Sunday, March 24, 2024

पुस्तक समीक्षा


'नदीको राजमार्ग'मा सयर गर्दा

लघुुकथाकार दीपक समीपको नदीको राजमार्ग नामक लघुकथासङ्ग्रह तेस्रो कृतिको रुपमा २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका क्रमशः, फूल, सोच, अवस्था, पसिना, सुरक्षा, सङ्घर्ष लगायत विभिन्न शीर्षकका ६६ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६६ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्। यस सङ्ग्रहभित्रको क्रमशः शीर्षकको पहिलो लघुकथामा चौतारीमा सिरसिर हावा चलिरह्यो । मनबहादुर पनि गोठालो आएको थियो । घामले पुर्पुरो सेक्योे भनेर चौतारीमा शीतल बस्न आइपुग्यो भनिएको छ ।  

सोच शीर्षकको लघुकथामा झलक्क हेर्दा ऊ त्यति राम्रो मान्छे त होइन । तैपनि उसले दिनदिनै नयाँ केटीहरु कसरी घुमाउँछ ? म सोच्न थाल्छु भनेर दीपकले लेखेका छन् । अवसर शीर्षकको लघुकथामा ऊ माछा मार्न र पौडी खेल्न खोला, नदी र दहहरुमा जान्थ्यो । म पानीले डुुबाउने डरले किनारमा उभिन्थेँ भनिएको छ । सानो आकार र आयाममा अभिव्यञ्जित जीवनको कुनै एउटा विषय अनुभूति र घटनाको प्रकटित रुप नै लघुकथा हो ।

अलिकति भोगाइ, अलिकति सुनेको अलिकति देखेको घटनाले मनमा जगाएको विभिन्न किसिमका भावनालाई दीपकले अक्षरमा उन्दै गएका छन् । कथाकार दीपकले प्रायः लघुकथामा आकार र प्रभावकारितालाई ध्यान दिएका छन् । उनको विशेषता हो कुनै विषय वा घटना देख्नासाथ त्यसलाई लघुकथाको विषय बनाइहाल्नु । कथाकारले ससाना घटना भोगाइ र सन्दर्भलाई लघुकथामा उतारेका छन् । त्यस्ता विषयलाई उनी सरल र सीधा संरचनामा प्रस्तुत गर्छन् । 

दीपक लघुकथाको साथै मुक्तक र गजल पनि लेख्ने गर्छन् । यसभित्रको मोटर बाटो शीर्षकको लघुकथामा गाउँमा मोटर बाटो बन्ने गाइँगुइँ चल्यो । नभन्दै केही दिनपछि सरकारी सर्भे टिम डोजर लिएर बाटो खन्दै आइपुग्यो । गाउँलेहरु कोही गाउँमा विकास आएकामा खुसी थिएँ । कोही भने आफ्ना जग्गाजमिन बाटामा परेकामा दुःखी थिए । कोही त डोजर चालकसँग झगडा गरिरहेका पनि देखिन्थे ।

यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकारले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूणर्  हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । 

सम्पत्ति शीर्षकको लघुकथामा राममान पैसाका लागि मरिहत्ते गर्थ्यो । ऊ साम, दाम, दण्ड र भेद अपनाएर व्यापार गर्थ्यो । यसो गर्नुका कारण आफ्ना सन्तानलाई कुनै दुुःख अभाव नहोस् भन्ने थियो । मन शीर्षकको लघुकथामा धेरै ठाउँको दौडधुपपछि उसलाई एउटा जागिर मिल्यो । अब उसको दैनिकी डेराबाट कार्यालय र कार्यालयबाट डेरा आउनेजाने भएकोे छ । 

लघुकथा आख्यानको लघुतम वा सूक्ष्म विधा हो । लघुकथा छोटो हुन्छ तर पूणर् हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।

-बूढानीलकण्ठ-४, पासीकोट, काठमाडौँ




No comments:

Post a Comment