Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

आवाज

- रञ्जुश्री पराजुली
बाँसबारी, काठमाडौँ, हालः अमेरिका 


"दुई छोरी जन्मिए पछि तेस्रो चाहिँ पक्का पनि छोरा नै हुन्छ" भन्ने ज्योतिषीको भविष्यवाणी कदापि फरक पर्दैन भन्ने विश्वास घरमुली ससुराबाजेलाई छोरा बुहारीको तेस्रो गर्व प्रति विश्वास थियो । अन्धविश्वासी पुरातनवादी उनको सपना पूणर् भएन । बुहारीको तेस्रो सन्तान पनि छोरी नै भयो । उनको परिवार संयुक्त थियो । कान्छो छोराको लगातार दुई छोराहरु जन्मिए । प्राथमिक कक्षा गाउँकै पाठशालामा सकेर उनीहरु ठूलो सहरको ठूलै अङ्ग्रेजी स्कुलमा पढ्छन् । उनीहरुको लागि शहरमा फ्ल्याट भाडामा लिइएको छ । पकाईतुल्याई सरसफाई गर्न गाउँकै चाकर लगेको छ । सहरमा नातिहरु जसोतसो खालान् बिरामी पर्लान् भनेर शुद्ध आफ्नै गाउँको खेतीको अन्नपात, तरकारी पठाउँछन् । जेठो छोराकी जेठी छोरी सीता ती नातिहरुभन्दा जेठी भएर पनि उनी गाउँकै स्कुल जान्छिन् । “छोरी अर्काको घरजाने जात हो । त्यसैले तिनीहरुलाई पढाउन पनि नपर्ने हो“ तर गाउँको स्कुल निःशुल्क भएकोले उनले सीता र उनकी माइली बैनीलाई पढ्न छुट दिएका थिए । 

बिहे नगरेकी नातिनीले भान्छा छुन हुन्न थियो । महिनावारी भएको बेला पुरुषहरुको अगाडि देखा पर्न हुन्न थियो । गाईको दूध, दही, मही, घ्यू केही खान दिइँदैन थियो । सीतालाई पहिलो पल्ट महिनावारी हुँदा छाउगोठमा बस्नु पर्‍यो । छाउगोठ घरभन्दा दुई बारीपाटा तल बासँले छेका घेरेर बनाएको कच्ची छाप्रो थियो । सीता पछि गाउँले काकाकी छोरीलाई पहिलो पटक महिनावारी हुँदा त्यहीँ राखेको थियो । राती कुन बेला चितुवाले लछारेर लगेछ फेला परेन । सीता पन्ध्र वर्षकी भइसकेकी थिई । उसलाई कुनै पुरुष वर्गसँग पनि कुरा गर्न छुट थिएन । स्कुल जाने बेला हजुरबा सधैं “तैंले कुनै केटासँग कुरा गरेको पत्ता लाग्यो भने भोलि पल्टदेखि पढ्न जान बन्द है’’ भनेर धमक्याउँथे । 

एक दिन “आजदेखि तँ पढ्न जान पाउँदिनस् । तँलाई हेर्न आज हामीले खोजेको एउटा पण्डितको छोरो परिवार सहित आउँदैछन् । तँ कुर्थासुर्था होइन । आमाको सारी लगाएर निहुरेर केटाको अगाडि आउनु । केही नबोल्नु चुप लाग्नु । तेरो बिहे त्यही केटोसँग हुन्छ । तैंले नाँई भन्न पाउँदिनस्“ भने । सधैं भरी हजुरबुबाले जे भन्यो त्यही चुप लागेर सहने सितालाई स्कुलमा नयाँ अएकी गुरुमाको “नारी सशक्तीकरण, नारी अवला होइन सवला हो । विश्वमा महान कार्य गरेर नारी शक्तिको उदाहरण प्रस्तुत गरेका छन्’’ भन्ने पाठ पढाएकी थिइन् । त्यस्को प्रतिछाप सीतामा परेको थियो । हजुरबुबाको आफूमाथिको त्यस्तो नीच दबाब सुने पछि रातो पिरो अनुहार लगाउँदै “म हजुरलाई धेरै सम्मान गर्छु । अहिले सम्म कुनै कुरामा पनि म हजुरको इच्छा विपरित गएकी छैन । तर आज बोल्नसम्म नबोलेको मान्छेसँग म बिहे गर्दिन । पहिले उसँग बोल्छु । चिनाजान गर्छु । चित्त बुझ्यो भने बिहे गर्छु । अब मेरो आवाज रोकिंदैन ।”

No comments:

Post a Comment