Sunday, May 19, 2024

अन्तर्वार्ता (अङ्क १२ मा प्रकाशित)



****************************
बुबा स्व. बद्रिकुमार शर्मा तथा आमा जतआशा अज्र्याल शर्माको सन्ततिका रुपमा मोरङको विराटनगरमा वि.सं. २०३१ मङ्सिरमा जन्मिनु भएका साहित्यकार मनिषकुमार शर्माले नेपाल कमर्स क्याम्पसबाट स्नाकोत्तरसम्मको योग्यता हासिल गरी अध्यापन पेशामा सेवारत हुनुहुन्छ । 

हाल लोकन्थली- १, भक्तपुरमा स्थायी बसोबास गर्दै आउनु भएका शर्मा केही साहित्यिक संस्थाहरूमा आजीवन सदस्यका रुपमासमेत हुनुहुन्छ । उहाँको प्रकाशित पहिलो लघुकथा ’पाँचको खेल’ हो जुन समकालीन साहित्य डटकममा २०७७ साउन ७ गते प्रकाशित भएको थियो । हालसम्म उहाँका हराएको सहर (लघुकथा सङ्ग्रह) २०७९ तथा खास्टो (लघुकथा सङ्ग्रह) २०८० गरी दुई वटा लघुकथा कृति प्रकाशित भइसकेका छन् । उत्कृष्ट लघुकथाकै कारण उहाँले ’कोशी प्रदेश लघुकथा सम्मान २०८०’ बाट सम्मानित हुनु भएको छ । लघुकथा संसारको यस अङ्कमा हाम्रा स्तम्भकार गोमविक्रमले लघुकथामा केन्द्रित रहेर गर्नु भएको कुराकानी यसप्रकार रहेको छ :
                                                                                                              ****************************

गोमविक्रम : लघुकथा कस्तो विधा हो जस्तो लाग्छ ? 

मनीषकुमार : लघुकथा एक विशुद्ध स्वतन्त्र आख्यानको विधा हो । विशेषतः लघुकथामा लघुरुप, पूणर् रचना, चातुर्यपूणर् समापन र अर्थपूणर् भाव जस्ता आयामिक संरचनामा रहेको हुन्छ । छोटो समयभित्रै पाठकको मस्तिष्कमा प्रवेश गरी तिक्खर, चटपटे स्वाद र मनोद्वेग तरङ्ग उत्पन्न गराउन सक्नु नै लघुकथाको मूलाधार रहेको छ । लघुकथा लेखनमा यी ७ तत्वहरूलाई ध्यान दिन आवश्यक देख्दछु : - १. शीर्षक, २. उठान,  ३. पात्र संख्या, ४. आयाम/शब्द सङ्ख्या, ५. परिवेश, ६. भाव, सन्देश/उद्देश्य र  ७. समापन आदि ।

गोमविक्रम : लघुकथा लेखनमा कसरी आकर्षित हुनु भो ? अरुलाई कसरी आकर्षित गर्न सकिएला ? 

मनीषकुमार : मेरो लेखनको सुरूवात कथाबाट भएको हो । लघुकथाको परिदृष्यमा मेरो प्रवेश कोरोनाकालबाट भएको हो । कोरोनाकालमा सामाजिक सञ्जालमा निकै सक्रिय भइयो । आफूले लेखेको लघुकथा सामाजिक सञ्जालमा प्रेषित गर्दा त्यहाँ वरिष्ठ सर्जक, पाठक तथा शुभेच्छुकहरूबाट प्राप्त सुझाव, सल्लाह र हौसलाले लघुकथा लेखनमा थप उत्प्रेरणा जगायो ।

यो विधाले वर्तमान समयमा निकै राम्रो प्रभाव पारेको छ । धेरै स्रष्टाहरू यसप्रति आकर्षित हुनु भएको छ । एक प्रकारले भन्ने हो भने प्रतिस्पर्धामा रहनु भएको छ । पाठकका धारणाहरू पनि समयको परिवर्तनसँगै बदलिँदै छन् । पाठकहरूको इच्छा आकांक्षा र रूचिमा पनि परिवर्तन भएको छ । लघुकथाको मानकको साथमा नविन विषय, पृथक प्रस्तुति रहेको लघुकथा पाठकहरूको आकर्षणको केन्द्रविन्दु रहने कुरामा मैले विश्वास लिएको छु ।  


गोमविक्रम : अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष अथवा लघुकथाका चुनौतीहरू के के होलान् जस्तो लाग्छ ? 

मनीषकुमार : लघुकथा विधामा प्रतिस्पर्धा बढेको छ । दिनप्रतिदिन लघुकथा र लघुकाकार बढ्दै जानु नेपाली साहित्य, कला, संस्कृति विकासका लागि सुखद पक्ष त छ नै तर यसले सकारात्मकको साथै नकारात्मक अवस्था पनि सिर्जना गरेको छ । 

नयाँ विषय, शैलीमा लघुकथा लेख्नभन्दा सतही अति सामान्य विषयलाई लघुकथा बनाउने होडबाजी देखिएको छ । यसले लघुकथालाई उधोगतितिर धकेल्छ । धेरै लेख्नुभन्दा राम्रो लेख्नु, थोरै लेख्नु तर स्तरीय लेख्नु । यस विधाको सैद्धान्तिक मानकलाई मनन गर्न आवश्यक छ ।

अनि दोस्रो कुरा केही स्रष्टाहरूले नीतिकथा, पौराणिककथा र अग्रज स्रष्टाहरूको सिर्जनालाई आफ्नो नाम दिएर लघुकथा लेख्नु भएको पनि मैले पाएको छु । एक प्रकारले भन्ने हो भने बौद्धिक चोरीको अवस्था रहेको छ । यसले पाठकको अभिरूचीलाई हतोत्साहित गर्छ । त्यसैले यसप्रति अलि सजक रहनुपर्ने हुन्छ आजको चुनौती र आवश्यकता रहेको छ ।  


गोमविक्रम : नेपाली लघुकथाको अहिलेको अवस्था कस्तो देख्नुहुन्छ र विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्‍याउन के गर्न सकिएला ? 

मनिषकुमारका प्रकाशित
लधुकथासङ्ग्रह
मनीषकुमार : पछिल्लो समयमा नेपाली साहित्यको फाँटमा नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरेको छ । बदलिँदो समय र समाजको व्यस्त जीवनले पारेको प्रभावले यो विधाको विकास भएको छ ।   

मैले सङ्कलन गरेको तथ्याङ्क अनुसार २०८० सालको चैत्रसम्म २६८ कृतिकारहरूको ३६७ लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् । २०८० सालमा मात्र ४१ वटा लघुकथा सङ्ग्रह प्रकाशित भएका थिए । यो क्रम बढ्दो छ र मेरो अनुमानमा २०८१ सालमा ५० भन्दा बढी सङ्ग्रह प्रकाशित हुने तरखरमा छन् । लघुकथाको यो तथ्याङ्कलाई हेर्दा २००७ को झिल्कादेखि आजसम्म आइपुग्दा लघुकथाले निकै लामो फड्को मारेको पाएको छु । 

नेपाली साहित्य र विश्वसाहित्यका पुस्तकहरूलाई अनुवाद गरी आदान-प्रदान गर्ने क्रम पनि अगाडि बढेको छ । यो प्रशंसनीय र स्तुत्य कुरा हो । नेपाली लघुकथाको प्रभावलाई विश्व बजारसम्म पुर्‍याउन सकेसम्म अनुवाद नभए विश्व भाषामा लेखनमार्फत् अगाडि बढाउनुपर्ने हुन्छ । यसको लागि नेपाली साहित्यिक संस्थाहरू र विदेशी साहित्य संस्थाबीच सहकार्य आवश्यक छ । यो सत्कार्यमा सरकार, नेपाली भाषा-साहित्यको मातृसंस्था मानिने नेपाल प्रज्ञा-प्रतिष्ठानले पनि चासो दिनुपर्छ र अनुवाद विभागमार्फत् अनुवाद साहित्यको गति तीव्र बनाइनुपर्छ ।


गोमविक्रम : स्मरणीय लागेको नेपाली लघुकथा बताइदिनुहुन्छ कि ?

मनीषकुमार : स्मरणीय रूपमा रहेको आफ्नो लघुकथाको कुरा गर्दा लघुकथा “उधारो कात्रो“ हो । यसका दुई कारण छन् : - 

पहिलो त यो मेरो पहिलो लघुकथा हो ।
दोस्रो यो लघुकथामा एक आमाको पीडा र विवशता पोखिएको छ ।

अरू सर्जकहरूको लघुकथा र लघुकथासङ्ग्रहको कुरा गर्दा नाम लिनु पर्ने धेरै नै हुन्छ । तर पनि नामै तोकेर भन्नु पर्दा किशोर पहाडीज्यूको ’किंवदन्ती’ लघुकथासङ्ग्रह हो । यसमा भएका अधिकांश लघुकथाहरू पाठकका ध्यान केन्द्रित गर्न, जिज्ञासा उत्पन्न गराउन र अकल्पनीय प्रभाव दिन सफल छन् ।


गोमविक्रम ; लघुकथाको उन्नयनका निमित्त पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यमको भूमिका कस्तो अपेक्षा राख्नुहुन्छ ? 

मनीषकुमार : लघुकथाको उन्नयनका निमित्त पत्र-पत्रिका, सामाजिक सञ्जाल तथा अन्य मिडिया वा माध्यम रामसेतु रुपमा रहनुपर्ने हुन्छ । नवसर्जकलाई आफ्नो प्रतिभा र सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने ठाउँ दिनुको साथै हौसला पनि प्रदान गर्नु ।

स्थापित सर्जकहरूलाई प्रोत्साहनको व्यवस्था, भौतिक वा प्रविधिको माध्यमबाट सर्जकहरूबीच जनपहिचान बढाउने, अनुसन्धानको कार्य गर्न वातावरण बनाउने, विचार राख्न, विचार ग्रहण गर्ने वातावरण बनाउने, स्रष्टा र पाठकबीच साक्षात्कार प्रगाढ र सुमधुर सम्बन्धको विकास गर्ने, पुस्तकको बजारीकरणमा सहजिकरण गर्ने कार्यहरूमा रामसेतुको रूपमा रहनुपर्छ भन्ने मेरो अपेक्षा रहेको छ ।


गोमविक्रम : लघुकथाका समृद्धिका लागि कस्तो खालको साहित्यिक अभियानले विशेष काम गरेको देख्नुहुन्छ ?

मनीषकुमार : लघुकथाका समृद्धिका विभिन्न साहित्यिक संघ-संस्थाहरूले तथा प्राविधिक रूपमा (अनलाइन) सञ्चालित पत्रिकाहरूले सामाजिक सञ्जालमा निकै अग्रणी भूमिका निभाउँदै आएका छन् । नामै लिनु पर्दा हाम्रो लघुकथा केन्द्र, लघुकथा चौतारी, सिर्जना अभियान समाज, नमस्ते आधुनिक नेपाली लघुकथा मञ्च, लघुकथा संसार (मासिक) लगायतका धेरै छन् । जसले लघुकथा प्रशिक्षण, परिचर्चा, समीक्षा, प्रकाशन, नवसर्जक प्रोत्साहन, लघुकथा प्रतियोगिता जस्ता उद्देश्यमूलक र महत्वपूणर् कार्यहरूमा अग्रसर भएका छन् । 

यसबाहेक पनि भौतिकरूपमा अग्रज सष्टाहरूसँग भेटघाट र सम्मान, लघुकथाकारहरूको भेटघाट र लघुकथा वाचन र समीक्षा, लघुकथा पुस्तक मेलाजस्ता कार्यहरू पनि गरिएका छन् ।  अब थप गर्नुपर्ने कार्यमा - कलेज र विद्यालयमा लघुकथा लेख्न सिकाउने परिपाटीको थालनी, स्रष्टा हैन सिर्जना हेर्नुपर्छ त्यसकारण त्यसतर्फ अझ कडा चनाखो रुपमा रहनुपर्ने आवश्यकता रहेको छ । विशेष गरी सामाजिक सञ्जालमा पोष्ट भएका लघुकथाहरू लघुकथा भए नभएको वा ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने र सुधारका सुझाव तत्कालै दिने वातावरणको सिर्जना गर्ने कार्यलाई ध्यान दिन आवश्यक देखिन्छ ।


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment