Wednesday, March 20, 2024

म किन लेख्छु ? (अङ्क १० मा प्रकाशित)


प्रश्न सामान्यजस्तो लाग्छ । यसको उत्तर दिनलाई दिमाग खियाइरहनु पर्लाजस्तो लाग्दैन । तर यसको गहिराइतिर पस्दै जाँदा ‘म किन लेख्छु ?’ले निकै गम्भीर दार्शनिक अर्थ-अभिप्रायमा पुर्‍याउँछ ।

र, प्रश्न तेस्र्याएजस्तो उत्तरको झटारो हानिहाल्न त्यति सजिलो कदापि छैन । यसैसँग जोडेर अरू प्रश्नले प्रहार गर्दा अनेक तरङ्ग उत्पन्न हुन्छन् । जस्तो कि, लेख्छु, लेख, लेखिराख, लेख्दै गर, किन लेख्ने, के का लागि र कसका निम्ति लेख्ने ? यी आदि प्रश्नको जवाफ दिनलाई पनि सजिलो हुन्छ होला भन्ठान्नु गल्ती नै हुने छ ।

वास्तवमा कुनै पनि प्रश्नको उत्तर दिन हत्तारिनु र सजिलो ठान्नु हुँदैन । ‘तपाईं किन लेख्नुहुन्छ ?’ वा ‘म किन लेख्छु’ को तार्किक निष्कर्ष हचुवाको भरमा निस्किँदैन । यसको उत्तर हल्का ठान्नु पनि हुँदैन ।
मूलतः ‘म किन लेख्छु’ प्रश्नको उत्तर दिन म आफैँ पनि सक्दिनँ । यसको सही जवाफ पनि मसँग छैन । ‘म किन लेख्छु?’ जब कि ‘म किन लेख्छु किन लेख्छु मलाई नै थाहा छैन’ भने उत्तर पनि निरूत्तर हुन्छ ।

कुनै पनि लेखकको दिनचर्या नै लेख्नु हो । लेखनधर्म नै उसको कर्म हो । त्यसैले उसलाई लेख भनिरहनै पर्दैन । नलेख भनेर बन्देज लगाउन पनि सकिँदैन ।

मेरो लेखनले मलाई हरदम लेख्नलाई प्रेरित गरिरहन्छ । म आफैँबाट प्रेरित र प्रभावित छु । मन लेखिकन बस्न सक्दिनँ । पहिले-पहिले नपढी म बस्नै सक्दिनँ थिएँ । हिजोआज नलेखी बस्न सक्दिनँ । लेखन त मेरो श्वास-प्रश्वासजस्तो छ ।

लेखेर म आफैँसँग रमाउँछु । लेखेर म आनन्दित हुन्छु । म कसैको लागि लेख्दिनँ । कसैले भनेर पनि लेख्दिनँ । किनभने म नलेखी रहनै सक्दिनँ ।
लेखेर मैले कसैलाई चिढ्याएको छैन । कसैको खुसी खोजेको र कसैको माया चाहेको छैन । मेरो मनको सन्तुष्टि नै मेरो लेखन कर्म हो । म कसैको लयमा, कसैको प्रवाह र प्रभावमा लेख्दिनँ । देखेको लेख्छु । भोगेको लेख्छु । आफूले हिँडेको दृश्यमाथि लेख्छु । आफूले अनुभव गरेको अनुभूतिलाई अभिव्यक्ति दिन्छु ।

परन्तु किन लेख्छु, के का लागि र किन लेख्छु भन्ने कुरालाई गौण राखेर हेर्दा ‘साँच्चै म किन लेख्छु ?’ म भन्न सक्दिनँ । हुन त लेखेर पनि केही हुने होइन । नलेखेर पनि केही गुम्ने, गुमाउने हुँदैन । यो एक नियमित प्रक्रिया पनि हो लेखनकर्मीका लागि ।

यौटा इमानदार लेखकले सधैँ लेखनमा आफूलाई समर्पित गरेको हुन्छ । लेखकीय मौलिकता स्थापित गर्नु सबैको लक्ष्य हुन्छ । मेरो पनि यही लक्ष्य । म आफ्नो लक्ष्यसम्म पुग्न पनि लेख्छु र लेखिरहन्छु ।

हुन त कसैले म पाठकका लागि लेख्छु पनि भन्लान् । तर म भने स्वान्त सुखाय्, मेरो लेखन कसैका लागि होइन । मेरो लेखन मेरै लागि हो भन्ने मान्यतामा छु । कसैले पढिदिउन भन्दिनँ म । कसैले चर्चा गरिदिउन पनि भन्दिनँ ।

मेरो लेखन कसैले पढिदिएर सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने होइन । मेरो कृति विश्वसाहित्यमा छलाङ मार्न पुग्ने होइन । कसैले नपढिदिएर मलाई केही हुने र नहुने हुँदैन । तथापि लेख्छु आफ्नै खुसीका लागि, आफ्नै सन्तुष्टि र समष्टिका लागि !

यति कुरा लेखिसकेपछि ‘म किन लेख्छु ?’ को उत्तर पाइन्छ होला भन्ने मलाई लाग्छ । 


No comments:

Post a Comment