एकादेशको कथा- १०
रत्न प्रजापति
लोकन्थली, भक्तपुर
एक राजा थिए । राजा प्रिय थिए । अप्रिय पनि थिए ।
प्रिय मान्नेहरूले राजालाई विष्णुको अवतार मान्थे । अप्रिय मान्नेहरूले राजालाई तानाशाही भन्थे, निरङ्कुश भन्थे । जसले जे मान्यो, राजा त्यस्तै थिए । तर राजा राजा जस्तै नै थिए ।
राजाको शासन थियो । त्यसैले राजतन्त्र थियो ।
‘राजतन्त्रले देशलाई समृद्धिको मार्गमा डोर्याउन सक्दैन । राजतन्त्र जनताको हितमा छैन ।’ मान्छेहरूले यसरी सोच्न थाले ।
मान्छेहरूमा क्रमशः चेतनाको विकास भयो । राजतन्त्रलाई विकासको बाधक मान्न थाले । संसारभर लोकतन्त्रलाई विकासको मूलआधार मानिन्थ्यो । मान्छेहरूले राजतन्त्र हटाएर लोकतन्त्र ल्याउने उद्घोष गरे ।
एउटा अर्को राजनीतिक क्रान्ति भयो । राजतन्त्रविरोधी आन्दोलन भयो । अन्ततः राजतन्त्र हट्यो । लोकतन्त्र आयो । गणतन्त्र पनि आयो ।
लोकतन्त्रमा जनताले चुनेका प्रतिनिधिले नै शासन गर्ने भए । चुनाव भयो । चुनावमा जनताले आआफ्नो प्रतिनिधि चुनेर पठाए ।
कालान्तरमा जनप्रतिनिधि जनताका सेवक नभई शासकका रूपमा प्रस्तुत भए ।
हिजो एक शासक थिए । आज धेरै शासक भए । राजतन्त्रका हिमायतीहरूले अझै पनि राजतन्त्रको गुण गाउन छोडेनन् । यता लोकतन्त्रका शासकहरूको भने जहिले पनि गुनासो र विरोध मात्रै हुन थाल्यो ।
शासकहरूले सोच्न थाले, राजालाई विष्णुको अवतार मान्थे । हामीलाई त विरोध र गाली मात्रै गर्न थाले । राजा नै पो ठूला रहेछन् । उनीहरूले राजाको मान, सम्मान र ठाँटबाँटको सपना देख्न थाले ।
लोकतन्त्रका नयाँ शासकहरूमा पनि राजा बन्ने रहर जाग्न थाल्यो । आफूलाई राजा नै ठान्न थाले । राजा बन्न थाले ।
त्यसपछि जनतालाई रैती ठान्न थाले । अनि हामी एक राजाबाट सयौं राजाका रैती बन्यौँ ।
अहिले हामी लोकतन्त्रमा पनि राजतन्त्रको पीडा भोग्न विवश छौँ ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment