Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

स्वप्न ग्राम

- किशोर पहाडी  


गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बूढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चड्खे, चाउरे, घैटे र मनेहरू खेल्न छोडेर एकअर्कालाई हेर्न थाले ।

जगत् साहू जुरुक्क उठ्यो । पसल बाहिर आए । मकै भुट्दै गरेकी जगत साहूकी स्वास्नीले मकै भुट्न छोडेर सोधी, ’किन ? के भयो ?’

’उः त्यहाँ हेर् न ।’

’के ?’ भन्दै स्वास्नीले हेरी । ऊ पनि हेरेको हेर्यै भई ।

गाउँमा दसफुटे चौडा सडक एउटा आइरहेको थियो- सललल गर्दै, सर्पजस्तै बग्दै । त्यो सडक पहाडको छेउछेउ आइरहेको थियो । त्यो सडक पहाडभित्र पसेर सुरुङ बन्दै आइरहेको थियो ।

सबै छक्क परे । ट्वाल्ल परिरहे ।

हेर्दाहेर्दै सडक गाउँमै आयो गाउँसम्मै । अब त्यो गाउँ गाउँ रहेन । गाउँ नै अर्कै भएको आभास भयो । वीरमान, जगत् साहू, मगर्नी बूढी सबै खुसी भए । खुसी हुँदै जगत् साहूले भन्यो, ’गाउँमा अब सडकसँगै केके आउने हो ?’

उसकी स्वास्नीले पीर मान्दै भनी, ’भीरपाखामा हिँडिरहेको बानी । सडकमा हिँड्न जानिने हो वा होइन ?’

उनीहरूको कुरा सँगै बसेर छोरोचाहिनेले सुनिरहेको थियो । उसले भन्यो, ’केही पीर नगर्नोस् आमा । सडक त्यसै आएको हो र हाम्रो गाउँमा ? अब चुनाव आइरहेछ, त्यसैको लागि आएको हो । चुनाव सिद्धिएपछि यो सडक हराउँछ । तपाईंले भीरपाखामै हिँड्नुपर्नेछ ।’

नभन्दै एकछिनपछि त्यही सडकमा एउटा ठूलो मोटर आयो । वीरमानले चिन्यो- मोटरबाट दिगम्बर निस्के । दिगम्बर । त्यो गाउँको प्रतिनिधि । दिगम्बरले वीरमानलाई नमस्ते गरे, मगर्नी बूढीलाई ढोगे । जगत् साहूको हालखबर सोधे । ।

गाउँ नै उज्यालो भएऊँ आभास भयो । दिगम्बरको अनुहार पनि उज्यालो भयो ।

उज्यालिएको उज्यालिएकै अचानक गाउँबाट दिगम्बर हराए । दिगम्बरजस्तै देख्दादेख्दै त्यो सडक पनि सललल बग्दै भाग्यो । सर्पजस्तै बग्दै गाउँबाट भाग्यो ।

पहाडको छेउछेउबाट भाग्यो । पहाडभित्र पसेर सुरुङ मेट्दै भाग्यो ।

वीरमान, मगर्नी बूढी, चड्छे, जगत् साहु सबै फेरि टोलाएको टोलाएकै भए ।

’ज्या, सपनाजस्तै पो भयो त ।’ गाउँ फेरि एकपल्ट निराश, हताश र दुःखित भयो ।

साभारः  लघुकथा 'प्रक्रिया र पाठ’बाट


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment