Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

यथार्थता

- डा, रवीन्द्र समीर  


राजधानीमा भइरहने गोष्ठीहरूमध्ये एउटा गोष्ठीको विषय थियो- सरकारी डाक्टरले क्लिनिकमा होइन, अस्पतालमा बिरामी जाँच्नुपर्छ । अस्पतालमा निःस्वार्थ सेवा गरेबापत डा. शर्मालाई पुरस्कृत गर्ने कार्यक्रम पनि सोही गोष्ठीमा राखिएको थियो । तसर्थ सबैको ध्यान डा. शर्मामाथि केन्द्रित थियो । डा. शर्माले प्रमुख अतिथिको आसनबाट धाराप्रवाह भाषण गरे- “हो, सरकारी डाक्टरले क्लिनिक खोल्नु हुँदैन, अस्पतालमै बिरामीको इलाज गर्नुपर्छ । सरकारको नुन खाएर प्राइभेट क्लिनिक राख्ने कहाँसम्मको नैतिकता हो ।’’ डा. शर्माले करतल ध्वनिका बीच मन्तव्य सिध्याए ।

गोष्ठीमा धेरै वक्ताहरू भएकाले डा. शर्मा निकै अधीर हुन थाले । उनको अधीरता देखेर सभापति महोदयले सुटुक्क बिन्ती गरे- “डाक्टर साहेबलाई हतार छ कि कसो?’’

डा. शर्माले बिदा लिँदै भने- “नगद पुरस्कारको एकमुस्ट रकम कसैको हात पठाइदिनुहोला । आज चारवटा क्लिनिक भ्याउनु छ। अस्पतालमा हाजिर गरेर क्लिनिक जान्छु ।’’ 

साभारः अर्जुनदृष्टि लघुकथासङ्ग्रहबाट

No comments:

Post a Comment