Sunday, September 22, 2024

म किन लेख्छु ? (अङ्क १६ मा प्रकाशित)


सुरुमा रहरले लेखियो । तीसको दशकमा नै लेखियो कविता भनेर, कथा भनेर । भएको नभएको थाहा नभएरै पनि लेखिरहेँ । साहित्यिक क्षेत्रमा चिनियोस् भन्ने ठूलो मोह थियो । त्यस्तै मोहले पत्रकारिता क्षेत्रमा पनि हात अगाडि बढायो । चालीस सालदेखि नियमित साहित्य र कलासम्बन्धी स्तम्भ लेख्न थालेँ । केही समय त दुई साप्ताहिकमा पनि लेखेँ । निकै गाह्रो हुँदा पनि नामकैैै मोहले कहिले पछाडि सरिनँ । आफ्नै सम्पादनमा साहित्यिक पत्रिका निकालेँ । पछि सिने पत्रिकामा लेख्न थालेँ । आफै सम्पादक भएर पनि तीनवटा सिनेपत्रिका निकालेँ । यसरी लाग्नुमा अलिअलि रहरले धेरैचाहिँ नामै चिनियोस् भन्ने मोहले नै थियो । 


नेपाल बैँकको जागिर छोडेर गोरखापत्र संस्थानमा आएँ । मधुपर्कमा जोडिएपछि लेख्ने, पढ्ने र सम्पादन गर्ने जागिर नै भयो । स्रष्टाहरुसँगको दैनिकी भेटघाट र सम्बन्धले गर्दा मधुपर्कमा जोडिएपछि साहित्यमा झन् लेख्न थालेँ । आफ्नो इच्छाले भन्दा बढी अरुका आग्रहमा लेख्न थालेँ । नाइँ भन्न नसकेर धेरै पुस्तकका भूमिका लेखेको छु । समीक्षा त झन् बयालीस सालदेखि नै लेखेको थिएँ । अहिले सकेसम्म भूमिका र समीक्षा लेख्न रुचि लाग्दैन । हार्नै नसक्दा अपवादको कुरा भएन । 


अहिले आफ्नै जीवनको नियमितताको लागि लेख्छु । अक्षरहरुसँग खेल्नु भनेको मुटुको ढुकढुकीजस्तै जीवनको लय बनिसकेको छ । नलेख्दासम्म एक प्रकारको अभाव खटकिरहन्छ । बिरामी भएर नसकेको बेलामा बाहेक केही न केही लेखेकै हुन्छ । कहिले नसकिने कामजस्तै हुँदोरहेछ लेख्ने भनेको । लेख्दाको आत्मसुख भने पनि आत्मसन्तुष्टि भने पनि व्यक्तै गर्न सकिँदैन । 


अरु पदार्थकोभन्दा कडा हुँदोरहेछ लेखनको नशा । अरुको आनन्द क्षणिक हुन्छ तर लेखनको नसा बाँचुन्जेलका लागि हुन्छ । हो, त्यसैले म लेख्छु । त्यसैले म लेखिरहेको छु ।


.‍‍‍‍....साथ सहयोगको खाँचो

No comments:

Post a Comment