Saturday, March 23, 2024

लघुकथा (अङ्क १० मा प्रकाशित)

दृष्टिकोण

-ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती, हालः कपन, काठमाडौँ 



'कस्तो घुरेर हेरेको होला, कहिल्यै केटी देख्न नपाएको जस्तो ! यो केटा मान्छेको जात त, राम्री केटी देख्नै नहुने, क्वाप्लाक्कै खाउँला जस्तो गरी पो हेर्छन् त बा !' करिष्मा भुतभुताउँदै थिइन् ।

करिष्माको किशोरावस्थाको उर्लदो बैंसालु जवानीले गर्दा, जो केही पनि भुतुक्कै हुने खालको रुप थियो उनको । सायद उनी कसैलाई पर्खेर बाटोको छेउमा उभिएकी थिइन् । टाइट जिन्स पाइन्ट, पेन्सिल हिल, रङ्गिन बुट्टे सर्टमा सजिए कि थिइन् उनी । उसैमाथि उनी अनुहारमा आधुनिक मेकअप र हेयर स्टाइलले धपक्कै बलेकी थिइन् । बाटोमा ओहोरदोहोर गर्दा उनलाई एकपटक हेरेर र्‍याल नकाढ्ने कोही पनि थिएनन् ।

आफू नजिकै गाडी कुरेर बसेको साधारण पहिरनको एउटा केटो, करिष्मालाई अघिदेखि हेरेर केही भन्न खोजे झैं गरी रहेको थियो । त्यस केटाको चाला देखेर करिषमाको रिसको पारो चढ्दै थियो । करिष्माको रोषपूणर् अनुहार देखेर केटोले पनि उनीसँग बोल्न हिचकिचाइ रहेको थियो । तर बेलाबेलामा उनलाई हेर्न भने छोडेको थिएन ।

केटाले पटक पटक आफूलाई अनौठो किसिमले हेरिरहेको कुरा करिष्मालाई राम्रैसँग थाहा थियो । बाटोमा हिँडने पुरुषले आफूलाई नजर लगाएको कुराबाट पनि उनी बेखबर थिइनन् । आफू निकै राम्री छु भन्ने कुरालाई पुरुषका यी हेराइहरुले प्रमाणित गरेको ठानेर उनी मनमनै प्रफुल्ल थिइन । तर, एउटा सामान्य पहिरनमा रहेको केटाले घरिघरि हेर्दा भने उनी आफ्नो इज्जत घटेको महसुस गर्दै थिइन् ।

यस पटक केटोले करिष्मालाई केही भन्ने आँटै गरेर बसेको ठाउँबाट जुरुक्क उठ्यो र उनी भएतिर गयो । अघिदेखि आफूलाई बारम्बार हेर्ने र बोल्न खोज्ने केटो नजिकै आएर हेर्न थालेपछि भने उनी झन् आगो भइन् र 'के हेरेको त्यसरी, लाज छैन ? कहीँ नभएको लफङ्गो' भन्दै केटाको गालामा एक चड्कन लगाइन् ।

केटोले आफ्नो गाला सुम्सुम्याउँदै सुस्तरी भन्यो, 'दिदी, तपाईंको पाइन्टको चेन खुल्लै छ, म अघिदेखि त्यही कुरा भन्न खोज्दै थिएँ ।' लाज र पश्चातापले करिष्मा रातो पिरो भइन् ।



No comments:

Post a Comment