Wednesday, March 20, 2024

लेख (अङ्क १० मा प्रकाशित)


लघुकथाको परिचय र परिभाषा

परिचय 

साहित्यका मुख्य चार विधा कविता, आख्यान, नाटक र निबन्धमध्ये आख्यानात्मक विधा अन्तर्गत लघुकथा पर्दछ । लोकप्रिय कथा विधाअन्तर्गत रहेको लघुकथाले वर्तमान समयमा राम्रो प्रभाव पारेको पाइन्छ । लघुकथाका सम्बन्धमा विभिन्न विद्वानले विभिन्न धारणा प्रस्तुत गरेका छन् । लघुकथाका बारेमा लक्ष्मण गौतमले ‘लघु छ जुन कथा’ भन्ने विग्रहबाट समास भई निर्माण भएको समस्त शब्द हो भन्दै यसले सानो भन्ने अर्थ बुझाउँदै घटनालाई महत्व प्रदान गर्दछ भन्ने धारणा प्रस्तुत गरेका छन् (गौतम, २०७२ : १९) । आख्यान साहित्यको एक उपविधाका रूपमा रहेको लघुकथा शब्दको निर्माण लघु+कथा मिलेर भएको हो । लघुको अर्थ छोटो र कथाको अर्थ आख्यान भएकाले छोटो आख्यान भएको साहित्यिक रचनालाई लघुकथा भन्न सकिन्छ (ओझा, २०६५ : २०) । तत्सम स्रोतका लघु र कथा जस्ता दुई पदको मेल भई बनेको लघुकथाको शाब्दिक अर्थ छोटो वा सानो भन्ने हो । सानो कथा नै लघुकथा भनिए पनि वास्तविक रूपमा यसको अभिप्राय विशिष्ट प्रकृतिको हुन्छ (निरौला, २०७३ : ७९) । नेपाली साहित्यमा अन्य रचना सरह सशक्त गद्य रचनाभित्र पर्ने लघुकथा आकारका रूपमा सानो र सूक्ष्म देखिए पनि यसबाट प्राप्त आस्वादन कुनै पनि कथाबाट प्राप्त हुने स्वादभन्दा कम हुँदैन । यसरी कथाको छोटो, सानो वा अंशात्मक रूप मात्र नभई यो संरचनात्मक दृष्टिले पूणर् भएको उपविधा हो । लघुकथालाई नेपाली कथा साहित्यको एक उपविधाका रूपमा लिन सकिन्छ । अङ्ग्रेजीमा यसलाई सर्ट स्टोरी र हिन्दी साहित्यमा कहानी भनिने लघुकथा आख्यानात्मक विशेषतामा आधारित रहेकाले नेपालीमा यसलाई लघुकथा भनिन्छ (ओझा, २०६५ : २०) । नेपालीमा लघुकथाका नामले परिचित उपविधालाई अङ्ग्रेजी साहित्यमा सर्टस्टोरी, माइक्रोस्टोरी, माइक्रो फिक्सन आदि नामबाट परिचित गराइएको पाइन्छ । नेपाली, अङ्ग्रेजी र हिन्दी शब्दमा जेसुकै भने पनि कथा भन्ने नै हो । यसको कोशीय अर्थ पनि यही नै हो भन्ने शब्दको तात्पर्यगत अर्थ अभिप्राय पनि यो अर्थभन्दा भिन्न छैन र देखिँदैन (गौतम, २०७२ : १९,२०) । लघुकथा पूर्वीय तथा पाश्चात्य साहित्यका पृष्ठभूमिबाट आएको मानिन्छ । पूर्वीय वैदिक तथा पौराणिक साहित्यमा प्रचलित छोटा सूक्तिमय आख्यानहरू, पाश्चात्य साहित्यका छोटा आकारका नीतिकथा र सूक्तिकथा, बाइबलका आख्यानात्मक सूक्ति, पूर्व र पश्चिमका प्रचलित स-साना लोककथात्मक औपदेशिक कथा आदि लघुकथाका पृष्ठाधार र बीजस्रोतका रूपमा मानिन्छन् । यिनैका आधार भूमिमा वर्तमानको लघुकथा प्रचलित, गतिशील र विकसित भएको छ (गौतम, २०७२ : १६-१७) । पूर्वीय संस्कृत साहित्यका आदिम ग्रन्थदेखि नै लघुकथाका अनेक प्रयोग हुँदै आएका छन् । संस्कृतको प्राचीनतम ग्रन्थ ऋग्वेदका सूक्तिदेखि अर्थवेदका मन्त्र हुँदै उपनिषद् ब्राह्मण ग्रन्थका साथै जातक कथा, पञ्चतन्त्र, हितोपदेश, बेताल पञ्चविंशतिक, सुकसप्तति आदि ग्रन्थहरू लघुकथाका बीज स्रोत भएको भनिन्छ (निरौला, २०७३ : ८०) । समग्रमा लघुकथाको व्युत्पत्ति लघु र कथा दुई शब्दको योगबाट निर्मित समस्त शब्दका रूपमा लिन सकिन्छ । लघुकथाको व्युत्पत्ति जे, जसरी, जुन सन्दर्भमा भए पनि नेपालीमा लघु, सानो वा छोटो आकार प्रकारको एक आख्यानात्मक रचनाका रूपमा हेर्न सकिन्छ । यसको पृष्ठभूमिगत आधारलाई अध्ययन गर्दा मुख्यतः पूर्वीय र पाश्चात्य साहित्यका छोटा वा साना प्रकारका कथा नै यसका बीजविन्दु वा स्रोतका रूपमा रहन गएका छन् ।

परिभाषा

लघुकथा आख्यानको एउटा उपविधा हो । सैद्वान्तिक दृष्टिले साहित्यका प्रमुख चार विधा कविता, आख्यान, नाटक र निबन्ध हुन्छन् । यिनैमध्येको लघुकथा पनि आख्यान मूलविधाको उपविधा कथाअन्तर्गत देखिन्छ । यसलाई आख्यानका उपन्यास, कथा र लघुकथाजस्ता तीन प्रभेदमध्ये लघुतमरूप मानिन्छ । कुनै एक किसिमको रचनाप्रकारले उपविधागत वा प्रविधागत स्वायत्ततामा पनि विशिष्ट किसिमले विकास गरेको हुन्छ भन्ने कुरा लघुकथाबाट स्पष्ट हुन्छ । लघु र कथा शब्दको समस्त योगबाट बनेको लघुकथालाई चिनाउन अङ्ग्रेजीमा सर्टस्टोरी, माइक्रोस्टोरी जस्ता शब्द प्रचलित छन् । आख्यानात्मक विधाअन्तर्गत पर्ने लघुकथा कथाको छोटो वा सानो रूपमा आएको पाइन्छ । यो उपन्यासको छोटो रूप कथा भनेजस्तो र कथाको छोटो रूप लघुकथा भने होइन । यी आख्यानात्मक विधाका फरक रचनातत्व रहेका छन् जसले ती विधाको आफ्नै पहिचानगत स्वरूप प्राप्त गरेका छन् । लघुकथा आकार र प्रकारका हिसाबले मात्र हैन उपन्यास र कथा विधाभन्दा भिन्न अस्तित्व बोकेको आख्यानात्मक विधा हो । यसको विकास समय र समाजको व्यस्त जीवनले पारेको प्रभाव स्वरूप भएको मानिन्छ । यस्तो छोटो स्वरूपमा संरचित लघुकथाले छोटो समयभित्रै पाठकको मस्तिष्कमा प्रवेश गरी साहित्यको स्वाद प्रदान गर्दछ र आनन्दित तुल्याउँछ । लघुकथाको चर्चा सन् १९५० को दशकतिर पाश्चात्य साहित्यमा हुन थालेको देखिन्छ भने यसको वास्तविक अवधारणाको खोजी सन् १९८० को दशकपछि अङ्ग्रेजी साहित्यमा भयो । जसको प्रभाव हिन्दी र नेपाली साहित्यमा पनि पर्‍यो । हिन्दी र नेपाली साहित्यमा पनि लघुकथा सम्बन्धी विभिन्न चिन्तन र लेखन कार्य हुँदै आएको देखिन्छ । लघुकथालाई चिनाउने क्रममा पाश्चात्य तथा पूर्वीय साहित्यका विभिन्न विद्वानले व्यक्त गरेका धारणा वा विचारलाई निम्नानुसार प्रस्तुत गरिन्छ : 



*   आख्यानको लघुतम प्रभेद नै लघुकथा हो । -एडगर एलेन पो
*    एक पृष्ठको आयाममा विस्तारित, दुई सय पचास शब्दभित्रको छोटो आख्यान नै लघुकथा हो । -रोनाल्ड वालेस  
*    चातुर्यपूणर् तरिकाले समापन गरिएको छोटो कथा नै लघुकथा हो र यो अति छोटो आख्यान हो । -एच्. ई. प्रान्सिस    
*   अति घनीभूत किसिमले खाँदिएको कविताजस्तै अकस्मात् रहस्योद्घाटन गराउने एउटा घटनामा सीमित र साङ्केतिक छोटो कथालाई लघुकथा भनिन्छ ।             -इर्भिङ हान  
*    एक मिनेटका कथालाई लघुकथा भनिन्छ । -आर होगार्ड
*    कम्तीमा दुईवटा यथार्थ वा कल्पित स्वतन्त्र घटना अथवा स्थितिले कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यानलाई लघुकथा भनिन्छ ।
       -मोहनराज शर्मा  
*    क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुनसक्ने भित्री अणु सामथ्र्य भएको छोटो कथा नै लघुकथा हो । -दयाराम श्रेष्ठ  
*    आफैँमा स्वतन्त्र, निरपेक्ष, पूणर् अस्तित्वबोधक लघुकथा कथाको प्रविधा हो । -राजेन्द्र सुवेदी
*    ‘सूत्रात्मक, छोटोछरितो, साङ्केतिक, तीव्रता भएको स्वयम्मा पूणर् सघन र दुई सय पचास शब्दसम्मको आयाममा विस्तारित तथा आख्यानको लघुतम प्रभेद वा रूपलाई लघुकथा भनिन्छ । -लक्ष्मणप्रसाद गौतम

माथि प्रस्तुत गरिएका विभिन्न परिभाषाले प्रस्तुत गरेका विचार वा धारणा अनुसार लघुकथा आयमगत हिसाबले छोटो वा सङ्क्षिप्त आयाम भएको, एउटा मात्र घटनामा सीमित र साङ्केतिक, छोटो समयमा अध्ययन गर्न सकिने, परिवेशलाई भन्दा घटनालाई प्रमुखता दिने, विचारलाई प्रभावकारी ढङ्गले प्रक्षेपण गर्न सक्ने हैसियत बोकेको स्वतन्त्र उपविधा हो । विभिन्न विद्वान्ले लघुकथा सम्बन्धी प्रस्तुत गरेका विचारलाई अध्ययन गर्दा कसैले लघुकथाको संरचनात्मक पक्षलाई, कसैले लघुकथाका विशेषता वा अभिलक्षणलाई, कसैले लघुकथाको आयाम तथा स्वरूपलाई आधार मानेको देखिन्छ । जे जस्तो भए तापनि वर्तमान समयमा लघुकथाले पाठकलाई गहिरो प्रभाव पार्न सक्ने विधाका रूपमा लिन सकिन्छ । साथै, लघुकथामा विचार वा अनुभूतिको खँदिलो स्वरूपले यसको महत्व झनै बढ्न गएको देखिन्छन् । सङ्क्षेपमा भन्नुपर्दा लघुकथा छोटो र सङ्क्षिप्त आकारको हुन्छ । यसको बुनोट छरितो र कसिलो हुन्छ । लघुकथाको विषय वा घटना तीव्र र रोचक हुन्छ । लघुकथामा उत्तरोत्तर पछिल्ला वाक्य उत्कर्ष हुँदै पाठकलाई मुक्तकीय झट्का दिन्छ र अन्तमा एउटा तीव्र प्रभाव छोडेर जान्छ । लघुकथाको प्रभाव वा असर सुरुमा सूक्ष्म लागे पनि विचार गर्दै जाँदा झन्झन् गहन लाग्दै जान्छन् (नेपाली विकिपिडिया) । माथि प्रस्तुत गरिएका विभिन्न अभिलक्षणले लघुकथाको मानक रूपलाई प्रस्तुत गरेका छन् । लघुकथाको स्वरूप र आयाम छरितो हुने भएकाले कथावस्तु पनि छोटो र रैखिक ढाँचामा आबद्ध हुन्छ । यसले अनुभूतिको तीव्रतालाई आत्मसात् गरेको हुन्छ । त्यस्तै लघुकथामा आएको अन्तिम वाक्यले विचार वाक्यका रूपमा आएर कुनै विचारलाई समर्थन वा विरोधात्मक अभिव्यक्ति प्रस्तुत गरेको हुन्छ ।




No comments:

Post a Comment