Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

सासु बुहारी

-नवशिला
नवदेव मार्ग, नेलबारी लालभित्ती, मोरङ 


नमस्कार बविता जी ! के गर्दै हुनुहुन्छ हौ बिहानै?’’ - मैले छत माथिबाटै छिमेकी बविताजीलाई प्रश्न गरे ।

के गर्नु र सर ! यसो मेसिनबाट लुगा झिकेर सुकाउँ भनेको अब त बुढेसकाल लागेछ काम गर्न पनि पो गाह्रो हुन थाल्यो । -बविताले जवाफ दिइन् ।

“हुन त हो क्यारे ! अब पचास टेकेपछि त रोगले पनि च्याप्ने त्यसै त्यसै बुढ्यौली लागे जस्तो पो हुने र छ ।’’ -मैले थपेँ ।

“के गर्ने नविनजी तपाईं कि त छोरी छन् यसो आमालाई कामकाज सघाएको देख्छु । आफ्ना त छोराहरु वरको सिन्को पर सार्दैनन् अफिस जाने बेलासम्म सुत्छन् । सर, पनि बिहानदेखि बेलुकीसम्म व्यस्त बन्नुहुन्छ मलाईनै पो हैरान छ । झन् रिटायर भएपछि त गाह्रो पो हुन थाल्यो अफिस हुदाँ एउटा रुटीन हुन्थ्यो ।’’ -बविताले दुखेसो पोखिन् ।

“अब छोराको बिहे गर्नुपर्‍यो बविताजी अस्ति मोहनजीले पनि केटीको कुरा आ’कोथ्यो भन्दै हुनुहुन्थ्यो । अब उमेर पनि भयो नि ठुलो को त ! जागिर पनि राम्रो छ ।’’ -मैले थपेँ ।

“खै नविनजी बिहे गरेर बुहारी आए पनि छोरी जस्तो हुन्नन् क्यारे ! उहि छोराका धनी हुने त हुन् नि झन् सास्ती पो हुन्छ हामीलाई । अर्काका छोरी आएर के गर्देलान् भनेर आस गर्नु आफ्नै स्याहार गर्दै ठिक्क हुन्छ । त्यही माथि अहिलेका पढेलेखेका जागिरे के को काम गर्छन् र नविनजी ।’’ -बविताले भनिन् ।

“लौ के कुरा गर्नु भा’को बविताजी अहिलेको जमानामा तपाईं हामी जस्ता पढेलेखेका दुनियाँ देखेका मान्छेले पनि यसो सोचेर हुन्छ त? बुहारीलाई पनि त छोरीजस्तै बनाउन सकिन्छ नि !’’ -मैले भने ।

“मैले सकिन्न त कहाँ भनेको हो र नविनजी ! तर हेर्नोस यो सासु बुहारीको जात भनेको जति नै मस्का लगाएपनि पिँध कालो हुने नाता रहेछ । हामी जति जान्ने सुन्ने भएपनि जतिनै समानता र अधिकारका कुरा गरेपनि जति पढालेखा भएपनि एकअर्कामा केही न खोट हुने रहेछ यो नातामा । यही वरिपरि छिमेकमै पनि त देखिएकै छ नि नविनजी सासु बुहारीको कहानी । मलाई त सासु बुहारी भन्ने नाता कहिल्यै नमिल्नु है भनेर भगवान् कै पालामा बनेको नियम हो कि जस्तो लाग्छ ।’’ - म उनको कुरा सुनेर हासेँ ।

“ओहो नविनजी म त तरकारी बसाएर पो आ’को थिएँ लौ डढेको गन्ध आयो लु म त झरे है ।’’ बविताजी हतारिँदै भान्सातिर झरिन् ।



No comments:

Post a Comment