Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

एकादेशको कथा १९

- रत्न प्रजापति
भक्तपुर


दसैँ नजिकिँदै थियो । दसैँको अवसरमा बजारमा जताततै अफरैअफर चलेको थियो । बजारभरि दसैँ अफरका साइनबोर्डहरू झुन्डिएका थिए । पत्रपत्रिकाका पाना दसैँ अफरकै रङ्गीन विज्ञापनले भरिएका थिए । एफएम रेडियो र टिभीमा पनि दसैँ अफरकै विज्ञापन बज्थे ।

अफरै अफर....
टिभी किन्दा.... उपहार
फ्रिज किन्दा.... उपहार
गाडी किन्दा....उपहार
मोटरसाइकल किन्दा....उपहार
इन्टरनेट जोड्दा.... उपहार र.... फ्रीमा
मोबाइल किन्दा.... फ्रीमा आदिइत्यादि ।

दसैँले सबैलाई छपक्कै छोप्यो । सधैँ भिडभाड हुने बजार सुनसानजस्तै भयो । एकाध पसलहरू मात्रै खुलेका थिए । 

ग्राहकको भारी बोकिदिन हर्के हातमा नाम्लो बोकेर सधैँझैँ बजार डुलिरहेको थियो । हिँड्दाहिँड्दै हर्के लखतरान पर्‍यो । भोकले उसको पेट मडारिन थाल्यो । थकाइसँगसँगै भोकले चुर भएको हर्केले लामो सुस्केरा हाल्यो । 

दिनभरिमा एउटा पनि भारी बोक्न पाएन हर्केले । उसको कमाइ शून्य भयो । खल्तीमा एक सुको थिएन । उसलाई भोकचाहिँ जोडले लाग्न थाल्यो ।ब

अनि बजारभरि दसैँको अफर चलेको थाहा पाएको हर्के एउटा भोजनालयमा लुसुक्क पस्यो र टाउको कन्याउँदै खुसुक्क भन्यो, ‘साहुजी, जताततै अफरै अफर छ । यहाँ भात अफर छैन ?’


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment