Monday, September 23, 2024

अनुवाद लघुकथा (अङ्क १६ मा प्रकाशित)

 शत्रु

- एन्टन चेखभ
(रुसी लघुकथा)


६ वर्षे छोराको निष्प्राण शरीर र श्रीमतीको अचेत शरीर किरिलोभको आँखा अगाडि नाच्न थाल्यो । एक मात्र छोरो र त्यसको वियोगको पीडा कसले सहन सक्थ्यो र ? ऊ त एक पुरूष थियो र साथै एक डक्टर पनि, यस्ता कारूणिक पलहरूसँग परिचित थियो । असह्य पीडाको बाबजुद सान्त्वनाका स्वरहरू श्रीमतीसँग बाँड्नुपर्ने वाध्यता । अचानक कलबेलको आवाजले झस्कँदै ढोका खोल्न पुग्यो ऊ ।

“डक्टर घरमै हुनुहुन्छ ?”
“म घरमै छु । केही थियो कि ?”

“ए तपाईं नै हो, भेट्दा खुसी लाग्यो । कृपया नाईँ नभन्नुहोला, मेरी श्रीमती सिकिस्त भएर हजुरलाई लिन आएको ।”

उसको अनुहारमा पीडा प्रष्ट देखिन्थ्यो । केही नबोली डक्टरले बेलीबिस्तार सुनिरहे । प्रसव पीडाले ग्रस्त भएझैँ भयो डक्टरलाई शब्दहरू उच्चारण गर्न ।

“माफ गर्नुहोला, म सक्दिन ... मेरो छोरो ... मर्‍यो ... पाँच मिनेट अगाडि ।”
केहीबेर मौनताले साम्राज्य जमायो ।

“म तपाईंको समस्यालाई बुझ्छु । तर यहाँ अर्को डक्टर छैन । मैले मेरा लागि अनुरोध गरेको होइन । ढीला हुँदा अर्को मृत्यु ...।” अबोगिनको पीडा मुख फोर्न बाध्य भयो ।

डक्टरको कर्तव्यबोध र बाबु तथा पतिको जिम्मेवारी एक अर्कासँग लडाबुडी खेल्न थाले । आखिरमा जित कर्तव्यबोध कै भयो । एकघण्टामा फर्काइदिने वाचासँगै डक्टर राजी भए । करीब नौ माइलको यात्रा दुबैलाई युगौंयुगको झैँ भइरहेथ्यो । अबोगीनको बेचैनी बढ्दै गएको डक्टरले प्रष्ट महसुस गर्दैथिए । 

“एक छिन बस्दै गर्नुस म आइहालेँ ।”

बैठक कोठामा डक्टरलाई एक्लै छोडेर अबोगिन भित्र छिरे । अबोगिनको सम्पन्नता बैठक कोठाको कुना-कुनाबाट चियाइरहेथ्यो । केहीबेरको शान्ति पछि निकै परिवर्तित मुद्रामा देखा परे ।

“यत्रो ठूलो धोका,”- बदलिएको पीडाको भाव अबोगिनका मुखबाट निस्कँदै गए - “त्यो जोकरसँग जानलाई मसँग यत्रो जालझेल ।”

“बिरामी खोइ त ?”
“बिरामी, के-को बिरामी हुनु नि, नाटक ! हे, भगवान म यसलाई कसरी सहुँ ।”
“यसको के अर्थ हो ? मेरो मरेको छोरो र अचेत श्रीमतीलाई छोडेर म यहाँ यो वकवास हेर्न आएको हुँ ?”

डक्टरले यसलाई आफ्नो अपमान सम्झे । उनीहरूको कलह बढ्दै गयो । समय जाला, किरिलोभको पीडा जाला तर त्यो अपमानको पीडा डक्टरको मन मस्तिष्कबाट उसको चिहानसम्म पनि रहनेछ ।

भावानुवाद तथा सम्पादनः एकदेव अधिकारी


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment