Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

 फ्रक

-गिरिराज डल्लाकोटी 



मैले उसको बुबालाई भेटेको बेला भनेको थिएँ- “सविताको लागि फ्रक किनिदिनुस है !’’ सवितालाई त मैले धेरैपटक भनिसकेको थिएँ बुबालाई नयाँ फ्रक किन्न लगाउनू भनेर ।

चिप्लेटी खेल्दाखेल्दै सविताको फ्रक फाटिसकेको थियो । हिँड्दा र निहुँरिदा पनि उसको फ्रकको पछिल्लो भागबाट बेलाबेला अन्तर्वस्त्र देखिन्थ्यो । तर उसले त्यसको हेक्का पटक्कै राख्दिनथी । नफाटोस् पनि किन, साह्रै चकचके केटी थिई । जता पनि लडीबुडी गर्थी, भुइँमा पनि घिस्रिरहन्थी । स्कुलबाट घर फर्किने बेलामा उसको फ्रक मैलो न मैलो भइसकेको हुन्थ्यो । तर उसकी आमाले सधैं बेलुका धुनुहुँदोरहेछ क्या’रे !  भोलिपल्ट स्कुल आउँदा सफा नै लगाएर आउँथी ।

मैले उसको बुबालाई भनेको ३/४ दिनसम्म पनि उसले त्यही फाटेकै फ्रक लगाएर आइरही । उसको दिनचर्या यथावत् चलिरहेको थियो ।

अर्को आइतवार सवितालाई बाहिर खेलिरहेको देखिनँ । एकैचोटि प्रार्थनाको पङ्क्तिमा देखिई ऊ । म उसको नजिकै गएँ । नयाँ फ्रक लगाएर आएकी रहिछे । तर फ्रक उसको घुँडाभन्दा पनि धेरै तलसम्म लमतन्न थियो । उसले मलाई पुलुक्क हेरी र लमतन्न फ्रकतिर हेरी । सायद उसको मनले भनिरहेको थियो -“हेर्नुस् सर, फ्रक फेरेँ मैले ।’’ तर उसको अनुहारमा नयाँ फ्रक लगाएको बालसुलभ त्यति खुसी थिएन । “बढ्दो उमेरकी छोरीलाई पछिसम्म हुनेगरी त्यस्तो फ्रक सिलाइ दिएका होलान् ।’’ मनमनै सोचेँ ।

त्यसपछि सविता बिस्तारै चकचके केटीबाट शान्त केटीमा परिवर्तित भई । वास्तवमा उसको फ्रक उसका सबै साथीहरूको भन्दा फरक थियो । त्यसले उसलाई मनोवैज्ञानिक र शारीरिकरुपले असजिलो बनाइरहेको थियो ।

अहिले उसले त्यो फ्रक लगाएको चार वर्ष भयो । ऊ हर्लक्क बढिसकेकी छे । फ्रकभन्दा तल उसको सेतो सुडौल तिघ्रा देखिन्छ । ऊ पनि निकै खुसी देखिन्छे । फेरि पहिलेकै जस्तो हाँसखेल गर्न थालेकी छे साथीहरूसँग । पढाएको पनि बुझ्छे अचेल ।

“सविताको फ्रक छोटो भयो, अलि लामो फ्रक सिलाइदिनुस् न !’’ उसको बुबालाई भन्न सकेको छैन ।


No comments:

Post a Comment