Thursday, January 4, 2024

लेख (अङ्क ८ मा प्रकाशित)

लघुकथा एक परिचर्चा

-बिपुल सिजापति

फिस्टो निक्कै सानो हुन्छ तर सानो हुनु त्यसको दुर्भाग्य हैन, फिस्टो जीवित र सम्पूर्ण हुन्छ । तात्पर्य के भने जगतमा विद्यमान हरेक वस्तु या प्राणी आ–आफ्नै रुपमा महान् छन् महत्वपूर्ण छन्, तिनका रुप या आकार, अथवा लघुता या दीर्घता मापक हुँदै होइनन्, निहित गुण र उपयोगिताका नजरले कसी लगाइन्छ । यसका अतिरिक्त साहित्यमा प्रकार तय भए पश्चात् त्यसको आकार निश्चित् हुन आउँछ । कुनै रचनाको प्रकारको रहस्य त त्यसको नाभिमा निहित र सुरक्षित हुन्छ तर आकार तरल मानसिक अस्थिरता भएकोले यसको आयतन नाप्न सकिए पनि आकार नाप्न भने सकिंदैन । लघुकथा पनि यस सिद्धान्तबाट अछुत छैन । विभिन्न विद्वानहरुको तर्कहरुबाट मध्यमार्ग या मिडियम निकाल्ने हो भने ३०० देखि ४०० शब्दहरूको मापन नै लघुकथाको आकार भन्न सकिन्छ ।

शान्त तलाउबाट लहर निस्कदैन । पानीमा केही विचलन भएमा मात्र लहरहरु उब्जन्छन् । लघुकथा पनि अस्थिर समाजमा नै अधिक जन्मन्छन् । जहाँ पुरातन सोचहरु काम नलाग्ने हुन्छन्, जहाँ स्थापित मान्यताहरूमा खिया लाग्न थाल्छ र जब नवनिर्माण र नयाँ बाटोको आवश्यकता टड्कारो आवश्यकता पर्दछ, तब लघुकथा जन्मन्छ ।

लेखक समाजको दर्पण हो र साहित्य जीवनको कणकणलाई उजागर गर्ने शब्दहार हो । जब नयाँ उत्पत्ति भएका बिसङ्गतीहरुलाई पुरातन सोचले सम्बोधन गर्न सक्दैन, बाटो देखाउन सक्दैन, तब नयाँ धारणा, नयाँ सोच र नयाँ मार्गदर्शनसहित लघुकथा निस्कन्छ । त्यसैले लेखक समाजको दर्पण हो भन्ने परिभाषामा सीमित भएर समस्या प्रतिबिम्बित गर्ने मात्र नभएर त्यसलाई सम्बोधन गर्दै मार्गदर्शकको भूमिका समेत निर्वाह गर्न सक्षम हुनुपर्दछ । लघुकथा स्वरुपमा लघु भएतापनि यसले बृहत् क्षेत्रलाई सम्बोधन गर्न र जटिल समस्यालाई मार्गनिर्देश गर्न सक्षम भएको कुरा स्रष्टाले बिर्सनु हुन्न ।

सिपिभित्र पसेको बाह्य तत्वलाई समाजमा उब्जिएको बिचलन मानेर यसलाई अनुभूत र आत्मासात् गर्दै यसबाट उब्जने वेदनाको लामो कष्ट सहेपश्चात् विवश भएर लेखिएको लघुकथा मोती समान हुन्छ ।

तर मोतीको रुप धारण गरिसकेको लघुकथालाई बलजफ्ती निकाल्नु पनि यथोचित होइन, बरु यसलाई कुशल शल्यचिकित्सकले झैँ अत्यन्त्य सावधानीका साथ निकाल्नु यथोचित हुन्छ । निस्किए पश्चात् आभा बिहिन हुनु या आभा गुमाउँदै जानुको कुनै अर्थ रहँदैन् । लघुकथा नै मानव सभ्यता र संस्कृतिमा घुलमिल भएर युगान्तसम्म फैलिएर स्थिर हुने साहित्य हो । हामीले अहिलेसम्म सुन्दै आएका र स्मरण भएका रामायणका, महाभारतका तथा अन्य लोक लघुकथाहरु यसका प्रमाण हुन्, जो हजारौँ वर्षदेखि अहिलेसम्म जीवित छन्, मार्गदर्शक छन् र नैतिक ज्ञान दिन सक्षम छन् ।

लघुकथाले अवाक बनाउने मात्र होइन, यसले मोहित पनि बनाउँछ र विवेकको उदय गराएर चेतनाको आकाशलाई उज्यालो पनि बनाउने भएकोले कथामा लघुरुपमा समाहित तर धारिलो विरोध, प्रतिरोध र असत्य माथिको प्रहारको घनत्व ज्यादा महत्वपूर्ण हुन्छ ।

लघुकथाले समाजमा उब्जेका समस्या माथि प्रहार गर्ने हो विश्रृङ्खलतामाथि प्रहार गर्ने हो, समाजको अँध्यारो चिर्न असत्यमाथि प्रहरा गरेर विवेकलाई जगाई चेतना फैलाउन गर्ने हो । त्यसैले लघुकथा सदैव समसामयिक घटनाहरूलाई लिएर समकालीन पाठक या श्रोताको लागि लेखिन्छ, रचिन्छ । लघुकथा समकालमा उब्जिएका समस्यालाई सम्बोधन गर्न र समकालीन समाजलाई बोध गराउने माध्यम भनेको भाषा भएकोले यो धारिलो हुनुपर्दछ । ढुङ्गाको बोधो प्रहारभन्दा घातक धारिलो छेउ बनेर फुटेको टुक्राको हुन्छ जसले गहिरो घाउ बनाउँछ । भाषाले सुशुप्त चेतना जगाउन भित्रैसम्म चिर्नै पर्दछ । त्यसैले प्रयोग गरिने भाषा ढुङ्गा समान नभएर ताछिएको सुन्दर मूर्ति समान हुनुपर्दछ, जसले कथामा परिदृश्यको उपस्थिति गराइदिन्छ, बिसङ्गतिको स्पष्ट चित्रण गरिदिन्छ र सटिक मार्गनिर्देश समेत गर्दछ ।

लघुकथा बाल्मिकिको तत्क्षणको अनुभूतिबाट निस्किएको “मा निषाद्” उद्गार होइन् । लघुकथा समाजमा देखापरेका बिसङ्गती या समस्या स्रष्टालाई अनुभूत भए पश्चात् त्यसमाथि प्रहार गरिने सटिक शब्दवाणहरुको सङ्गालो हो जसले पाठक या श्रोताको अन्तस्करणमा गएर निर्मम प्रहार गर्नुका साथै बिसङ्गती र समस्याको बोध गराएर मार्गप्रशस्ति गरिदिन्छ । अतः लघुकथामा कल्पनात्मकता न्यूनभन्दा न्यून हुन्छ भने यथार्थताको गुञ्जन अधिक हुन्छ ।

लघुकथाको स्वरुप

लघुकथालाई पिनको स्वरूपमा लेख्नु पर्दछ भन्ने मेरो बुझाई छ । भूमिका पिनको टाउको र तत्पश्चात कथा जति तल गयो साँघुरिदै जानुपर्दछ र अन्त्य तिखो र घोच्ने पारेर छोडिदिनु पर्दछ । कथाको सन्देशले घोच्ने बित्तिकै छोडिदिनु पर्छ, रन्थनाई र पीडा पाठकले महसुस गर्ने हो, लेखकले घोचाईपछि खुलासा गरिदिएर महसुस गराउने होइन् । तापनि, सबै लघुकथामा यो कुरा लागु नहुन पनि सक्छ ।

कथातत्व

कथालाई पाँच भागमा विभाजन गरिएको छ । उत्थान, सङ्घर्ष आरोह, चरम, सङ्घर्ष अवरोह र अन्त्य ।

१. पहिलो तत्व हो कथाको उत्थानः कथाको उठान चुस्त आकर्षक हुनै पर्दछ । कथाको सुरुवाती चार पाँच वाक्य नै पाठकको ध्यान बाँध्ने तत्व हो र यसमा ध्यान खैंचन नसके पाठकले कथा पढ्न छोडिदिन्छ । उत्थानमा सानो भूमिका बाँधिन्छ । जसमा विषय, भाषाशैली, पात्र चयन, अवस्था आदि खुलाइन्छ ।

२. भूमिकाः कथाको उठानमा आवश्यक भूमिका मात्र बाँध्नु पर्दछ । अनावश्यक वाक्य लेखेर पाठकलाई अर्थाइरहनु पर्दैन । आफ्नो लेखाइले नै बोध गराउन सक्नु पर्दछ ।

३. मध्यभाग या गुदीः कथामा व्याख्या गर्नुपर्ने जति कथन यसैमा लेख्नुपर्दछ, लघुकथा भन्ने बित्तिकै छोटामीठा वाक्य हुनुपर्दछ । (लामो कथालाई संक्षेपीकरण गरेझैँ) । यो अवस्थासम्म पनि लेखकले पाठकलाई कथामा बाँध्न सक्नुपर्दछ ।

४. उत्कर्षः यो कथाको अति नै सम्वेदनशील अवस्था हो । यो अवस्थापछि नै कथाको टुङ्गो लाग्ने भएकोले यहाँ लेखिने वाक्य या कथनले महत्वपूर्ण भूमिका खेल्छ ।

५. अन्त्यः उत्कर्षमा गोली चलाइन्छ र त्यसको असर अन्त्यमा देखा पर्छ । बस्, लेखकले आफ्नो कला यहाँनिर प्रदर्शन गर्ने हो कि कथाले दिने सन्देश या असर कस्तो सोचिएको हो त्यो अन्त्यको वाक्यले दिन सफल भयो कि भएन भनेर । प्रख्यात कथाकार ओ. हेनरीका कथाहरूमा पाइने विशेषता यही नै हुन् ।

लघुकथामा अन्त्य

लघुकथामा अन्त्य विभिन्न खालका हुन सक्छन् । कथाको रोचक पाटो भनेको यसको अन्त्य हो । अन्त्य निम्न प्रकारका छन् ।

क) बन्द अन्त्यः यसमा कथालाई निश्चित अन्त्य दिएर बिट मारिन्छ । बन्द अन्त्यमा कथाको सारलाई निचोडेर कथाकारले कथा टुङ्ग्याउँछ । बन्द अन्त्यमा घटनाको अन्त्य हुन्छ र यसले निश्चित लक्ष्य हासिल गरेको देखाइन्छ भने पात्र र चरित्रको अवसान हुन्छ । लघुकथामा बन्द अन्त्य नै अधिक प्रयोग भएको र सान्दर्भिक हुन्छ ।

ख) खुल्ला अन्त्यः यसमा अन्त्यबाट फेरि कथाको उठान गर्न सक्ने सम्भाव्यतासहित अन्त्य गरिन्छ । खुल्ला अन्त्यमा कथाको अन्त्यलाई विभिन्न अन्त्य दिन सक्छ । अर्थात् एउटै कथाको अन्त्यलाई दुईभन्दा बढी अन्त्य दिन पनि सकिन्छ । यसरी एकभन्दा बढी अन्त्य दिएर लेखकले पाठकलाई अन्त्य छनौट गर्ने अवसर दिन्छन् र पाठकले तीमध्ये यो अन्त्य कथालाई सुहाउँदो छ भनेर अनुमान गर्दछन् ।

खुल्ला अन्त्यको नमुना

........ रिसाएर भिरतिर गएकी सुन्तली

१. आँखा चिम्लेर भिरबाट फाल हालि

२. भिरबाट फालहाल्नु अगाडि छोरी सम्झी र फरक्क फर्की

३. जीवनको अन्त्य गर्दैमा समस्याबाट छुटकारा पाइँदैन भन्ने सोच्न थाली । आदि

ग) कौतुहलपूर्ण अन्त्य ः यसमा कथाको अन्त्यपछि के भयो, कसो भयो, कसले ग¥यो होला आदी प्रश्न उब्जाइएर छोडिन्छ । कहिलेकाहीँ कथाकारले कथाको बिट मार्दा अन्त्यलाई खुल्ला छोडिदिन्छन् । यहाँ पाठकले कथाको सार अनुसार आफ्नो कल्पनाले यसो भयो होला भनेर लख काढ्छन् । कथाको लागि खुल्ला अन्त्य आकर्षक र रमाइलो हुन्छ भने लघुकथामा यसको प्रयोग थोरै गरेको मैले पाएको छु ।

कौतुहलपूर्ण अन्त्यको नमुना

– सिपाहीले बन्दुक घाइते विद्रोहीको हातमा राखिदिएर फरक्क फर्कियो । विद्रोहीले जाँदै गरेको सिपाहीलाई केहीक्षण हे-यो र मुट्ठी कस्यो ।

ढ्याङ.......... त्यसपछि एक गोली चल्यो ।

घ) बहु अन्त्यः यसमा कथाको विभिन्न अन्त्य देखाइन्छ । जस्तोः गोली चल्यो र उसलाई लाग्यो । यो सामान्य अन्त्य भयो भने लेखकले बहु अन्त्यमा त्यसपछिका सम्भाव्य अन्त्यहरु लेखिदिन्छ । जस्तोः तर पनि उक्त गोलीले उसको प्राण गएन । उसले बगेको रगत हेरेर आफ्नो पाप बगेको महसुस ग¥यो ।

यसरी कथाकारले बहु अन्त्यमा चार या पाँच जति पनि अन्त्य दिन सक्दछ ।

कथातत्वको उदाहरणः

लघुकथा – बहाना

१. उत्थान

एक मुष्ठ दशैँ पेश्की र एक महिनाको तलब खल्तीभित्र हाल्दा सिङ्गो आकाश नै खल्तीभित्र हुलेको भान भएकोथ्यो उस्लाई । बस चढेर घर जाने दोबाटोसम्म आइपुग्दा उस्ले दशौँ पटक खल्ती छामेको थियो ।

२. सङ्घर्ष आरम्भ

ऋण नभएको व्यक्ति सबैभन्दा सुखी व्यक्ति हो, उस्ले सम्झ्यो । पाएको मध्ये आधा रकम दोबाटोमै कृष्णे साहुको पसलमा बडो रवाफकासाथ उधारो चुक्ता ग¥यो । डेरा नपुग्दै घरपेटीको घरमा छिरेर चार महिनादेखिको बाँकी डेराभाडा बुझायो । निस्कदा बाँकी रहेको हजारका दुईवटा नोटले उस्लाई गिज्याउन थाल्यो ।

३. चरम

उस्ले छोराछोरीको नयाँ लुगाको माग सम्झ्यो, श्रीमतीको एक जोर फरियाको आवश्यकता सम्झियो, वर्षौंदेखि तलुवा खिइएको आफ्नो जुत्ता हेर्दै लामो सास फेरेर मलिन अनुहार लगाउँदै कोठामा पस्यो ।

४. सङ्घर्ष ह्रास

उस्को अनुहार देखेर श्रीमतीले आत्तिएर सोधी, के भयो ? उसले टोपी फुकालेर त्यसैले निधारको पसिना पुछ्दै,

५. अन्त्य

‘‘अझ मलिन अनुहार लगाउँदै भन्यो, गाउँमा ठूलो बा बित्नु भएछ, हाम्लाई जूठो प¥यो ।

लघुकथा र झिल्को कथाका (फ्ल्यास स्टोरी) केही भेदहरु

१. लघुकथा आकारमा कथाभन्दा सानो हुन्छ । शब्दका आधारमा भन्दा अधिकतम तीन सयदेखि चार सयसम्म शब्द या समयको आधारमा भन्दा एउटा चुरोट या कफी पिउने समयभित्र पढिसकिने हुन्छ ।

२. कथामा प्रस्तुत गरिने कालखण्डभन्दा पनि छोटो कालखण्ड हुन्छ ।

३. कथामाझैँ लामो पृष्ठभूमि हुँदैन ।

४. अधिकतम तीन या सोभन्दा पनि कम पात्र हुन्छन् ।

४. अनावश्यक तर्क र तथ्य हुँदैनन् ।

५. कथामाझैँ यसमा लामा वाक्य हुँदैनन्, अनावश्यक बयान हुँदैनन्, घटना, पात्र र सम्वादले कथा बोल्दछ ।

६. वाचकले (न्यारेटर) को भूमिका न्यून हुन्छ ।

७. कथामाझैं लामो र बोझिलो कथानक हुँदैन ।

८. लघुकथाको प्राण गति भएकोले कथालाई गति दिन छोटा वाक्य गठन हुन्छ ।

९. विषयलाई लिएर कुनै भ्रम हुँदैन र कथाले शीर्षकलाई पुष्टि गर्दछ ।

१०. कथानक वर्णात्मक या विवरणात्मक हुँदैनन् ।

११. सामान्यतया सम्वाद सामान्य भूतकालमा लेखिन्छ, चलचित्रका पटकथा जस्तो लेखिन्नन् ।

१२. लघुकथाको महत्वपूर्ण तत्व भनेको यसको अन्त्य नै हो जहाँ अचुक र असरदार झटका (पन्च) दिइन्छ । पन्चले पाठकको मस्तिष्कमा गहिरो असर पार्दछ, कथाको सन्देशको आयु बढाउँछ र पाठकले कथालाई कालन्तरसम्म सम्झन्छ ।

झिल्को कथा (फ्ल्यास स्टोरी)

शब्द या वाक्यको आधारमा एक या दुई लामा वाक्यमा गठित, अधिकतम ३० सेकेण्डभित्र पढ्न सकिने कथा भन्न सकिन्छ ।

कथाको प्राविधिक पक्षलाई चतुरतापूर्वक वाक्यले नै पुष्टि गर्दछ । कथा या लघुकथामाझैँ पृष्ठभूमिको आवश्यकता पर्दैन् । पृष्ठभूमि, पात्र र घटनालाई पहिलो वाक्यमा नै सूक्ष्म रुपमा दर्शाउँदै दोश्रो वाक्यमा पन्चसहित कथाको अन्त्य गरिन्छ ।

फ्ल्यास स्टोरीका दुई नमुना

मत्स्यन्याय

“के भयो ?“
“कमजोर थिए, लुटिए ।”
“अब !”
“प्रतीक्षामा छु, आफूभन्दा कमजोरको ।“

सदन
सबै ब्वाँसाहरु आपसमा ङयारङयार ङुरङुर गर्दै ओडारभित्र छिरे र चुपचाप मासु खान थाले, मान्छेको ।

वाचक
आख्यानमा कथयिता वा कथावाचक (न्यारेटर) भन्नाले पाठक या श्रोतालाई कथा भनिरहेको व्यक्ति या वाचकलाई जनाउँदछ । अर्को शब्दमा भन्ने हो भने कथालाई वर्णन गर्ने ज्ञातालाई कथावाचक या कथयिता भनिन्छ । कथावाचकले विभिन्न दृष्टिकोणबाट कथा वर्णन गरिरहेको हुन्छ । यस आधारमा भन्दा सामान्यतया तीन दृष्टिबिन्दु प्रयोग गरेर कथा भनिन्छ या लेखिन्छ ।

१. प्रथम पुरुषः यसरी लेखिएका कथाहरूमा वाचक “म“ पात्र भएर आफै कथाको केन्द्रमा बस्दछ र कथा भन्दछ या केन्द्र बाहिर बसेर अन्य पात्रको कथा भनिरहेको हुन्छ । यस दृष्टिबिन्दुबाट कथा लेख्दा वाचकले आफूसँग घटित घटनाको वर्णन गर्नसक्छ, अन्य पात्रका सम्बाद भन्नसक्छ, आफूले सोचेको कुरा भन्न सक्छ तर अन्य पात्रले सोचेको कुरा भने वर्णन गर्न सक्दैन । अर्थात् आफ्नो धारणा र महसुस गरेको कुरा भन्न सक्छ तर अरूले के सोचिरहेको छ भन्ने कुरा भन्न या दर्साउन सक्दैन तर यसो सोच्दै होला भनेर अनुमान भने गर्न सक्छ ।

२. द्वितिय पुरुषः द्वितिय पुरुष दृष्टिबिन्दुबाट लेखिने कथामा “तँ, तिमी, तपाइँ’’ जस्ता सर्वनामको प्रयोग गरेर या आफैलाई सम्बोधन गरेर मात्र पनि कथा लेखिन्छ । यस्ता कथाहरू वर्णनात्मक हुन्छन् र कमै मात्र कथाहरूमा यसको प्रयोग भएको पाइन्छ ।

३. तृतीय पुरुषः यहाँ कथावाचक कथाभित्र हुँदैन र नाम या सर्वनामको प्रयोग गरेर कथा भनिरहेको हुन्छ । यसरी लेखिएको कथामा कथाकारले कथाका सबै पात्रले सोचेको कुरा समेत वर्णन गर्न सक्दछ । यहाँ वाचक कथाको परिधिभन्दा बाहिर हुन्छ । अर्थात् वाचक सर्वज्ञ हुन्छ ।

लेखकले न्यारेटर (कथा वाचक) को बारेमा राम्रो ध्यान दिनु जरुरी छ । लेखकले कथा कसले भनिरहेको छ भन्ने कुरालाई ध्यान दिनु पर्दछ । वाचक म पात्र भएर आफै कथाको केन्द्रमा छ, या केन्द्र बाहिर बसेर अन्य पात्रको कथा भनिरहेछ, या कथाको परिधिभन्दा अलग रहेर बाँकी पात्रका कुरा गरिरहेछ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।

वाचकका भेद

१. वाचक केन्द्रमा भए उसले आफ्नै कथा भनेको हुन्छ ।
२. केन्द्रभित्र भए अरुको कथा भन्छ तर
३. केन्द्र र परिधि बाहिर भए उसले पात्रको मात्र कथा भन्छ ।
४. बुँदा १ र २ मा लेखकले आफ्नो धारणा र महसुस गरेको कुरा भन्न सक्छ तर अरुले के सोचिरहेको छ भन्ने कुरा भन्न या दर्साउन सक्दैन तर बुँदा ३ मा पात्रको हरेक कुरा वर्णन गर्न सक्छ ।

लघुकथाको स्रोत

लघुकथाका मुख्य स्रोत भनेको समाजमा घटेका घटनाहरू, समाजका चरित्रहरू र विचलित समाजबाट उब्जिएका समस्याहरू नै हुन् र यिनैलाई सम्बोधन गरिएर लेखिन्छ । तसर्थ लघुकथामा सत्यताको अंश धेरै हुने र तिनलाई छोटो, सरल र असरदार तरिकाबाट कथामा व्यक्त गर्नुका साथै पाठकका हृदयमा सत्यताको आभास पनि गराउनुपर्ने भएकोले प्रथम या तृतीय पुरुष दृष्टिबिन्दुबाट लेख्दा उपयुक्त हुन्छ ।

भाषा तथा शब्द

कथा लेख्दा भाषा र शब्दावली चयन महत्वपूर्ण कुरा हो । पात्रको अवस्था, उमेर, चरित्र, वातावरण, स्तर, देश र काल अनुसार भाषा या शब्दको चयन गर्नुपर्दछ । भाषा तथा शब्द पात्रले बोल्ने सम्वादमा अझ महत्वपूर्ण हुन्छ । पात्र अनुसार उच्च आदरार्थी, आदरार्थी, मध्यम, निम्न र विदेशी भाषा (अर्थसहित) र शब्दको चयन सुहाउँदो गर्न सक्नु पर्छ । गाउँको साधारण पात्रबाट उच्च आदरार्थी शब्द, भाषा या सम्बाद बोलाइनु गलत हुन्छ भने दरबारका पात्रहरुबाट निम्न भाषा, शब्द र समय असुहाउँदो सम्वाद पनि गलत हुन्छ ।

केही उदाहरणहरू

वैदेशिक भाषा

“हे एमद, दोज्दी ओभदे (ए एमद, यता आऊ) ।”

बोस्नियन आर्मीको विशेष लडाकु दस्ता चर्नि लाबुदोभि (कालो राजहाँस) मुख्यालय परिसरभित्र छिर्ने बित्तिकै एमदलाई कसैले बोलायो । एमदले आवाज आएतिर फर्किएर हे¥यो, रिसेप्सन नजिकै तारिक हातमा एउटा खाम लिएर उसैतर्फ हेर्दै मुस्कुराइरहेको थियो ।

“स्तोसे दोगोदिलो, स्तो ये तामो ? (के भयो, के छ र त्यहाँ ?)”

पात्रको चरित्र अनुसार

“ट्यो घरको फन्टुस म¥यो भन्या, राटि भाट ड्या पनि ख्या न ‘झोक्राको ठ्यो डुरु डिंडा पनि ख्या न, खै के भो के भो ! ट्यो अलछिनि गे डेखी बर्बाड भे रा छ भन्या मास्राव । ट्य मेरो फन्टुस कुकुर पनि मर्य‘ ।” अनि फेरी पोईल गएकी स्वास्नीलाई सराप्न थाल्यो, “बेमान् ‘घर बिगारेर जान हुन्छ नाबालख बच्चा छोरेर ? असट्टी‘, भ्या पनि मास्राव, टेसलाई डेखाउन भ्या नि मेरो छोरालाई टपाइ जस्तै नबनाए ट गु खाउँला ल ।”

अवस्था दर्शाउने निम्न भाषा

“बा ककक, आज पनि पँधेराँ मलाई अलग्गै राखेर भाँडा थाप्न लाए ।” सँगै सुतेको छोराको कुरालाई जुठेले वास्ता गरेन, केवल कपाल सुम्सुमाइ रह्यो ।

“बा ककक, हाम्लाई ईनारबाट पानी झिक्न किन दिँदैनन् ?” यो प्रश्नले पनि छोराको शिरमा सल्बलाइरहेका जुठेका औंला रोकाइ मुख खोलाउन सकेनँ ।

“बा ककक, हाम्रो पानी चल्दैन रे हो ?”

“खै ककक, त्यसै भन्छन्,” बल्ल जुठेको वाक्य खुल्यो ।

“बा, तिमी त सँधै दर्वाराँ सनाई बजाउन जान्छौ, पानी चलाइ माग न ।”

उच्च आदरार्थी

“सरकार जागा भो ?” महारानीले मुनख्खादाख केलाउँदै सोधिन् ।

“छैन महारानी, अरुबेला भए यतिबेला सम्म त जागा भैसकिबक्सिन्थ्यो । कतै गाथमा आराम पो भए न कि !” चमेलीले जवाफ फर्काइ ।

“तेरो बोली शत्रुलाई लागोस्,” महारानीले हत्त न पत्त महाराजको लागि ढाल तेस्र्याइन्, “कामको बोझले गर्दा थाकिबक्सेको मात्र हो ।”

“त्यै त,” बेली ले चेपारे स्वरमा चीप्लो घसी, “यत्रो मुलुकको जिम्मेवारी सम्हालिबशक्सेको छ, जल समेत प्युँन फुर्सद पाईबक्सन्न । म त ज्युनारमा समेत रुचि घटेको देख्छु सरकारको, कविराजलाई बोलाएर देखाउनु पो पर्छ कि !”

देश काल

“ओस्कर रोमियो ‘आक्रमण भै रहेको छ, क्याजुअल्टी तीन घाइते सात‘ उता तर्फ पनि निकै क्षति भएको छ ‘ब्याकअप फोर्सको जरुरी छ ‘ओभर‘

“सेरा नाइन बन्दोबस्तिका सामानको अवस्था ?”

“ओस्कर रोमियो ‘माइक ब्राभो बढीरहेको छ‘ केही थ्रि नट थ्रि राईफल मात्र चलिरहेका छन् ‘गोलीको निकै कमी छ‘ ओभर ।”

कथामा प्रयुक्त भाषा तथा शब्दावलीले घटनाको विवरण दिने मात्र होइन् कथालाई जीवन्त पार्न र पाठकलाई घटनास्थलकै अनुभूति दिन निकै मद्दत गर्दछ ।

लघुकथामा झट्का (पन्च)

कुनै बालकले आगो छुँदा पोलेमा उसले फेरि त्यो वा त्यस्तो कुरा छुँदैन । त्यो पोलाईले उस्को चेतनामा असर गरेको हुन्छ । लघुकथामा पनि यदि कथाको तुराइमा यस्तो झट्का प्रयोग गर्न सकियो भने त्यो दिगो असरदायी हुन्छ । यस्ता झट्काले पाठकको चेतनालाई जागृत गराएर अन्तमा जुन वाक्य या शब्दले झट्कासहित दिएको सन्देश पाठकले कहिल्यै बिर्सदैन् किनभने बालकलाई जस्तै झट्का (पन्च) पाठकको चेतनामा लाग्दछ र झन्झनाहट, असर र कथाको सन्देश जीवनपर्यन्त रहन्छ ।

No comments:

Post a Comment