आकाश र धर्ती
- अन्जु शर्मा
रातोपुल, काठमाडौँ
"प्रिय ! यति टाढाबाट आएँ । किन यति अँध्यारो अनुहार छ?’’
आकाशले धर्तीलाई भन्यो ।
“हाँस्न त खप्परमा लिएर आउनुपर्यो नि ! सधैंभरि बोझ बोक्न परेको छ । कहाँ तिम्रो जस्तो भाग्य छ र मेरो ? राम रमिता हेरेर उच्च स्थानमा बस्ने ।’’ धर्तीले गुनासो पोख्यो ।
“यतिधेरै सन्तान तिमीसँग रमाएका छन् । तिमीले आफ्नो काख र नाम दिएकी छौ । किन सधैँ उदास हुन्छ्यौ?’’ आकाशले भन्यो ।
“चिन्ताको विषय नै त्यहीँ हो । म चौबीसै घण्टा खटेर हुर्काउँछु, बढाउँछु तरपनि सुख्खा, रूखो, भिरालो, ओसिलो, चिम्ट्याइलो धर्ती आदि नामले गाली गर्न पछि पर्दैनन् । त्यतिमात्रै हो र ? सबको दौड आकाश जस्तै बन्ने रे ! अनि दुःख लाग्दैन त?’’ धर्ती सुस्तरी बोल्यो ।
“अः तिमीलाई दुःख लागेको कारण त एक्लो वृहस्पति भएँ भन्नेमा पो रहेछ । तिम्रो खुसीका लागि कहिले घाम, कहिले पानी त, कहिले बादल भएर टप्किन्छु । तिम्रो कोमल शरीर स्पर्श गर्न म कति आतुर छु । तिमीले कहिले कल्पना गरेकी छ्यौ?
तिम्रै स्पर्शका हेतु म हावा बनेर आउँछु । जहाँसम्म म आएको कुरा कसैलाई थाहै नहोस् ।’’ आकाशका कुराले धर्तीका आँसु आए । धर्तीले आकाश बोध गरेर हावालाई च्याप्प अंगालो हाल्यो ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment