Wednesday, March 20, 2024

अन्तर्वार्ता (अङ्क १० मा प्रकाशित)

 **********************

साहित्यकार श्रीप्रसाद पोखरेलको जन्म इटहरीमा वि.सं. २०१६ श्रावण १२ मा भएको हो । इटहरीमै बाल्यकाल बिताउनु भएका उहाँले अध्ययन र राजनीतिक कामको सिलसिलामा २०३८ सालदेखि ०५२ साल श्रावणसम्म काठमाडौंमा बिताउनु भएको छ । वि.सं. २०५२ देखि जन्मस्थान इटहरी बस्नुहुन्छ । अध्ययनको प्रसङ्गमा कुरा गर्दा उहाँले जनता माध्यमिक विद्यालय, इटहरी, महेन्द्र बहुमुखी क्याम्पस, बिराटनगर हुँदै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकसम्मको योग्यता हासिल गर्नु भएको छ । मासिक साहित्यिक पत्रिका सङ्गम अभियानमा 'क्षमता’ शीर्षकको लघुकथा प्रकाशित गरेर साहित्यमा प्रवेश गर्नु भएको उहाँको लघुकथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । लघुकथा संसारका अन्तर्वार्ता स्तम्भकार गोमविक्रमले लघुकथाको विषयमा केन्द्रित रही उहाँसँग गर्नु भएको कुराकानीको सार यसप्रकार रहेको छ :

**********************

 

 गोमविक्रम  :  लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ?

श्रीप्रसाद :  लघुकथालाई बुझ्न हिजोआज गाह्रो हुन थालेको छ । अग्रज लघुकथाकारहरूले लेखिएका लघुकथालाई हेर्ने हो भने ती कथाहरू 'छोटा कथा’ जस्ता लाग्दछन् । हाल आएर लेखिएका केही लघुकथा 'मुक्तक’ जस्ता पनि छन् । लघुकथालाई विषय बनाएर यसैमा अनुसन्धान गर्ने र शोधपत्र तयार गर्ने विद्धानहरूले लघुकथाका केही मानकहरू बताउनुहुन्छ ।

कथा, उपन्यासभन्दा फरक स्वाद भएको सबै स्वादले पूर्ण भएको थोरै समयमा पढेर ज्ञान र मनोरञ्जन प्राप्त गर्न सकिने आख्यान विधा नै लघुकथा हो ।
"मलाई यस्तो लाग्छ, आकर्षक तर सानो फूलबारी, लिपपोत गरिएको सफा आँगन भएको चिटिक्क परेको सानो घर हो जुन घर हेर्दा शरीरका सबै अङ्गहरू उत्तेजित हुन्छन् । अझ अर्को शब्दमा भन्दा लघुकथा चौतारामा बसेकी सोह्र वर्षे सुन्दर युवती हुन् उनलाई हेर्न मानिसहरू पटक पटक त्यो बाटो निहुँ बनाएर हिँड्ने गर्छन् ।"

गोमविक्रम  : उत्कृष्ट लघुकथा हुन के-कस्ता गुणहरू हुनुपर्ला ?

श्रीप्रसाद :  मेरो विचारमा लघुकथा उत्कृष्ट हुनलाई केही फरक स्वाद हुन आवश्यक छ । जस्तै- कथाको सुरुवात कौतूहलपूर्ण हुनुपर्छ । कथाको विस्तार सिलसिलेवार हुनुपर्छ । चाखिलो तर छोटो सम्वाद र कथासार सहितको चोटिलो अन्त्य भएको हुनुपर्छ । बिम्बको प्रयोग, व्यङ्ग्य मिश्रित, सलल बगेको, साधारण पाठकले पनि बुझ्नसक्ने, झर्रो शब्दहरूको प्रयोग आदि भए लघुकथा अझ उत्कृष्ट हुन्छ भन्ने मेरो ठम्याइ छ ।


गोमविक्रम  : लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अरुलाई आकर्षित गर्न कसरी सकिएला ?

श्रीप्रसाद :  २०६३ देखि काठमाडौंको डिल्लीबजारस्थित हाइडल प्रेसमा म व्यवस्थापकको रुपमा कार्यरत थिएँ । २०६५ को जेठतिर हुनुपर्छ, सुमन सौरभ नाम गरेका एक जना साहित्यकार किताब छपाउन आउनुभयो । उहाँको “पराई विचार“ नामक लघुकथा सङ्ग्रह छाप्ने जिम्मा दिएर जानुभयो । मैले धेरै मेहनतका साथ त्यो सङ्ग्रह छाप्न तयार गर्दै प्रूफमै पढ्न थालेँ । यो पुस्तक पढ्नुभन्दा अगाडि पनि म कथा त लेख्थेँ तर “पराई विचार’’ पढे पछि म धेरै प्रभावित भएँ र आफ्ना कथाहरूलाई परिवर्तन गर्न लागेँ । मलाई लघुकथामा बढी आकर्षित गर्ने काम सुमन सौरभको “पराई विचार’’ले गरेको हो ।

जहाँसम्म अरुलाई आकर्षित गर्न लघुकथालाई खिपेर लेख्ने, कथावस्तु नयाँनयाँ खोज गरेर, स्तरीय कथा लेखेमा आकर्षित गर्न सकिन्छ भन्ने लाग्दछ ।

गोमविक्रम  : अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू के-के होलान् जस्तो लाग्छ  ?

श्रीप्रसाद :
  लघुकथाका पाठक र कथाकार सराबरी छन् जस्तो लाग्छ । अझ लघुकथाको लेखनमा त बाढी नै आएको छ । दैनिक, साप्ताहिक र मासिक पत्रिकाका हरेक अङ्कहरूमा लघुकथा छापिएका हुन्छन् । मोबाइलका पानाहरूमा प्रशस्तै लघुकथा पढ्न पाइन्छ । त्यति मात्र होइन, लघुकथाका अनुरागीहरूले फेसबुकमा चलाइएको लघुकथा वाचन र विश्लेषणले त साहित्यको क्षेत्रमा अब उपन्यास, कथा, कविताभन्दा लघुकथा नै लेखक र पाठकले रूचाए जस्तो लाग्छ ।

लघुकथाको मानक आधार भर्खर बन्दै गरेको अवस्था छ । सर्वस्वीकार्य मानक छैन । विश्लेषकले अरूका लघुकथामा गरेको विश्लेषणमा तत्वको आधार देखाएर धेरै रातो मसी लगाउँछन् । उनीहरूका लघुकथा पढ्दा यी तत्वहरूकै कमी भेटिन्छ । नवसर्जकले प्रश्न उठाउँदा यो प्रयोग हो भन्ने जवाफ आउँछ । लघुकथाको क्षेत्रमा देखिएको यो ठूलो चुनौती हो ।

गोमविक्रम  :   नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ?

श्रीप्रसाद :
  मैले माथि नै भनिसकेको छु । सामाजिक सञ्जालले तुरून्तका तुरून्त सर्जकका सिर्जना विश्वसम्म पुगिसकेको हुन्छ । पत्र-पत्रिकाले पनि आफ्ना प्रकाशनलाई 'नेट’का माध्यमबाट तुरून्तै विश्व सामु पुर्‍याइरहेको छ । रेडियो टि.भी. ले पनि यसरी नै सञ्जालमा जोडेको कारण चाहेको समयमा दर्शक, पाठकले हेर्नसक्ने सरल अवस्था भएको कारण मलाई विश्वसाहित्य बजारमा समस्या छ जस्तो लाग्दैन ।

यसैगरी स्रष्टाहरूले निरन्तर गरेको लघुकथाको प्रकाशन, विमोचन र लघुकथामाथिको परिचर्चाले त अझ उत्साहित बनाएको अवस्था महसुस गरेको छु ।

बरू नेपाली भाषालाई भने सङ्कट पर्दै गइरहेको महसुस गरेको छु । किनभने सर्जकले नेपाली भाषामा सिर्जना गरेका रचनाहरूमा प्रशस्त मात्रामा अङ्ग्रेजी शब्दहरू प्रयोग गरेको पाइन्छ । नेपाली भाषामा नभएका शब्दहरूलाई प्रयोग गर्नु त ठिकै हो तर नेपाली भाषामा भएका चलन चल्तीका शब्दहरूलाई प्रयोग नगरी अन्य भाषाका शब्दहरूलाई प्रयोग गर्नु नेपाली भाषाको दुर्भाग्य हो भन्ने मेरो विचार रहेको छ । 


गोमविक्रम  : आफ्नो/अरुको सङ्ग्रहको नाम र कारण बताइदिनु हुन्छ कि ?

श्रीप्रसाद :   लघुकथाका सामग्री मसँग धेरै त छैनन् तथापि मलाई सुमन सौरभद्वारा लिखित ’पराई विचार’ लघुकथा सङ्ग्रहका सबै कथा राम्रा लाग्छन् । त्यस सङ्ग्रहमा समेटिएको ’भूमिका’ शीर्षकको कथाले मेरा दैनिक जीवनमा स्पर्श गरिरहेको कारण अझ स्मरणीय भएको छ । आफ्नो कथाहरू सबै मन पर्नु त स्वाभाविक नै होला तर पनि ’मूल्य’ शीर्षकको यो कथा अझ मन परेको कथा हो ।

गोमविक्रम  :  लघुकथाको उन्नयनका निमित्त पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ?

श्रीप्रसाद :  अहिले लघुकथाका पाठक, श्रोता तथा लेखकहरूमा राम्रोसँग चाख बढेको अवस्था छ जस्तो लाग्दछ । पत्र-पत्रिकाहरूले पनि लघुकथालाई राम्रोसँग स्थान दिइरहेको जस्तो लाग्दछ । म सामाजिक सञ्जालमा त बाढी नै आइरहेको महसुस गर्दछु । लघुकथालाई लिएर हाम्रो लघुकथा केन्द्र, नेपाल, लघुकथा प्रतिष्ठान, नेपाल, सिक्किमेली लघुकथा समाज, नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा कुनो, लघुकथा सौन्दर्य आदि लगायतका संघसंस्थाद्वारा सञ्चालित अभियान त लघुकथाको उन्नयनका निमित्त प्रशंसनीय कार्य रहेकोछ ।

अब, विद्यालयस्तरका पाठ्यपुस्तकमा पनि बाललघुकथालाई आख्यान विधा अन्तर्गत अनिवार्य समावेश गरेमा अझ प्रभाव पढ्ने थियो जस्तो लाग्दछ । लघुकथाकारहरूले पनि लघुकथालाई स्तरीय बनाउन अथक प्रयासको खाँचो देख्दछु । साहित्यिक संघसंस्थाहरूले पनि लघुकथा लेखनको कार्यशाला, प्रशिक्षणको तालिम आवश्यक रहेको मलाई महसुस हुन्छ ।

साथसाथै लघुकथाका अग्रजहरूको एउटा वृहत् भेला आयोजना गरेर लघुकथाको सर्वमान्य सिद्धान्त, तत्वहरू र आवश्यक नियमहरू तयार गरे लघुकथा लेखनको राम्रोसँग उन्नयन हुने कुरामा म विश्वस्त छु ।

 

No comments:

Post a Comment