Saturday, July 20, 2024

लघुकथा (अङ्क १४ मा प्रकाशित)

 डल्ले भक्लक्क ढले

- कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे   


दलबहादुर शारीरिक रूपले मोटो तर होचो कदको हुनाले उनलाई डल्ले भन्ने गर्दथे । शहर नजिकैको सानो गाउँमा हुर्के बढेको भएपनि दलबहादुर सानै उमेरमा पुस्तैनी पेशामा बुबालाई सघाउनु पर्दा विद्यालय जानबाट बञ्चित हुनपुगेका थिए ।

शहरको मुल सडकमा बुबाको जुत्ता दोकान थियो । पुराना जुत्ता मर्मत गर्नुका साथै नयाँ जुत्ता सिलाउने र बिक्री गर्ने गर्दथ्यो ।

दलबहादुर दुई दाजुका कान्छो भाइ हुन् । दुवै दाजुहरूको विवाह पश्चात् छुटी भिन्न भयो । उमेरले सत्तरी कटेका बुबालाई सघाउँदै आएका थिए दलबहादुर । डल्ले भए तापनि उनी विवाह गर्ने उमेरको थियो । घर परिवार र साथीहरूले जति कन्या देखाए पनि दलबहादुरले कुनै न कुनै बहाना बनाएर टार्ने गर्थे ।

दाजुहरूको विवाहमा दोकान गरेर कमाएको रकम खर्च भयो । छुटी भिन्न हुँदा पैतृक सम्पत्ति बाँडफाँड भयो । आमाबाबुको हेरविचार पुर्‍याउनु पर्छ भन्ने दाजुहरूमा हेक्का भएन । दिनभर दोकानमा काम गरेर साँझ घर फर्केर आउँदा थकित हुन्थ्यो दलबहादुर । आमाबाबुको उमेर पनि डाँडापारीको घामझैँ भइसकेको थियो ।

दलबहादुरलाई एक्लै पुस्तैनी काम धान्न र आमाबाबुको हेरबिचार गर्न असहज हुँदै आयो । बहानाबाजीले नटर्ने भएपछि गाउँकै एक सुशील कन्यासँग दलबहादुरको भयो । त्यही सालमा आमाबाबुले पालैपालो संसारबाट बिदा लिए । आमाबाबुको देहावसान पछि दलबहादुर शहरमा सानो डेरा लिएर बस्यो । पुस्तैनी व्यवसायले घर धान्न पनि गार्‍होसार्‍हो हुँदै आएपछि दलबहादुर वैदेशिक रोजगारीका लागि उड्यो ।

दलबहादुर हिँड्दा उनको पत्नी दुईजिउकी भइसकेकी थिइन । समुन्द्र पार टरेका दलबहादुरले सोचेको सुखको सपना परचक्रीको आधुनिक दासताझैँ भयो । शारीरिक अस्वस्थताका बाबजुद पनि काममा घोटिनु पर्दा दलबहादुर शिथिल हुँदै गयो । कामबाट फर्केका दलबहादुर बाटोमा आउँदा आउँदै भक्लक्क ढल्यो । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment