाले सार खिच्ने, मुख्य पात्रको शीर्षक वा घटनाको प्रतिनिधित्व हुने वा सोही प्रकारको अरुको कस्तो छ हेर्ने, सोच्ने र नयाँ सुहाउँदो, सुन्ने बित्तिकै सम्झने र जनजिब्रोमा सजिलो उच्चारण हुने र ट्याक्क मनलाई छुने प्रकारको राख्ने । कथाको शीर्षक उपयुक्ततालाई ख्याल नगरे कथा आकर्षक नहुन सक्छ ।


कथाको सार के हुने ?

कथा त लेखियो । त्यसको सार के हो त ? ‘अर्थ न बर्थ गोबिन्द गाई’ गरेर हुन्न । कथाको आत्म मूल चुरो के हो ? पुरानो कथाको चलनमा नैतिक चेतना यो गर्न हुने यो नहुने प्रकारको सन्देश वा उपदेश हुन्थ्यो । तर मनोवैज्ञानिक कथामा त्यो नैतिकता पाठकले आफै चिन्छ र पात्रसँगै अघि बढ्दछ । कुन राम्रो कुन नराम्रो आफै पत्ता लगाई राम्रो नराम्रो उदाहरण मनमा लिन्छ र आफ्नो निणर्य लिन्छ । कुन राम्रो कुन नराम्रो आफैले आत्मसात गर्न सक्छ । आधुनिक कथाले कथाको अन्त्यमा जुन चरमबिन्दुमा कथा लैजान्छ त्यसबाटै नतिजा निस्कन्छ र त्यसलाई नै आफ्नो चेतनाको प्रस्थान बिन्दु बनाउँछ । सिनेमामा कथानक अनुसार कुनै कथामा रोएर कुनैमा हाँसेर दर्शक फर्कन्छन् । पात्रहरुको पनि कुनै कथामा असल खराब चर्चा हुन्छ । बहादुरी, साहस, कमजोरी, अविश्वासी सबै खाले चरित्र मजबूत वा सबल छ भने त्यसैको चर्चा चल्छ । कथामा पनि कथाकारले कथेको परिस्थिति, पात्र, घटनाक्रममा ज्ञानका बुद्धिका, चलाखीका र आफ्नो मनपर्ने आदर्श यथार्थ सबैलाई राम्ररी बुनेर पेश गरेको हुन्छ । त्यसबाट नैतिक शिक्षा वा अझ कुनै निणर्य लेखकले हैन पाठकले नै लिन्छ ।


कथाकुथुङ्ग्रीका कुरा

कथा मानिसको अनुभव र ज्ञानको प्रतिविम्ब हो । मानिसले पहिला पहिला आफूले यात्रा गरेका ठाउँहरुको स्मरण भन्दै जाँदा कथाका रुपमा भन्ने सुन्ने गरेको र एकले अर्कोलाई आफूले भोगेका र देखेका बयानका रुपमा कथा जन्मेको बुझिन्छ । सपनाका कुरादेखि आफ्ना कल्पनाका कुरा समेत एकले अर्कोलाई मेलोमेसो मिलाई भन्न थालेदेखि कथाको जन्म भएको बुझिन्छ । पछिपछि कल्पनाका कुरा र अनुभवका कुराहरु जोडिन गए र ती पुस्तौं दरपुस्ता मौखिक कथाका रुपमा भन्ने सुन्ने परम्परा नै बसेको बुझिन्छ ।


साभारः जनमत साहित्य


‍‍.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment