Sunday, May 19, 2024

लेख (अङ्क १२ मा प्रकाशित)



नेपाली लघुकथाको विकासक्रम

लघुकथाको विकास र परम्पराका सम्बन्धमा मुख्यतः दुई मत उल्लेख्य रहेका छन् । त्यस्ता मान्यताहरू पूर्वीय र पाश्चात्य रहेका छन् । पूर्वीय वैदिक तथा पौराणिक साहित्यमा प्रचलित छोटा-छोटा सूक्तिमय आख्यानहरू र पाश्चात्य साहित्यका छोटा आकारका एस्सेका नीतिकथा र सूक्तिकथाहरू, बाइबलका आख्यानात्मक सूक्तिहरू, पूर्व र पश्चिममा प्रचलित साना-साना लोककथात्मक र औपदेशिक कथाहरू आदि लघुकथाका सूत्रधार तथा बीजविन्दुका रूपमा रहेका छन् (गौतम, २०७२ : १६-१७) । यिनैका पृष्ठभूमिमा देखिएको लघुकथाको विकास वर्तमान समयसम्म गतिशील अवस्थामा अघि बढ्दै गइरहेको देखिन्छ ।

नेपाली साहित्यका क्षेत्रमा लघुकथा लेखनको प्रारम्भ र विकासको बीजविन्दु पूर्वीय र पाश्चात्य क्षेत्रमा देखिएका कथात्मक रूपले प्रदान गरेका छन् । नेपाली लघुकथाका सन्दर्भमा खोज, अध्ययन र अनुसन्धान कार्य अन्य विधामा जे जति भएका छन्त्यति यसमा हुन सकेको देखिँदैन ।

कथा कथिने परम्पराको इतिहास लामो छ । सम्भवतः मानव जातिको उद्भव र विकासको इतिहास हो । यसरी कथा परम्पराको विस्तार हुँदै आधुनिक कथा हुँदै आजका लघुकथाको रूप विकसित भएको देखिन्छ । भन्न त लघुकथाको जन्म वेदका संवाद, सूक्ति, सूत्र, पञ्चतन्त्र, हितोपदेश, बौद्ध जातकका कथा, जैनका कथाबाट भएको हो भनिँदै आएको छ । जे जसो भनिए तापनि यसको विकास र लोकप्रियता आजको परिवेशकै कारणले भएको हो । मानव जीवन जति अस्तव्यस्त भए तापनि उसले फुर्सद निकालेर रमाउँछ, हाँस्छ र आफ्नो जीवनयापन गर्छ । जुन व्यक्तिले जस्तो जीवन बाँच्छ उसले त्यस्तै संस्कारलाई अंगाल्छ । एउटा रक्सी सेवन गर्ने व्यक्तिले रक्सी खाएर आफ्नो जीवनको फुर्सदिलो समय बिताउँछ । अर्को तास खेल्ने व्यक्तिले फुर्सदिलो समय तास खेलेर समय बिताउँछ । यसरी सबैका मनोरञ्जन गर्ने तरिका पृथक हुन सक्छन् । कोही नाचेर र गाएर मनोरञ्जन गर्छन् । कोही लेखेर र पढेर मनोरञ्जन गर्छन् । कोही खेलकुदका कार्यक्रममा सहभागी भएर, कोही अरूलाई हँसाएर, कोही साहित्य सिर्जना गरेर । यी सबै समयका माग, आवश्यकता र चाहना हुन् । 

यिनै आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एक सचेत सर्जकले विविध विधाका कृति प्रकाशन गरेर आफ्नो मनोञ्जनको माध्यम बनाउन पुग्छन् । आफूलाई सचेत नागरिकका रूपमा चिनाउन पुग्छन् । जसलाई केहीले पेशा भन्न सक्छन् । कोहीले नशा भन्न सक्छन् । कसैले लत या कुलत भन्न सक्छन् । भन्नेले जे भने तापनि सभ्य समाज निर्माणका लागि आम सर्जकले आफ्ना सिर्जनमा सामाजिक यथार्थको चित्रण गर्दछन् । यस प्रकार आजका मान्छेको इच्छा लघुकथातर्फ आकर्षित भएका छन् । किनकि लघुकथाको आकार निश्चय नै छोटो हुन्छ तर लामो कथाको सारांश भने लघुकथा होइन ।

नेपाली लघुकथाको विकासक्रमको चर्चा गर्ने क्रममा गोपाल अश्कले पहिलो चरण (वि.सं. १९९२-२०१९), दोस्रो चरण (वि.सं. २०२०-२०३९) र तेस्रो चरण (वि.सं. २०४० देखि हालसम्म) गरी वर्गीकरण गरेका छन् (अश्क, २०६५ : ५९-७०) । अर्का अध्येता कुमारप्रसाद कोइरालाले पहिलो चरण (वि.सं. २०००-२०१९), दोस्रो चरण (वि.सं.२०२०- २०३९) र तेस्रो चरण (वि.सं. २०४० देखि हालसम्म) गरी तीन चरणमा विभाजन गरेका छन् (कोइराला, २०७२ : १३) । यसैगरी, पुष्करराज भट्टले पृष्ठभूमि चरण र पौराणिक कालदेखि वि.सं. २००६) पहिलो चरण, (वि.सं २००७-२०२९) दोस्रो चरण, (वि.सं. २०३०-२०४५), तेस्रो चरण (वि.सं. २०४६-२०५२) र चौथो चरण (वि.सं. २०५३-हालसम्म) गरी पाँच चरणमा विभाजन गरेका छन् (भट्ट, २०७२ : २६) । लक्ष्मण अर्यालले पृष्ठभूमि चरण (सुरुदेखि २००६), पहिलो चरण (वि.सं. २००७-२०१९), दोस्रो चरण (वि.सं. २०२०-२०४६), र तेस्रो चरण (वि.सं. २०४७-हालसम्म) गरी चार चरणमा विभाजन गरेको पाइन्छ ।

उनले तेस्रो चरणलाई पूर्वार्ध चरण (वि.सं. २०४७-२०५२) र उत्तरार्ध चरण (वि.सं. २०५३-हालसम्म) गरी दुई चरणमा विभाजन गरेका छन् (अर्याल, २०७३ : ८७-८८) । यसैगरी, डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले आधारभूमिको चरण (सुरुदेखि २००६ सम्म), पहिलो चरण (वि.सं. २००७-२०१९), दोस्रो चरण (वि.सं. २०२०-२०३९), तेस्रो चरण (वि.सं. २०४०-२०५२), र चौथो चरण (वि.सं. २०५३ देखि हालसम्म) गरी पाँच चरणमा
विभाजन गरेका छन् (अधिकारी र अन्य, २०६९ : २५३) ।

नेपाली लघुकथाको विकासक्रमका सम्बन्धमा गरिएका प्रस्तुत अध्ययनले एकै प्रकारको मत प्रदान गर्न सकेको देखिँदैन । विकासक्रमका बारेमा अध्ययनकर्ताले भिन्न-भिन्न मत र भिन्न-भिन्न समय विन्दुलाई प्रस्तुत गर्ने काम गरेका छन् । माथि प्रस्तुत गरेका अध्येताको नेपाली लघुकथाको विकास र परम्पराको अध्ययनपश्चात् नेपाली लघुकथाको विकासक्रमलाई पृष्ठभूमि समयसहित निम्नानुसार चार चरणमा वर्गीकरण गर्न सकिन्छ ।

क) पृष्ठभूमिकालीन समय (सुरुदेखि २००६ सम्म)
ख) प्रथम चरण (वि.सं. २००७-२०२९ सम्म)
ग) दोस्रो चरण (वि.सं.२०३०-२०४५ सम्म)
घ) तेस्रो चरण (वि.सं. २०४६-हालसम्म)

पृष्ठभूमिकाल (सुरुदेखि २००६ सम्म)

नेपाली साहित्यका विकास परम्पराको अध्ययन गनुपूर्व पूर्वीय वैदिक तथा
पौराणिक साहित्यमा प्रचलित छोटा-छोटा सूक्तिमय आख्यान र पाश्चात्य साहित्यका छोटा आकारका एस्सेका नीतिकथा र सूक्तिकथा, बाइबलका आख्यानात्मक सूक्ति, पूर्व र पश्चिममा प्रचलित साना-साना लोककथाका सूत्रधार तथा बीजविन्दुका रूपमा रहेका छन् (गौतम, २०७२ ः १६- १७) । यिनै पूर्वीय तथा पश्चिमी साहित्यको प्रभाव हिन्दी तथा नेपाली लघुकथा लेखनमा परेको पाइन्छ । नेपाली लघुकथा लेखनमा पाश्चात्य तथा हिन्दी कथा लेखनको प्रभाव बढी रहेको देखिन्छ भने पूर्वीय साहित्य लेखन परम्परामा लगभग ई.पू. १००० वर्षअघिदेखि लघुकथा लेख्ने परम्परा रहेको पाइन्छ ।

नेपाली साहित्यको विकासको अध्ययन परम्परा हेर्दा जाँदा प्राचीन, धार्मिक एवम् पौराणिक साहित्यको अध्ययनलाई हेर्नुपर्ने हुन्छ । धार्मिक, पौराणिक आख्यानका अनुवाद, पञ्चतन्त्र, हितोपदेशसँग सम्बन्धित अनुवाद, इसपका नीतिकथा जस्ता परम्परित आख्यानक अनुवादले समेत प्रभाव पारेको छ । प्राथमिक तथा माध्यमिककालीन सत्सङ्गको वणर्न भएको कथा, राजा प्रपञ्चकोएउटा किस्सा र मुन्सीका तीन आहानमा लोकतत्वको प्रयोग पाइन्छ (भट्ट, २०७२ ः २६) । यस क्रममा लक्ष्मण गौतमले मुन्सीका तीन आहानमध्ये एक आहानमा लोकतत्व केही कम भएको, सामाजिक तत्वसमेत कम भएकाले वि.सं. १९८०-१९८५ मा कृष्णचन्द्र अर्ज्यालबाट लेखिएको लौकिक न्याय मनिमालाको, ‘खानु त पाँचमुठी बस्नु त नेपाल’ जस्ता २७ वटा लघुकथालाई नेपाली लघुकथाको पृष्ठभूमि मान्नुपर्छ (गौतम, २०६७ : ७) भन्ने धारणा अघि सारेका छन् ।

यसैगरी, अर्का अध्येता लक्ष्मण अर्यालले नेपाली भाषा र साहित्यका सन्दर्भमा जे.ए.एटनले गरेको योगदान पनि महत्वपूणर् मान्न सकिन्छ भन्दै यिनले नेपाली भाषाको संरचनासँग पाठकवर्गलाई परिचित गराउने उद्देश्यले फारसीका एक दोभासे मुन्सीसँग कथांशहरू लिएर अनुवाद गरी तीन आहान आफ्नो ‘अ ग्रामर अफ द नेप्लिज ल्याङ्ग्वेज’ नामक व्याकरण कृतिमा उदृत गरेको (अर्याल, २०७३ : ८९) सन्दर्भ प्रस्तुत गरेका छन् । पृष्ठभूमि चरणमा चर्चा गर्नुपर्ने अर्का लेखक गोपालसिंह नेपाली हुन् । उनी भारतीयभूमिमा बसोबास गर्ने नेपाली साहित्यकार हुन् । यिनको ‘कल्पना’ (१९९२)लाई कविता भनिए पनि यसमा लघुकथात्मक तत्वको उपस्थिति पाइन्छ । हिजो आजका गद्यकविता भन्दा भिन्न, पूणर्तया आख्यान तत्वको उपस्थिति भएकोले यस कृतिलाई पनि नेपाली लघुकथाको आधारभूमि मान्न सकिन्छ । अनुवाद र तिलस्मी लघुकथात्मक स्वरूपका रचनालाई छाड्ने हो भने ‘लौकिक न्याय मणिमाला’ले यस आधारभूमिको चरणका लघुकथाको प्रतिनिधित्व गरेको देखिन्छ (गौतम, अधिकारी, २०६९ : २५४) ।

नेपाली लघुकथाको पृष्ठभूमि चरण लघुकथाका तत्वहरूको उपयोग गरी लेखिएका सशक्त लघुकथाहरूको प्रयोग भूमि होइन । जसको यस पृष्ठभूमि चरणमा चर्चा गरिएको छ । तिनले लघुकथा नै नाम दिएर विधागत प्रस्तुति दिएका थिएनन् । यहाँ उल्लेख गरिएका सर्जक र तिनका लघु सिर्जनामा लघुकथात्मक तत्वको आभाष पाइने हुनाले यी लघुकथाका प्रारम्भिक सिर्जना हुन सक्ने ठानी यिनको चर्चा गरिएको हो । यति बेलाका कथात्मक सिर्जनामा अनुवाद परम्पराको प्रबलता पाइन्छ । नीति र उपदेश दिनु, लोककथात्मक तत्वको उपस्थिति बढी पाइनु, सामाजिक तत्वहरूको उपयोग केही मात्रामा गरिनु, केही मौलिक रचनाको पनि उपस्थिति पाइनु, पृष्ठभूमि चरणका वैशिष्ट्य हुन् । लघुकथामा भाषाको सघन उपस्थिति भएपनि यस चरणमा त्यसको अभाव भएको देखिन्छ (अर्याल, २०७३ : ९०) । आखिर जे भएपनि नेपाली साहित्यका क्षेत्रमा लघुकथा लेखनको प्रारम्भ र विकासको बीज विन्दु पूर्वीय र पाश्चात्य क्षेत्रमा देखिएका कथात्मकरूपले प्रदान गरेका छन् ।

प्रथम चरण (वि.सं. २००७-२०२९ सम्म)
लघुकथा लेखनको पहिलो चरण लघुकथा लेखनमा सचेत प्रयासको थालनी भएको चरण हो । यस चरणका प्रमुख सर्जक पूणर्प्रसाद ब्राह्मण (वि.सं. १९७९-२०४६) हुन् । लघुकथाकार पूणर्प्रसाद ब्राह्मणको २००७ सालमा प्रकाशित ‘झिल्का’ लघुकथा सङ्ग्रहबाट नेपाली लघुकथाको प्रथम चरण सुरु भएको मानिन्छ । समाजमा घटेका र घट्न सक्ने सामाजिक घटनालाई पूणर्प्रसाद ब्राह्मणले २२ वटा छोटा कथाको सङ्कलन झिल्काभित्र समेटेका छन् । लैनसिंह वाङ्देलले जयनारायण गिरीको ‘कसिङ्गर’ (२००८) को लघुकथा सङ्ग्रहको भूमिकामा यसै कृतिलाई नेपाली लघुकथाको प्रथम सङ्गृहीत कृतिका रूपमा मानेका छन् । जयनारायण गिरीभन्दा पहिले पूणर्प्रकाश ब्राह्मणको कृति ‘झिल्का’ प्रकाशित भएको देखिएकाले यो नै आधिकारिक रूपमा पहिलो कृति बनेको छ र यही विन्दु अर्थात् २००७ देखि नेपाली लघुकथा लेखनको सचेत प्रयास भएको मान्न सकिन्छ (अर्याल, २०७३ : ९०) ।

नेपाली लघुकथाको प्रथम चरणको आरम्भ पूणर्प्रकाश ब्राह्मणको ‘झिल्का’ (२००७) नामक कृतिबाट भएको र यसपछि जयनारायण गिरीको ‘कसिङ्गर’ (२००८) पूणर्प्रकाश ब्राह्मणको अर्को कृति ‘म लोग्ने हुँ’ (२००८), शशिकला शर्माको ‘उसको सुरुवात’ (२०१९), विश्वम्भर प्याकुरेलको ‘इन्द्रेणीको गुम्बजभित्र’ (२०१९) जस्ता कृति प्रकाशित भएको देखिन्छ । यसैगरी हरिभक्त कटुवालको सम्पादनमा ‘बान्की’ पत्रिकाको प्रकाशन (२०२८) भएको देखिन्छ । यस पत्रिकामा विभिन्न स्रष्टाका लघुकथालाई समावेश गरिएको (भट्ट, २०७२ : २७) सन्दर्भलाई उल्लेख गरेका छन् ।

यस्तै श्रीओम श्रेष्ठले मधुपर्कमा ‘लघुकथा र यसका प्रकाशन’ शीर्षकको लेखमा नेपाली भाषामा प्रकाशित भएका आरम्भिक लघुकथाहरूको उल्लेख गरेका छन् । २००६ सालमा वनारसबाट प्रकाशित ‘उदय’ पत्रिकामा छोटा कथा नामले फलेन्द्र, नरेन्द्रविक्रम पन्त, वनमालिका तीन कथा प्रकाशित भएका छन् । यस्तै ‘प्रतिभा’ पत्रिका (२००७) मा फणिन्द्रराज खेतालाको ‘रण्डी र चण्डी’ रत्नमणि नेपालको ‘विवाह’ आदि लघुकथा प्रकाशित भएका छन् (श्रेष्ठ, २०५६ : ५९-६३) भनी उल्लेख गरेका छन् । यस समयमा प्रकाशित लघुकथाका प्रमुख प्रवृत्ति यस प्रकार छन्ः

*  लघुकथाको शिल्प र संरचनामा कथा लेखन कार्य भएको,
*  लघुकथाको कृतिगत स्वरूपको विकास र विस्तार भएको,
*  विभिन्न पत्रिपत्रिकाको प्रकाशन भई लघुकथा प्रकाशनलाई महत्व दिइएको,
* वि.सं. २००७ सालमा भएको परिवर्तन र त्यसले समाज अनि मानिसलाई पारेको प्रभावको प्रस्तुति,
*  नारीहरूले तत्कालीन समयमा भोग्नु परेका समस्याको वणर्न,
*  नेपाली समाजमा हुने विभिन्न अन्याय, अत्याचार, दमन, शोषणको कथामा प्रस्तुति,
*  विभिन्न मानवीय समस्या र तिनले मानिसको मानसिकतामा पारेको असरको चित्रण,
* अस्तित्ववादी, विसङ्गतिवादी चिन्तनका साथै स्वच्छन्दतावादी चेतनाको विकास जस्ता प्रवृत्ति रहेको पाइन्छ ।

दोस्रो चरण (वि.सं. २०३०-२०४५ सम्म)

नेपाली लघुकथा लेखनको दोस्रो चरण वि.सं. २०३० देखि २०४५ सम्मको समयावधिलाई लिन सकिन्छ । यस समयमा नेपालीहरू निरंकुश एकतन्त्रीय पञ्चायती व्यवस्थाबाट निर्देशित हुनुपरेको अवस्था हो । यतिबेला स्रष्टाहरू खुलेर आफ्ना विचार र चिन्तनलाई अभिव्यक्त गर्न सक्ने अवस्था रहेको थिएन । यस समयलाई पुष्करराज भट्टले विकासकाल मानेका छन् । यस समयका लघुकथामा तत्कालीन समयको चित्रणलाई प्रस्तुत गरेको पाइन्छ । जसको प्रस्तुतिको शैली प्रयोगवादलाई आत्मसात् गरेको देखिन्छ ।

यस समयमा प्रकाशित कृतिमा रमेश नेपालीको ‘पाटीकी बौलाही’ (२०३२), अनिता तुलाधरको ‘फुलु’ (२०३४), ध्रुव मधिकर्मी र श्याम आशाको ‘लघु’ (२०३५), लव गाउँलेको ‘गाउँलेका मसिना कथाहरू’ (२०३७), जगदीश नेपालीको ‘केही लघुकथाहरू’ (२०३९), विनयकुमार कसजूको ‘पशुतन्त्र’ (२०३९), रत्न कोजुको ‘बूढो वर्तमान’ (२०४२) आदि कथाकारले कृतिगत रूपमा लघुकथा प्रकाशन गरेका छन् ।

यसबाहेक विभिन्न स्रष्टाले फुटकर रूपमा पत्रपत्रिकामा कथा प्रकाशन गरेका छन् । त्यस्ता पत्रिकामा ‘चौतारो’, ‘प्रयोग’, ‘दर्पण’, ‘दुबो’, ‘नागबेली’, ‘नवरत्न’, ‘चार हस्ताक्षर बाह्र स्वर’ जस्ता उल्लेखनीय रहेका छन् । यसका साथै लघुकथा सम्बन्धी विभिन्न गोष्ठी र कार्यपत्रसमेत प्रस्तुत गरेर लघुकथाको विकास र विस्तारमा सहयोग पुर्‍याएको छ (भट्ट, २०७२ ः २८) भन्ने कुराको अध्ययन गरेको पाइन्छ । माथि उल्लेखित कृतिहरू स्रष्टा र विभिन्न पत्रपत्रिकामा फुटकर लघुकथा प्रकाशन गर्ने स्रष्टाहरूले तत्कालीन समयलाई आत्मसात् गर्दै त्यसैको प्रतिबिम्बन र आफ्ना वैचारिक दर्शनलाई कथामार्फत् प्रस्तुत गरेका छन् । यस समयमा देखिएका स्रष्टाहरूका विभिन्न विषयगत प्रवृत्तिहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिन्छ :

*  मानिसका जीवनमा देखिएका विसङ्गत क्रियाकलापको प्रस्तुति,
*  समाजमा रहेका विभिन्न कुरीति, कुसंस्कार, बेथिति, भ्रष्टाचार जस्ता कार्यको उद्घाटन,
* धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, आर्थिक, प्रशासनिक जस्ता क्षेत्रमा देखिएका विकृतिप्रति व्यङ्ग्य र विरोध,
*  निरंकुश, पञ्चायती व्यवस्थाप्रति जनताको आक्रोश र विरोधको स्वर,
*  मानिसले स्वतन्त्रतापूर्वक बस्न, बाँच्न र बोल्न पाउने प्रजातान्त्रिक पद्धतिको चाहना,
*  कथामा विभिन्न प्रतीक तथा बिम्बहरूको प्रस्तुति,
*  विषयवस्तुगत विविधताका साथै शैलीमा पनि विविधताको उपयोग आदि ।

तेस्रो चरण (वि.सं. २०४६ देखि हालसम्म)

२०४६ सालदेखि हालसम्मको समयावधि नेपाली लघुकथाको तेस्रो चरणको अवधि हो । कसैकसैले यस चरणलाई तेस्रो र चौथो भनी छुट्याएका छन् । यस चरणमा लघुकथाको छुट्टै प्रवृत्ति स्थापना हुनुभन्दा पनि तेस्रो चरणको पूर्वार्ध समयकै प्रवृत्तिको विकास र विस्तार पछिल्लो समयमा भएको पाइएकाले छुट्टै चरण भनी स्थापना गर्नुभन्दा पनि यस चरणलाई पूर्वार्ध (वि.सं. २०४६-२०५२) र उत्तरार्ध (वि.सं. २०५३-हालसम्म) गरी दुई उपचरणमा विभाजन गर्नु उपयुक्त देखिन्छ (अर्याल, २०७३ : ९३) भन्ने धारणा प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्यको विकासमा देखिएको लघुकथाको तेस्रो चरणलाई २०४६ देखि यताको समयमा वर्गीकरण गरिएको छ ।

पञ्चायती व्यवस्थाले मानिसमा उत्पन्न गराएको निराशा, आक्रोश र विद्रोहको स्वरले २०४६ सालमा निरंकुश पञ्चायती शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको थियो । यस समयमा स्रष्टाले आफ्ना विचार, धारणा र चिन्तनलाई विना रोकतोक स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने मौका प्राप्त गरेका छन् । यस समयावधिलाई पुष्करराज भट्टले वि.सं. २०४६ देखि २०५२ र वि.सं. २०५३ देखि यता गरी दुई चरणमा विभाजन गर्न सकिने आधार प्रस्तुत गरेका छन् (भट्ट, २०७२ : २८-२९) । २०४६ सालपछि नेपाली लघुकथा लेखनको विकासमा तीव्रता आएको देखिन्छ । जसको प्रमुख कारण राजनीतिक परिवर्तन नै हो ।

यस समयमा प्रकाशित भएका कृतिहरू आमोद भट्टराईको ‘हस्ताक्षर’ (२०४७), नारायण तिवारीको ‘दसैँ खर्च’ (२०४७), भागीरथी श्रेष्ठको ‘रङ्गीन पोखरी’ (२०५०), रामबहादुर बानियाँ क्षेत्रीको ‘यो जीत कस्को’ (२०५० ध्रुव मधिकर्मीको ‘बुद्ध कहीँ छैन’ (२०५१), सुमन सोरेभको ‘आधुनिक लघुकथाहरू’ (२०५२), विनयकुमार कसजुको ‘लिस्नो’ (२०५३), कपिल लामिछानेको ‘अन्यथा’ (२०५४), विश्वराज अधिकारीको ‘सूर्य’ (२०५४), ‘अभिनय’ (२०६०), इन्दिरा प्रसाइँको ‘बयान’ (२०५५), रवीन्द्र समीरको ‘तेस्रो आँखा’ (२०५३) र ‘ईश्वरका कथा’ (२०६५), गोविन्द भट्टराईको ‘भाग्यले लुटेको जिन्दगी’ (२०५९), अच्युत घिमिरेको ‘शिखर चढिरहेको मानिस’ (२०६०), शिवहरि अधिकारीको ‘दुःखेको मन’ (२०६२), भीम राना ‘जिज्ञासु’को ‘कफ्र्यु लागेको दिन’ (२०६५), दिलीप शाहको ‘जालो’ (२०६६), सन्तोष श्रेष्ठको ‘अधुरो सपना’ (२०६७), साधना प्रतीक्षाको ‘सन्दिग्ध समयका पाइलाहरू’ (२०६८), रामचन्द्र नेपालको ‘प्रतिबिम्ब’ (२०६९), कल्याण पन्तको ‘समय सन्दर्भ’ (२०६९) र ‘प्रसाद’ (२०७१), टीकाराम रेग्मीको ‘विपर्यास’ (२०७१), कमल दीक्षितका लघुकथा सिर्जना गरी सङ्ग्रह प्रकाशन गरेका छन् (भट्ट, २०७२ ः २९-३१) । फुटकर रूपमा लघुकथा प्रकाशन गर्नका लागि विभिन्न पत्रपत्रिकाले विशेष महŒव दिएका छन् । त्यस्ता पत्रपत्रिकामा ‘प्रसुन’, ‘वेदना’, ‘गुञ्जन’, ‘मधुपर्क’, ‘दायित्व’, ‘मन्थन’, ‘बिसौनी’, ‘वैजयन्ती’ आदि रहेका छन् ।

यसका साथसाथै विभिन्न क्षेत्रबाट लघुकथा प्रकाशनमा विशेषाङ्क पनि प्रकाशित हुँदै आएकाले पनि यसले विकास र विस्तारको अवसर प्राप्त गर्‍यो । यस समयमा प्रकाशित भएका सङ्ग्रह र फुटकर लघुकथाको अध्ययन विश्लेषणबाट निम्न अनुसारका विषयगत प्रवृत्तिहरू रहेका छन् भन्ने कुरा उल्लेख गर्न सकिन्छ ः

*  प्रजातान्त्रिक व्यवस्थाले निम्त्याएको विकृति र विसङ्गतिको प्रस्तुति,
* राजनीतिक परिवर्तन भए पनि सर्वसाधारणका इच्छा, चहाना, आकाङ्क्षा पूरा हुन नसक्दा उत्पन्न भएको मानिसको असन्तुष्टि व्यक्त,
*  लेखनमा विभिन्न नयाँ-नयाँ बिम्ब, प्रतीकको खोजी र प्रयोग,
*  समाजको राजनीतिक मूल्य मान्यतामा देखिएका विकृतिप्रति व्यङ्ग्य,
*  २०५० पछि उत्पन्न भएको द्वन्द्व र त्यसले नेपाली समाजमा पारेको हिंसाको प्रभाव, 
*  विभिन्न सामाजिक, आर्थिक, सांस्कृतिक जस्ता पक्षमा देखिएको मूल्यहीनताको चित्रण,
*  प्रवासी नेपाली जीवनका पीडाका साथै नारीवादी चिन्तनको प्रस्तुति आदि ।

निष्कर्ष

लघुकथा आख्यान विधा अन्तर्गत पर्ने एक उपविधा हो । लघुकथा लघु र कथा मिलेर बनेको समस्त शब्द हो । जहाँ लघुको अर्थ छोटो र कथाको अर्थ आख्यान भन्ने हो । यस आधारमा हेर्दा लघुकथा छोटो आख्यान भएको साहित्यिक रचना हो । नेपालीको लघुकथा अङ्ग्रेजीमा सर्ट स्टोरी, मिनी स्टोरी, माइक्रो स्टोरी, सडेन फिक्सन, लिटिल सर्ट स्टोरी शब्दका रूपमा परिचित छ भने हिन्दीमा यसलाई कहानी वा कहावत भन्ने गरिन्छ । संरचनात्मक हिसाबले जे जस्तो नाम दिइए पनि नेपालीमा यसलाई लघु वा सानो आकारको कथा भनेर बुझिन्छ । यसको स्वरूप छोटो भए पनि यो आफैँमा एउटा पूर्ण रचना हो । त्यसैले वर्तमान समयमा अत्यन्त लोकप्रिय र अधिकांशले अध्ययन गर्ने विधाका रूपमा लिन सकिन्छ ।

वर्तमानको प्राविधिक युगमा मानिसमा ठूलाठूला सिर्जनात्मक ठेली पढ्ने फुर्सद छैन । पाठकहरूले त्यस्तो सिर्जनालाई रुचाउँछन् जुन छोटो समयमा पठन गर्न सकियोस् र पाठकलाई आनन्दसहित मनोरञ्जन प्रदान गर्न सकोस् । लघुकथाले आख्यानका लागि आवश्यक अवयव वा तत्वलाई नै आत्मसात् गरेको हुन्छ । लघुकथामा यिनको सीमित प्रयोग गरिएको हुन्छ । वर्तमानमा लघुकथा पाठ्य र श्रव्य मात्र नभई नाटकीकरणसमेत गर्न थालिएको पाइन्छ । पूर्ण लघुकथा बन्नका लागि कथावस्तु वा कथानक, पात्र, परिवेश, उद्देश्य, भाषाशैली जस्ता तत्वको आवश्यकता पर्दछ । यिनै तत्वगत आधारको प्रयोग गरिँदा लघुकथा जीवन्त र उद्देश्यमूलक बन्न जाने देखिन्छ ।

नेपाली लघुकथाको विकासक्रमलाई हेर्दा विभिन्न अध्येताले आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई आधार मानी व्याख्या विश्लेषण गरेको पाइन्छ । समग्रमा के भन्न सकिन्छ भने, नेपाली लघुकथाको विकासक्रमलाई हेर्दा नेपाली लघुकथा आजसम्म आइपुग्दा विभिन्न मोड र धारा पार गर्दै आइरहेको मात्र होइन । यसले आफ्नो विधागत मौलिक पहिचानलाई समेत स्पष्ट पारेको छ । आजभोलि लघुकथाको सिर्जनात्मक विस्तार तीव्र गतिमा भएको पाइन्छ ।

..साथ सहयोगको खाँचो

No comments:

Post a Comment