Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

संयोग

रञ्जुश्री पराजुली
हालः अमेरिका    



घरको ढोकाबाहिर उभिरहेको देखेर सोधेँ, ‘कस्लाई खोजेको बाबू ?’

‘कसैलाई पनि होइन । जाडो भएर एकैछिन बसेको ।’ उसले उत्तर दियो । 

उस्को अनुहार  मलिन थियो । असोज महिनाको बिहानीपख भएकाले अलि चिसो नै थियो । केटोले बाक्लो लुगा लगाएको थिएन । हाम्रा त्यत्रै एउटा  छोरा थियो । मलाई त्यसको माया लाग्यो र भनेँ, ‘भित्र हिँड । म न्यानो लुगा दिन्छु । अनि केही खानेकुरा पनि दिन्छु ।’

उसले पहिले त मानेन । पछि डराउँदै भन्यो, ‘म चोर होइन । खराब केटा पनि होइन । यहाँ आँगनमा म जस्तै दाइहरू खेलेको देखेर हेर्न मात्र आएको ।’ 

भित्र लगेर न्यानो लुगा र तातो खाना दिएँ । भित्तामा टाँगिएका तस्बिरहरू ट्वाल्लपरेर हेर्दै उसले भन्यो, ‘यो कस्को तस्बिर ?’

“हाम्रो परिवारको ।’ मैले छोटो उत्तर दिएँ ।

‘यो सानो केटी तपाईंको नन्द हो ?’ उसले अनायास भन्यो । 

‘हो ।’ मैले सहमति जनाएँ । 

त्यसपछि ऊ केही बोलेन । तर बारम्बार भित्तामा झुन्ड्याएको तस्बिरतिर आँखा लगाइरह्यो । मलाई अचम्म लाग्यो । अनि सोधेँ, ‘तस्बिर  किन हेरिरहेको ?’   

‘तपाईंलाई म आमा भन्छु है ।’ उसले सोध्यो । 

मैले जिज्ञाशा राखेँ, ‘किन ?’

उसले भन्यो, ‘आमा भनेपछि मनको कुरा सबै भन्न मिल्छ नि । त्यसैले ।’

‘हुन्छ, मलाई आमा नै भन ।’ मैले अनुमति दिएँ । 

उसले फेरि भित्ताको तस्बिर हेर्‍यो । अँखाभरि आँसु टलपलायो । अनि भन्यो, ‘हजुरबुबाले हुन्नभन्दा भन्दै पनि मेरी आमा लाहुरेसँग मुग्लान पसेकी रे ! म मुग्लानमा नै जन्मिएको रे ! त्यसपछि माइतीले मुखै हेरेनन् रे !  बाआमालाई खोलाले बगाएर बेपत्ता पारेपछि म आफन्तहरूको खोजीमा नेपाल आएको । बेखर्ची भएर धेरै दुःख पाँए । आज हजुरले मलाई आमा जस्तै माया गर्नु भयो ।’

अनि तस्बिरमा भएकी केटीलाई औल्याउँदै भन्यो, ‘यिनै हुन् मेरी जन्म दिने आमा ।’ 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment