Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

निणर्य

- विजय चालिसे
आरुबारी  


कुनै मुलुकको सुदूर भेगमा भोकमरीको हाहाकार थियो । सरकारको नयाँ नीति अनुसार सार्वजनिक सेवाका संस्थाहरू सहयोगी मित्रहरूलाई उपहार दिने अभियान युद्धस्तरमा चलिरहेको थियो । खाद्यान्न आपूर्ति गर्ने संस्था कसलाई कसलाई उपहारमा दिने, कसरी उपहार दिएर बढी नजराना लिने भन्ने कुराको खोजीमा सबै व्यस्त थिए ।  मालिकहरू आफूलाई बढी लाभ दिने क्रेता-विक्रेता मित्रको खोजी गरेर उपहार टक्य्राउन व्यस्त भएकाले संस्थाले सुदूर भेगहरूमा आपूर्ति गर्ने कामबाट फुर्सद लिइरहेको थियो । 

त्यत्तिकैमा मुलुकको सुदूरपश्चिम भेगमा भोकमरीको हाहाकारले मानिसहरू मृत्यु भयमा छट्पटाउन थाले । बाँच्ने आशामा जङ्गलका कन्दमूलहरू उनीहरूले सबै उपभोग गरिसकेका थिए । खान लायकका कन्दमूलहरूका भण्डार पनि रित्तियो ।  अरु खालका झारपात खाएरै पनि बाँच्नु त पर्‍यो ।  आमाबाबुहरू वनका यस्तै वनस्पतिहरू उमालेर भविष्यका आशा आफ्ना सन्तानहरूलाई ख्वाउन थाले । बचेको आफूले खान थाले । ती वनस्पति सबै खान लायक मात्र थिएनन् । तीमध्ये कतिपय जीवनको साटो जीवनबाटै मुक्ति दिने खालका पनि थिए । तिनको असरले मासिनहरू भकाभक मर्न थाले । 

त्यो मुलुकमा सरकार नामको एउटा संस्था पनि थियो । उसको कान असाध्यै बाक्लो थियो । त्यसैले स-साना चित्कार र भोकको जनक्रन्दनले उनीहरूको कान छिचोल्नै सक्तैनथ्यो । तर जब मानिसहरू भकाभक मर्न थाले, सबैतिर त्यसको चर्चा भयो र त्यो चर्चाले मुलुकबाहिरका आफ्ना मालिक मित्रहरूको कानसम्म पुग्न थाल्यो, बल्ल सरकारको कान पनि पातलो हुँदैगयो । 

अब त भएन, सरकार रूपी पुर्जालाई चलाउनै पर्‍यो, त्यो सरकार नामको संस्थाका मुख्य नाइकेको मनमा लाग्यो । त्यही समस्यामाथि छलफल गर्न उनले बैठक पनि बसाले । बैठक बस्यो । मुख्य विषय नै यही रह्यो- सुदूर भेगमा भोकमरी मान्छे मरे भन्ने कुराले आउँदो चुनावमा आफ्नो सरकार हार्न सक्छ । चुनाव पनि त संघारमैं आइसक्यो । त्यसैले यो हल्लालाई कसरी मत्थर पार्ने र यही भोकमरीको घटनालाई बाहिरका मित्रहरूको सहयोग भित्र्याउने अवसरका रूपमा कसरी प्रयोग गर्ने ?

“समस्या निकै गम्भीर छ । त्यसैले भोकमरीले खान नपाएर विषालु झारपात खाँदा नभई रुघाखोकीको प्रकोप फैलेर मानिसहरू मरेका हुन् भन्ने कुराको तत्काल प्रचारप्रसार हुनुपर्‍यो । हाम्रो पहिलो प्राथमिकता आउँदो चुनाव नै हो ।” संस्थाका प्रमुख नाइकेले समस्या राखेपछि एकजना प्रभावशाली सदस्यले आफ्नो कुरा यसरी राखे ।

“हो... उहाँले ठीक भन्नुभयो । हाम्रा सबै प्रचारयन्त्रहरूका ढ्वाङबाट यो कुरा फुकाइहाल्नुपर्‍यो । बरु एक दुई सय क्विन्टल चामल त्यताहुँदो पठाइहालौं । वितरण भने ठूलै समारोहका साथ हुनुपर्छ र प्रचारप्रसार पनि व्यापक ! प्रमुखज्यू आफैं जान नसके हामी जाउँला । त्यति गरेपछि जनताका लागि हामी कति चिन्नित छौं भन्ने थाहा पाइहाल्छन् नि !” अर्का सदस्यले बडो गहकिलो सुझाव दियो । 

“यो सुनौैलो अवसरलाई विदेशबाट खाद्यान्न सहयोग माग्नमा प्रयोग गर्नुपर्छ । यो काम चाँडै गर्न सकियो भने कर्यकर्ताका लागि चुनावमा खट्न र चुनाव जित्न आइतवार पनि लाग्दैन । यो सहयोगमा पुग्ने हात त हाम्रै कार्यकार्ता नहुन् ?” अर्का सदस्यको अझै गहकिलो सुझावका लागि गडगडाहट तालीको वर्षा भयो । 

“बरु ढुवानीको ठेक्का चाहिँ टुनटुनराम प्रवासीलाई दिने चाँजो मिलाउनु पर्ला....आखिर आफ्नै मान्छे हो । चुनाव कोषमा उसले त्यस वापत डेढ-दुई करोडको सहयोग दिइहाल्छ ।  कसो प्रमुखज्यू?” अर्को सदस्यले अझै उपयोगी सुझाव दियो । 

सबै सुझावहरूलाई प्रस्तावका रूपमा अनुमोदन गरियो । बैठकले गरेको निणर्यबाट प्रमुख प्रसन्न भए ।  सबैतिर निर्देशन गयो । प्रचारप्रसारका ढ्वाङहरूले फुके - सुदूर भेगमा रुघाखोकीको    प्रकोप फैलिएर एक दुईजनाको मृत्यु भएकोमा सरकार नामको संस्था अत्यन्त चिन्तित छ । औषधि र चिकित्सकहरूको तुरुन्तै व्यवस्था गरिएको छ, खाद्यान्न समस्या भएका एक दुई ठाउँमा चामल बाँड्न   प्रमुखज्यू स्वयम् त्यहाँ आउँदै हुनुहुन्छ । 

सरकार त ढुक्क भयो, भएन, सरकार नामको संस्था भने अर्को चुनाव पक्कै जितिने भयो भनेर ढुक्क भयो । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment