Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 जीवनमुक्त

-पीपी कोइराला
धरान    


एउटा किसानले हिजो मात्रै किनेका नयाँ जोडी गोरुलाई जुवामा नारेर रमाउँदै खेत गयो । तर खेतमा पुग्ने बित्तिकै कैले नामको गोरु थुचुक्क बस्यो ।

किसान रिसायो । उसले करायो । हकार्यो । पुच्छर पनि बटार्‍यो । तर कैलेले टसमस गरेन । किसानको पारो चढ्यो ।

“त्यत्रो ३०/३० हजार हालेर किनेको पड्के’’ भन्दै भएभरको शक्ति लाएर कैले गोरुको ढाडमा लाठी बजार्‍यो ।

उता राते गोरुअघिसम्म यो तमासा टुलुटुलु हेरिरहेको थियो । उसले आफ्नो जोडी साथी (कैले)को यो हालत देख्न सकेन र सिङले उचालेर त्यस किसानलाई उत्तानो पर्ने गरी पछारिदियो । किसान ऐया ऐया गर्दै भुईंमा लडिरह्यो ।

अनि राते गोरुले कैलेलाई सोध्यो, “सञ्च छैन ?’’
कैलेले आँसु झार्दै भन्यो, “सञ्च छ मालिक !’’
रातेले भन्यो, “अनि किन कामै नगरी थुचुक्कै बसिहालेको त ? अनि मलाई मालिक किन भनेको ?’’

कैलेले जवाफ दियो, “अघिल्लो जुनीमा म तपाईंको घरमा नोकर बसेको थिएँ ।’’

राते गोरुले अचम्म मान्दै सोध्यो, “कसरी थाहा पायौ भाइ ?’’
कैलेले खुसी हुँदै भन्यो, “खोइ म त पूर्व जुनीको सबै थाहा पाउँछु त मालिक । हजुर मेरो मालिक हो भनेर जान्दा जान्दै तपाईंको बराबरीमा  कसरी सँगसँगै एउटै जुवामा नारिन सक्छु मालिक ? त्यसैले बसेको ।’’

राते गोरुले सम्झाउन थाल्यो, “भाइ ! मान्छेहरू पो पद, पैसा, प्रतिष्ठाले गर्दा मालिक नोकर हुन्छन । ठूलोसानो हुन्छन् । एकदिन यो जीवनले मुक्ति लिने समय पनि आउँछ । अनि पो थाहा हुँदोरहेछ कि हामी सबै प्राणी समान हौं भनेर । त्यसबेलमा यो पद पैसाको अहँकार सब समाप्त हुन्छ भाइ ।’’ कैलेले सहमतिमा मुन्टो हल्लाउँदै उठ्यो ।

रातेले झुकेर कैलेलाई नमन गर्दै भन्यो, “बरु पूर्व मान्छेको जुनीमा सम्पतिको अहँकारले मालिक भएको नशामा कति पटक तिमीलाई आमा लगाएर गाली गरेँ होला, पिटे पनि होला मलाई माफ गरिदेऊ है भाइ ?’’

No comments:

Post a Comment