Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

बाण

- ललिता 'दोषी'
बुद्धनगर, काठमाडौँ  


काउकुती लगाउँदै अजय बोले— “हैन, बिहान-बिहान मेरी फूलकुमारी किन मुर्झाएकी ?” 

लोग्नेलाई जोडसँग धकेल्दै मधु च्याँट्ठिइन्— “मलाई जिस्केको पटक्कै मन पर्दैन । यो सब देखावटी माया हो । तन यहाँ छ मन भने कहाँ हो कहाँ ? घरमा छाक टार्न गाह्रो छ । प्रेमिकालाई भने... ।”

अजय रुन्चे स्वरमा बोले — “ऐया बाबा, म मरेँ ! हेर भित्ताले माया गरेर  टुटिल्को नै उठाए छ ।  होइन, तिमी खुस्केऊ कि कसो ? हनुमानले झैँ छाती चिरेर देखाउन सक्ने भए सबै देखाइदिन्थेँ । यो हृदयमा केवल तिमी मात्र छ्यौ बुझ्यौ मैयाँ ?”

बाहिर निस्किँदै भुतभुताइन् मधु — ‘‘झूटको आयु लामो हुँदैन बुझ्नुभयो ? यस्तो पापी, धोकेको मुख हेरेर के बस्नु ?’’ 

टुप्लुक्क सुमना देखा परिन् । भाउजूलाई अङकमाल गर्दै भनिन् — “हजुर त संसारकै भाग्यमानी नारीमध्यमा पर्नुहुन्छ । दाइले आफूलाई भन्दा बढी हजुरलाई माया गर्नुहुन्छ ।  हजुरलाई केकेको रहर छ । सपनामा बरबराइदे पुगिहाल्यो । बिपना भने दाइको बिथोलिन्छ । थोरै मेरो पनि.. । दाइले म गरिबको बछेडोले कसरी उनको रहर पुर्‍याऊँ ? उनको रहर पुर्याइन् भने बाँच्नुको कुनै सार नै हुँदैन भनेर छटपटिनुभयो । त्यसैले म हाजिर भएँ ।”

अजयले दुवैलाई अङकमाल गर्दै भने — “मेरो पीडा बुझ्ने मायालु कान्छुलाई धेरैधेरै धन्यवाद छ । ल प्यारी स्कुटीको कलर छान्न हिँड । मलाई तिम्रो कुनै कुराले दुख्दैन । चण्डी रूपमा पनि तिमी राम्रै देखिएकी थियौ ।”

मधु पश्चात्ताप र लाजले निहुरिन् । उनलाई बाण लाग्नुको कारण नै कसैलाई स्कुटी उपहार दिने  विषयमा कुरा गरेको सुनेर नै थियो । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment