आदेश
- विनोद नेपाल
पोखराथोक, माडी, पाल्पा
एकाएक गाडीहरू रोकिए ।
बिस्तारै गाडीको लामो लस्कर लाग्यो, केहीबेर चोकचोकमा प्वाँ पुँ र घ्यारघुरका आवाज सुनिएपनि विस्तारै आवाज बन्द भयोे । काममा जानेहरू ढिला भए, विद्यार्थीहरू समयमा विद्यालय पुग्नबाट वञ्चित भए । असर यतिसम्म पर्यो कि पदयात्रीहरू समेत पेटीमै रोकिए ।
सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सिठ्ठी बजिरहेका थिए । मानिसहरू अनुमान गर्न थाले,
- कतै ढल फुट्यो कि ?
- कतै नाली खन्ने-पुर्ने, बिजुलीको पोल उखेल्ने-गाड्ने वा मर्मतको काम भइरहेको छ कि ?
- कतै रुख ढल्यो कि ?
- कतै दुर्घटना पो भयो कि ?
- कतै शंकास्पद वस्तु पो भेटियो कि ?
वा,
- कतै जुलुस पो निस्क्यो कि ?
यत्तिकैमा एउटा गाडी हुईंकिँदै आयो र खाली सडक हुँदै अगाडि बढ्यो ।
चोकमा पुग्दा ड्युटीका सुरक्षाकर्मीले सुर्र....र्र सिठ्ठी बजाए ।
गाडी घ्याच्च रोकियो ।
इसाराले गाडी छेउ लगाउन निर्देशन दिएपछि नजिकै पुगेर सुरक्षाकर्मीले भने ‘कहाँ दौडेको ? देखेनौ यत्रो लाम ?’
‘अस्पताल हजुर, बिरामी लिएर आएको सर, सिरियस बिरामी’ चालकले भने ।
सुरक्षाकर्मीले चालकसँग कागजपत्र माग्दै भने - देख्दादेख्दै अटेर गर्ने, अझै बहाना बनाउने ?
यत्तिञ्जेल बिरामीसँगै गाडीभित्र रहेका आफन्तहरूको रुवावासी सुरु भइसकेको थियो ।
सुनेर झ्यालभित्र चियाएपछि उनले भने - ‘ल गइहाल्, तुरुन्त गइहाल्, साइत पर्दैन, सवारी छ ।’
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment