Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

लक्ष्मणरेखा

- देविका तिमिल्सिना
नयाँबस्ती, जोरपाटी


जीवनका अनेक भोगाइलाई आत्मसात् गर्दै रामप्रसाद शर्मा अन्ततः जागिर पाउन सफल भयो । जागिर पाउनु जीवनको एउटा कसिलो आधार भेट्नु न हो । आखिर उसले भेट्यो नै । घरमा आमाले पहिलो दिन टीका लगाएर जागिरमा सफल हुनु भनेर वहाली हुनेदिन खुसीसाथ पठाउनु भयो । वास्तवमा आमाभन्दा खुसी त बा भएका थिए तर उनले हँसिलो मुहारले छोराको शीरमा हात राखेर केही नबोली बिदा गरे । उनको बाहिरीभन्दा भित्री मुहार हाँसेको थियो, खुशी थियो । अब घरको व्यवहार र आर्थिक व्यवस्थापन विस्तारै छोरामा सारेर आफू जीवन र जगतको कठिन अल्झोबाट परमानन्दमा बाँकी उमेर बिताउने बुबाको सपना उदय भएको थियो । त्यसैले रामप्रसादको घरमा लौकिक आनन्द छरपष्ट भएर सवैको मनमनमा छाएको थियो ।

रामप्रसाद कसैको हप्किदप्की र हेपाइलाई सधैंँ आत्मसम्मान माथिको प्रहार संझन्थ्यो । ऊ मर्न तयार हुन्थ्यो तर हेपिन चाहँदैन थियो । यो उसको लक्ष्मण रेखा थियो । उसको लक्ष्मणरेखा मेट्दै अरुलाई हेप्न खप्पिस हाकिमले तिमी शब्द प्रयोग गरेको र तुच्छ वचनले व्यवहार गरेकोबाट उसको मन पोलिरहेको थियो । तर जागिर घरपरिवारसँग गाँसिएको थियो । जागिरको समयपछि ऊ मनमा चलेको द्वन्द्व समन गर्न वनकालीको एकान्त जङ्गलमा टोलाएर बस्यो र साँझ रामप्रसाद अलि ढिला गरेर घर पुग्यो । 

बाबुको खाना खाने समय भइसकेको थियो । तैपनि सबैजना रामप्रसादलाई नै पर्खिरहेका थिए । त्यसैले ऊ आउने बित्तिकै आमाले -“हात खुट्टा धोएर खाना खान आइहाल भनिन् ।”

रामप्रसाद पनि केही नबोली बाथरुम पस्यो र हात खुट्टा धोएर भान्सातिर छिर्‍यो । बाउ अघि नै खाना खान बसिसकेका थिए । ऊ पनि बाउसँगै बस्यो । 

“पहिलो दिनको जागिर कस्तो रह्यो रामु ? काम कस्तो रहेछ ?”- आमाले खाना खान बसेको छोरालाई सोधिन् ।

रामप्रसादले ठाडो शिर लगाएर भन्यो- “आमा ! हाकिमले मेरो टाउकामा पैतालाले टेकुँलाझैं गरी व्यवहार गर्‍यो, म भोलिदेखि जान्न ।”

आमाले दाल थप्न उचालेको डाडू हातबाट झर्‍यो र भुइँभरि छताछुल्ल भयो ।



...साथ सहयोगको खाँचो

No comments:

Post a Comment