Thursday, January 4, 2024

अन्तर्वार्ता (अङ्क ८ मा प्रकाशित)

*********************************** 
इलामको देउमाइ नगरपालिका–  ७ सिद्धि थुम्कामा वि.सं. २०२१ साउन २१ गते साहित्यकार कोषबल्लभ रेग्मीको जन्म भएको हो ।

लघुकथा, कविता र गजलको साधनामा रम्ने रेग्मीको लघुकथामा विशेष रुची र दखल रहेको पाइन्छ । उहाँको प्रथम प्रकाशित रचना भने चियाबारी दैनिकमा ‘श्राद्ध‘ लघुकथा हो । त्यसै गरी विभिन्न समयमा सम्पादित र सङ्कलित भएर प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू जस्तै ः लघुकथाको सुगन्ध (तीनवटै अङ्कमा), लघुकथाको सुगन्ध स्मारिकामा समावेश लघुकथाहरू, मदुस लघुकथा सङ्ग्रह, हाम्रो लघुकथा पाठशाला तथा सौन्दर्यमा आमा सङ्ग्रह तथा अन्य विभिन्न पत्रपत्रिकामा प्रकाशित थुप्रै लघुकथा, कविता र गजलहरू प्रकाशित भएका छन् । उहाँको लघुकथा पाठ्यपुस्तकमा समेत समावेश भएर आएको देखिन्छ । 

आजको बसाइमा यस स्तम्भका स्तम्भकार गोमविक्रमले लघुकथामा केन्द्रित भएर गर्नु भएको कुराकानी यसप्रकार रहेको छ ।

                                                                                      ***********************************

गोमविक्रम:  लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? उत्कृष्ट लघुकथा हुन के–कस्ता गुणहरू हुनुपर्ला ?

कोषबल्लभ: मानव समाजमा हुने सबै प्रकारका चरित्रहरूको थोरै पात्र र शब्दहरूमा मीठो सरल र रोचक ढङ्गबाट धेरै कुराको चरित्र चित्रण हुनु नै लघुकथा हो जस्तो लाग्छ ।

गोमविक्रम:  लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न कसरी सकिएला ?

कोषबल्लभ:  लघुकथा लेखनमा पहिलादेखि नै अलि चासो राख्थेँ । पछि कथा÷लघुकथा समूहहरू खुलेपछि विज्ञका लघुकथा पढ्ने अवसर मिल्यो । लघुकथालाई पाठकले सटिक समयमा पढ्ने र मन पराउने भएको हुँदा म यो विधाप्रति क्रमशः आकर्षित भएँ । साथै सटिक शब्दमा नयाँ ढङ्गले समाजमा घट्ने सकारात्मक÷नकारात्मक चरित्रको चोटिलो प्रस्तुति भएमा यो पाठकका लागि बढी आकर्षित विषय बन्न सक्छ ।

गोमविक्रम:  अहिले लेखिएका / छापिएका लघुकथाहरूको कमजोर पक्ष अथवा लघुकथाका चुनौतीहरू ?

कोषबल्लभ:  लेख्दैमा सबै कथा लघुकथा बन्ने होइनन् । हचुवाका भरमा तथा नियम नबुझी लघुकथा विधा विपरित लेख्नु तथा सिमित नियममा रहेर थोरै शब्द÷वाक्यमा सक्नुपर्ने वाध्यता यसका कमजोर पक्ष हुन् भने यसबाट समाजमा कुनै बेला कथाको प्रस्तुतिले पर्न सक्ने नकारात्मक असरहरू यसका चुनौती हुन सक्छन् ।

गोमविक्रम:   नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पु-याउन के गर्न सकिएला ?

कोषबल्लभ:  पाठकले लामा कथा पढ्न समय लाग्ने तर लघुकथा थोरै समयमा पढ्न र बुझ्न सक्ने भएको हुँदा यो विधा उत्तम देखिन्छ । तथापि पुस्तक प्रकाशन गरेर बजारमा बिक्री हुन ज्यादै कठिन छ । यसलाई विद्युतिय नेटवर्कको सहायताले विश्वसामु पु-याउन भने केही सहज भएको देखिन्छ ।

गोमविक्रम:  तपाईं आफूलाई स्मरणीय लागेको लघुकथा आफ्नो वा अरुको सङ्ग्रहको नाम र कारणबारे बताइदिनसक्नु हुन्छ कि ?

कोषबल्लभ:  केही लघुकथा आफ्नो जीवनमा पनि प्रभाव पार्नसक्ने प्रकृतिका हुन्छन् । आफ्नै लघुकथा भन्नुपर्दा “तर्पण“ र अरुको लघुकथामा भन्नुपर्दा कमल पौडेलको “पर्दाफास“ लघुकथा मलाई स्मरणीय लाग्दछ । त्यसको पनि कारण छ जस्तो कि तर्पणमा आमाको माया र आवश्यकता जति साथमा हुँदा हुन्छ त्योभन्दा बढी साथ छुटेपछि हुन्छ भन्ने हो भने पर्दाफास लघुकथामा बिहे हुँदै गरेकी छोरीको अन्तरभाव, अन्माउने बेलाको बाबुको हालत तथा छोरीले माइत छाड्नु पर्ने कुराको रहस्यको गज्जबले पर्दाफास गरिएका कारण मन पर्दछ ।

गोमविक्रम:  दिवंगत लघुकथाकारहरूमध्ये नाम लिनु परे क–कसको लिनु हुन्छ ?

कोषबल्लभ:  दिवंगत लघुकथाकार सम्झनु पर्दा पूर्णप्रसाद ब्राह्मण (दवाडी) को ’झिल्का’ र इलामकी उदियमान लघुकथाकार हेमलता उप्रेतीको ’कमलको फूल’ मा प्रकाशित केही लघुकथाहरू लिन सकिन्छ ।

गोमविक्रम:  लघुकथाको उन्नयनका निमित्त पत्र–पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ?

कोषबल्लभ:  लघुकथा उन्नयनका लागि पत्रपत्रिका सामाजिक सञ्जाल मिडियाहरूको ठूलो भूमिका रहन्छ यिनैका कारण लघुकथाले अहिलेभन्दा बढी विश्वव्यापी लोकप्रियता हासिल गर्न सक्दछ । 

तर यो सकारात्मक र उचित रुपमा पक्षपातरहित बन्नुपर्छ । तपाईंको लघुकथा संसार मार्फत् मलाई पनि लघुकथा सम्बन्धी छोटो विचार राख्ने मौका दिनुभएकोमा धन्यवाद ।

No comments:

Post a Comment