Saturday, July 20, 2024

अन्तर्वार्ता (अङ्क १४ मा प्रकाशित)


‌‌‌‌++++++++++++++++++++

माता स्व. ढुण्डिकादेवी तथा पिता भोजराज बस्यालको सुपुत्रका रुपमा वि. सं. २०१६ चैत १ गते साहित्यकार खगेन्द्रद्रबस्यालको पाल्पाको बगनासकाली-७ खानीगाउँमा जन्म भएको हो । रुपन्देहीको गीर्वाण सरस्वती संस्कृत मा. वि. तथा वाल्मीकी क्याम्पस काठमाडौंबाट उच्चस्तरको शैक्षिक योग्यता बनाउनु भएका बस्यालले शाखा अधिकृत पदबाट सेवा निवृत भई हाल तिलोत्तमा नगरपालिका-९ मा बसोबास गर्दै आउनुभएको छ । 

रुचीले विद्यार्थीकालदेखि साहित्यमा रम्न रुचाउने उहाँ जागिरे भएपछि पनि विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुने र प्रेरक वातावरण बनाउँदै आउनु भयो । केही साहित्यिक संस्थाहरूमा आवद्ध रहनु भएका बस्यालले “यौटा यस्तो दिनको प्रतीक्षामा’’ नामक लघुकथा पहिलो पटक २०४५ को मधुपर्कमा प्रकाशित गरेर लघुकथा लेखनारम्भ गर्नु भएको हो भने अहिले उहाँको एउटा लघुकथा सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ । 

लघुकथा संसारका अन्तर्वार्ता स्तम्भकार गोमविक्रमले उहाँसँग गर्नुभएको  कुराकानी प्रस्तुत गरेका छौं : -

‌‌‌‌++++++++++++++++++++


गोमविक्रम : लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? 

खगेन्द्र : लघुकथाको संसारमा लेखकले आकस्मिक र कौतुहलमय तरिकाले कुनै घटना र पात्रको समस्यामा द्वन्द्व सिर्जना गरी चुम्बकीय शैलीमा प्रस्तुत गर्दछ । पाठक वा श्रोताको मनमा स्थायी प्रभाव पार्नका निमित्त चातुर्यपूर्ण तरिकाले नसोचिएको रुपमा प्रभावकारी सन्देश दिइएको हुन्छ । यसैले लघुकथा आख्यानको प्रभेदको रुपमा स्वीकारिएको हो । 

गोमविक्रम : लघुकथा लेखनमा कसरी आकर्षित हुनुभयो, यसका सबल र कमजोर पक्ष केके देख्नु भएको छ ? 

खगेन्द्र : लघुकथा हुनका लागि घटना, कथानक, पात्र, चरित्र, परिवेश, उद्देश्य, भाव, विचार, दृष्टिबिन्दु, भाषाशैली आदि आवश्यक हुन्छ अर्थात् लघुकथा केलाई बनाउने ? कसरी श्रृङखलाबद्ध रुपमा लैजाने कथाको लक्ष्यमा पुर्‍याउने जिम्मा कसलाई दिने ?, ठाउँ समय र वातावरण कस्तो तयार पार्ने  ? यो कथा कुन आवश्यक प्रयोजनका लागि लेख्ने, पात्रहरूसँग लेखकीय सम्बन्ध कस्तो बनाउने ? कसरी बाह्य रुपमा प्रकट गर्ने ? भन्ने कुरा छोटोे समयमै प्रकट गर्न पाइने हुँदा यसले मन खिच्यो । साथै बीच भाग (कथावस्तुको मूल कथ्यलाई सङ्केत) विकास भाग (स्वभाविक रुपमा कथावस्तुको आकस्मिक उठान) चरमोत्कर्ष भाग (कथावस्तुको उत्साहमा वृद्धि) प्रति चरमोत्कर्ष भाग (समाधानको मोडमा ल्याउने) र समापन (कथाले भन्न खोजेको कुरालाई प्रभावकारी समाधान) हुने हुँदा यसले निकै आकर्षित तुल्यायो । लघुकथामा हुने सटिक, छिटो छरितो, अभिव्यक्तिमा तीक्ष्णता, नाटकीयता, संक्षिप्तता र व्यङ्ग्य चेतना रहने हुँदा यसतर्फ निकै मोहित हुन पुगें ।

यसका सबल पक्षमा चुम्बकीय रुपमा पछिसम्म रहने र दुर्बल पक्षमा यसको मर्म विपरीत सामान्य विषयमा पनि लघुकथा लेखी पाठकहरूको अमूल्य समय बर्बादी हुन पुगेको महसुस भएको छ । 


गोमविक्रम : नेपालमा अहिले लघुकथा कुन अवस्थामा छ ? विश्व बजारमा पुर्‍याउन के गर्नुपर्ला ? 

खगेन्द्र : अरु विधामा स्थापित साहित्यकारहरू समेत लघुकथामा कलम चलाउन थालेकाले पनि यो अहिले उर्वर अवस्थामा रहेको स्पष्ट हुन्छ । यो स्थितिलाई दृष्टिगत गरेर नेपाली लघुकथा अनुवाद हुने क्रम चलेकै छ तापनि यो मन्द गतिमा रहेका अनुवादकहरूको ध्यान यसतर्फ जानु आवश्यक छ । हरेक वर्ष लाखौंलाख पर्यटकहरू नेपाल आएको बेला ती अनुवादित कृतिहरूमा उनीहरूको ध्यान सहजै पर्नेछ । पर्यटकहरू हिमाल पहाड, ऐतिहासिक र पुरातात्विक महत्वका स्थान मात्रै हेर्न आएका हुँदैनन् भन्ने बुझ्नुपर्छ । 


गोमविक्रम : लघुकथाको विकासमा यसका सामाजिक सञ्जाल र सञ्चार माध्यमको कस्तो भूमिका रहन्छ ? 

खगेन्द्र : अहिले सबैभन्दा बढी सामाजिक सञ्जालमा लघुकथा नै छाएको देखिन्छ । यद्यपि उनीहरूमा एकीकृत प्रयासतर्फ चासो कम रहेको महसुुस हुन्छ ।

सञ्चार माध्यमले पनि सञ्जालसँग सन्निकटता कायम गर्न कन्जुस्याइँ गरेको हो कि भन्ने लागेको छ । यसर्थ दुई पक्षले अहिले लघुकथामा देखापरेको विहङ्गम् दृष्टि, मौलिकता, शैलीको दक्षता, विचार शक्तिको अद्वितीयताले लघुकथा शिखरतर्फ लागेको बुझ्न जरुरी छ । यसैले यस दिशातर्फ सहकार्य बढेमा त्यसको फाइदा नेपाली साहित्यलाई नै हुने बुझ्नु जरुरी छ । 


खगेन्द्र बस्यालका केही प्रकाशित कृतिहरु
---------------------------------------------------------------------------------------

गोमविक्रम : लघुकथामा अविष्मरणीय नाम के के हुन् ? 

खगेन्द्र : मैले अझैसम्म पनि धेरै स्थापित भइसकेका लघुकथाकारहरूको कृति पढ्न भ्याएको छैन । नपढीकनै नाम लिंदा अन्याय हुन सक्छ । तापनि खेमराज पोखरेल, हरिप्रसाद भण्डारी, कपिल लामिछाने, पूणर्प्रसाद ब्राह्मण, त्रिलोचन ढकाल, विवश पोखरेल, पुष्कर लोहनी, विनय कसजू, ध्रुव मधिकर्मी, नारायण तिवारी, रवीन्द्र समीर, पुष्करराज भट्ट, वनमाली निराकार, रुद्र ज्ञवाली, अनिता तुलाधरका लघुकथाको अम्मली भएको छु । उहाँहरूका प्रायः लघुकथा पढ्दा शरीरमा बेग्लै शक्ति प्राप्त भएको महसुस हुन्छ । 


गोमविक्रम : लघुकथाको समृद्धिका लागि के कस्तो अभियान उपयुक्त देख्नु हुन्छ ? 

खगेन्द्र : साहित्यका जुनसुकै विधा/प्रविधामा कलम चलाउनु भनेको हृदयमा रहेको मानिसलाई अगाडि ल्याउनु हो । लेखकले आम पाठकको भित्री धड्कनलाई उद्घाटित गराउने प्रयास गर्नुपर्ने हुन्छ । साहित्यकारको धर्मकर्म भन्नु नै मन पगालेर आशाका किरण ल्याउनु हो । समाजका छट्पटी, विद्रोह  र युगीन चेतना बोक्ने गरी कलम चलाएका प्रतिभाहरूलाई प्रोत्साहित तुल्याउनु जरुरी छ ।

लघुकथा पढ्दा पाठक कल्पनाशील, मननशील र चिन्तनशील गराउने खालका रचनालाई व्यापक प्रचारप्रसार गर्नु जरुरी छ । लेखकका कृतिहरू किनिदिने वातावरण सृजना गराउनु जरुरी छ । पुस्तक  परिचयका साथै ती पुस्तक माथि विचार गोष्ठीको पनि आयोजना गर्ने गर्नु पर्दछ । पाठ्यक्रममा लघुकथा पार्नेतर्फ सक्रियता बढाउनु जरुरी छ । मुख्य कुरा नेपालमा लघुकथाको पाण्डुलिपि माथि बहस कार्यक्रम शुरुआत हुनसके त्यसले लघुकथालाई धमिलो हुनबाट बचाउने थियो । 


‍‍.....साथ सहयोगको खाँचो

No comments:

Post a Comment