Friday, July 19, 2024

उषा शेरचनका दुई कविता

 कठपुतली

ए हजुर !
म त कठपुतली न परेँ..... !
कठपुतली !....मात्र कठपुतली !!
अगाडिबाट पो ‘म’ देखिन्छु त हजुर
पछाडिबाट भने
अरूबाटै संञ्चालित छु म
अरूबाटै नियन्त्रित छु म
मेरा हातहरू पनि मेरा हुँदैनन्
मेरा खुट्टाहरू पनि मेरा हुँदैनन्
मेरा आँखाहरू पनि मेरा हुँदैनन्
मेरा कानहरू पनि मेरा हुँदैनन्
यहाँ सम्म कि हजुर !
मेरा सोचाइहरू समेत मेरा हुँदैनन्
मेरा प्रत्येक अङ्ग प्रत्यङ्गहरू
अरूकै अधीनमा हुने गर्छन्
अरूकै इसारामा चल्ने गर्छन्
म, म भएरै नाच्न चाहे तापनि
म, म भएरै हाँस्न चाहे तापनि
म, म भएरै बाँच्न चाहे तापनि
के गर्नु र हजुर !
मसँगै बाँधिएका
यी अदृश्य धागाहरूलाई
चुँडाउन चाहेर पनि
चुँडाउन सक्तिनँ म
मसँगै टाँगिएका
यी अदृश्य अंकुशहरूलाई
उप्काउन चाहेर पनि
उप्काउन सक्दिनँ म
नाचेर जति नै थाके तापनि
नाचि नै रहन विवश छु म
बाँचेर जति नै हारे तापनि
बाँचि नै रहन अभिशप्त छु म
मेरो अतीत, मेरो बर्तमान
यहाँ सम्म कि हजुर !
मेरो भविष्यसमेत पनि
अरूबाटै निर्धारित हुन्छ
अरूमा नै आधारित हुन्छ
रङ्गमञ्चको चार दिवारभित्रको
निरीह कैदी म
अँध्यारो कुवाको चार किल्लाभित्रको
बबुरो भ्यागुतो म
कृपा गरेर हजुर !
भो नसुनाउनु होस् मलाई
नीलो आकाशको विशालताको कुरा
नीलो सागरको गहिराइको कुरा
खुला आकाशमा मैले
जतिनै उड्न खोजे तापनि
उड्नै सक्तिनँ म
गहिरो सागरमा मैले
जति नै पौडिन खोजे तापनि
पौडिनै सक्तिनँ म
भनिहालेँ नि हजुर !
म त कठपुतली न परेँ भनेर
कठपुतली !...मात्र एउटा कठपुतली !!
जसको आफ्नो कुनै स्वपहिचान हुँदैन !
जसको आफ्नो कुनै स्वअस्तित्व हुँदैन !!

***************

म तिमीलाई खुला आकाश दिन्छु

आँखीझ्यालबाट हेरेर
यो सीमित संसार
अँध्यारो कुवाभित्र रुङेर
यो सानो संसार
कुँजिरहेछु म
छट्पटाइरहेछु म
निस्सासिरहेछु म
छोरी !
तिमीलाई अब
यो आँखीझ्यालबाट देखिने
सीमित संसार मात्रै हेरेर बस
कदापि भन्दिनँ म
यो सानो कुवाभित्रको
भ्याकुता मात्रै बनेर बाँच
कदापि भन्दिनँ म
लत्याउ
पर्खालभित्रका हैकमी आदेशहरु
फुकाल
बुलाकी र कल्लीहरु
छिनाल
सदियौँदेखि
बाँधिराखेका
यी पावन्दीका दाम्लाहरु
खोल
युगौँदेखि
थुनिराखेका
यी पिँजडाका ढोकाहरु
र,
स्वतन्त्र भएर उड
उन्मुक्त भएर उड
अचानो बन्न अस्विकार गर्दै
खुकुरीको धार आफैँ बन्नू तिमी
गलत इतिहास मेटाउँदै
नयाँ इतिहास आफैँ रच्नू तिमी
सधैँभरि कुरीतिको
कालकोठरीमा
दविएर बस्न अभिशप्त
तिम्रा इच्छा र आकांक्षाका
गुलाबी फूल सिउरेर
सधैँभरि समाजको
बलिबेदीमा चढ्न अभिशप्त
तिम्रा सपना र चाहनाका
इन्द्रेणी माला पहिरेर
मैले उघार्न नसकेको क्षितिज
उघार्न जाउ तिमी
मैले हेर्न नपाएको संसार
हेर्न जाउ तिमी
मैले छुन नभ्याएको आकाश
छुन जाउ तिमी
उठ छोरी, उठ.........
म तिमीलाई सुनौलोे बिहानी दिन्छु !
उड छोरी, उड..........
म तिमीलाई खुला आकाश दिन्छु !!
म तिमीलाई खुला आकाश दिन्छु !!!
 ***************

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com

No comments:

Post a Comment