प्रश्नचिन्ह
-नन्दलाल आचार्य
एनेलकुटी, सिरहा
"झिनामसिना बहानामा म वचन तोड्न सक्तिनँ ।" राते भालुले पहेंलो भालुलाई भन्यो । रातेको हातमा डाडुपैंन्यु थियोे । ऊ हरियो भालुसँग कुम जोडेर भान्सा पस्किरहेको थियोे ।
"हरियाकै माला जपेर बसिराख तिमी । तिम्रै काँधमा बन्दुक राखेर हरियाले सिकार गरेको कस्तो नदेखेको ?" पहेँलाले उकास्ने प्रयत्न स्वरूप पासो थाप्यो ।
झालेमाले भालुको आड लिएर पहेँलाले रातालाई विश्वासमा लियो । हरियो भालुलाई एक्लो डेढुमा परिणत गर्ने समझदारी भयो । फलतः कालुराज्यको भालु सत्तामा उथलपुथल भयो ।
झालेमालेले भन्यो; "तर कालुहरूले हामीलाई धुलो त चटाउँदैनन् " आशंका मेट्दै पहेँलाले भन्यो; "तिमी बच्चै हौ यस खेलमा । कालुहरू भेंडा हुन् । हामी दक्ष गोठाला हौँ । गोठालाले जे गर्छ भेंडाले प्रतिकार गरेको कहिल्यै सुनेका छौ ?"
"लु त आफ्नो भयो । विश्वले हामीलाई के भन्ला ? यम अदालतको कठघरामा हामीले के जवाफ दिने ?" पहेँलाको बारीमा असन्तोषको बिरुवा रोप्यो रातेले ।
"तिमी असीको, म असीको ! बसिबसी डाडुपैन्युको स्वाद लिऔँ न । लोक र परलोक जस्तो आउला त्यस्तै टर्ला ।" पहेँलाको कुरामा कसैले प्रश्नचिन्ह लगाएन ।
No comments:
Post a Comment